फेरि घरजग्गा किनबेच थाल्ने बेला आएको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 12:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

जग्गा तथा आवास विकासकर्ताहरुले घरजग्गा कारोबार बढिरहेको बताएका छन् । २०७६ देखि मन्दी सुरु भएको घरजग्गा व्यवसायमा अहिले भने क्रमशः सुधार देखिएको व्यवसायीहरुको दाबी छ । पौष १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘रियल इस्टेट एक्स्पो’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पनि व्यवसायीहरुले यो दाबी दोहोर्याएका छन् ।

नेपाल जग्गा तथा अवास विकास संघका अध्यक्ष विदूर धमलाले २०७६ सालबाट करिब रोकिएको अवस्थाको कित्ताकाट सहज भएसँगै अहिले कारोबार बढिरहेको बताएका छन् । उनका अनुसार काठमाडौँको हकमा उपत्यका विकास प्राधिकरणबाट प्लानिङ पर्मिट लिएर नयाँ अपार्टमेन्टहरु बन्ने क्रम सुरु भएको छ । उनले अहिले आवास विकासमा केही मोडलहरु पनि परिवर्तन भएर आएको बताए । 

‘हिजोको मोडल र आजको मोडलमा केही चेन्ज पक्कै छ, हिजोको प्रविधि र आजको प्रविधिमा फरक भएका कारण मोडलमा पनि फरक फरक अवधारणाको विकास हुनु स्वभाविक हो’ अध्यक्ष धमलाले भने, ‘एसी ब्लक र प्रि–फ्याब प्रविधि बढ्दो छ । सँगै, घरजग्गा कारोबार बढेसँगै २४७ प्रकारका वस्तु उत्पादन गर्ने उद्योगहरु चलायमान हुन्छन्, यसले अहिले मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण रोल खेल्न सक्छौँ भन्ने लागेको छ ।’

जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले अहिले पूराना अपार्टमेन्ट र हाउजिङहरु स्टकमा नरहेको र नयाँ अपार्टमेन्टहरु आउने क्रम सुरु भएको बताएका छन् । अहिले देशभरी रहेका ६४ वटा अपार्टमेन्टमा मुस्किलले १ सयदेखि डेढ सय युनिट स्टक रहेको र हाउजिङमा भने सबै घरहरु बिक्रि भइसकेको उनको भनाई छ ।

‘अहिले नयाँ परियोजनाहरु आइरहेका छन्, अपार्टमेन्ट र हाउजिङ प्रोडक्टहरु टन्नै आइरहेका छन्, पूराना स्टक छैनन्’ उनले भने, ‘रियलस्टेट, हाउजिङ भनेको उद्योगहरुको पनि उद्योग हो, यो मास्टर इन्डष्ट्री हो, यसमा २४७ वटा उद्योगहरु रिलेटेड छ । अर्थतन्त्र २०१९ देखि २०२३ सम्म सुस्त रह्यो, यसलाई उकास्न रियलस्टेट व्यवसाय नै चाहिन्छ । अब विस्तारै यसैले अर्थतन्त्र उचाल्छ ।’

महासंघका उपाध्यक्ष दिपक मल्होत्राले पनि अहिले आफूले विकास गरिरहेका परियोजनाहरुमा धमाधम बुकिङ आइरहेकाले घरजग्गा व्यवसाय चलायमान हुँदै गएको देखिएको बताए । उनका अनुसार जग्गाको भाउ बढ्छ भनेर बिक्रि नगरी बसेका र भाउ घट्छ कि भनेर खरिद नगरी बसेकाहरुले अब बिक्रि र खरिद गर्ने समय सुरु भएको छ ।

उनले कित्ताकाट खुलेसँगै व्यवसाय बढेको भएपनि अन्य सुधार गर्नुपर्ने विषय बाँकी रहेकाले ति विषयहरु सुधार हुनासाथ घरजग्गा व्यवसायले निकै ठूलो फड्को मार्ने र देशको अर्थतन्त्र नै चलायमान बनाउने बताए ।

‘राष्ट्र बैंकको समस्या छ, बैंकको समस्या छ, राष्ट्र बैंकले घरजग्गा व्यवसायका लागि सहयोग गरेको छैन, बैंकहरुलाई कसेर राखेको छ’ उनले भने, ‘राज्यले निर्माण व्यवसायीहरुलाई दिनुपर्ने पैसा दिएको पनि छैन, त्यो पैसा बजारमा आउँथ्यो भने त्यसले संकुचनमा रहेको अर्थतन्त्र चलायमान बनाउन निकै ठूलो सघाउ पुग्थ्यो । तर पनि कारोबार बढेको छ, अब क्रमशः बढ्दै जान्छ ।’

महासंघका अध्यक्ष भेषराज लोहनीले पनि घरजग्गा कारोबार बढिरहेको बताएका छन् । पछिल्लो महिनाको तथ्यांकले घरजग्गा कारोबार बढिरहेको देखाएको तर, अनौपचारिक तवरबाट बढी कारोबार भइरहेको गुनासो उनको छ । सरकारलाई आफूहरुले पटक पटक लाइसेन्स लिएका एजेन्ट कम्पनीमार्फत मात्रै घरजग्गा कारोबार हुने प्रणालीको विकास गर्न अनुरोध गरेपनि अहिलेसम्म यसको सुनुवाई नभएको उनको दुःखेसो छ । यसका लागि  ऐन नै ल्याउन सरकारलाई उनले अनुरोध पनि गरे ।

‘अघिल्ला वर्षहरुमा देशमा वार्षिक ५० हजार घरहरु बन्थे, भर्खरै तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पनि देशभरीमा घरहरुको संख्या ७५ लाख नाघेको देखाएको छ’ अध्यक्ष लोहनीले भने, ‘सरकारले ऐनबाटै लाइसेन्स प्राप्त कम्पनीले मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्यो भने स्पष्ट रुपमा प्लानिङ अनुसार बस्ती विकास हुन्छ ।’

उनले आफूहरुको माग अनुसार ‘ल्याण्ड मार्केट’को अवधारणामा सरकार सकारात्मक देखिएको र कानुन मन्त्रालय लगायतका निकायहरु अहिले छलफलमा रहेको पनि जानकारी दिए । उनले राजधानी र ठूला शहरहरुमा जग्गाधनी आफैँले घर बनाउने परम्परा हटाउनुपर्ने आवश्यकता रहेको पनि बताए ।

‘राजधानी र ठूला शहरभित्र व्यक्तिले घर बनाउने परम्परा विस्तारै हटाउँदै लैजानुपर्छ, लाइसेन्स प्राप्त कम्पनीहरुमार्फत मात्रै घरहरु बनाउने अन्तराष्ट्रिय प्राक्टिस अनुसार जान सकियो भने पनि यसले क्वालिटीमा निकै ठूलो फड्को मार्न सक्छौँ’ अध्यक्ष लोहनीले थपे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved