नेपालतर्फ अघि बढ्दै भारतीय समुन्द्री आंधी, बर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 08:22:36 AM मा प्रकाशित

laxmi  sunrise bank

शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशामा शुक्रवार बिहान प्रहार गर्दैछ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशाको पुरीमा हान्नेछ। फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिँदै गरेको अधिकारीहरूले बताएका छन्।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ। ओडिशाको तटीय क्षेत्रमा बिहीवार रातिदेखि विमान उडान र रेलसेवा बन्द गरिएको छ। समुद्री आँधीबाट प्रभाव पर्ने स्थानका दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। हजारौँ उद्धारकर्मीहरूले तल्लो भेगका मानिसहरूलाई जोखिम भएका स्थानबाट अन्यत्र जान सहयोग गरिरहेका छन्। आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ। सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो। फानीको मार्गमा पर्ने ओडिशाको पुरीमा झन्डै एक लाख मानिस बस्छन्।

पुरीमा साढे आठ सय वर्ष पुरानो जगन्नाथ मन्दिर पनि छ। समुद्री आँधीले सो मन्दिरमा क्षति पुग्न सक्छ कि भनेर अधिकारीहरू चिन्तित छन्।  पुरीमा सबै शैक्षिक संस्थाहरू बन्द गरिएका छन्। भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ। मौसमविद्हरूले ओडिशाका केही स्थानमा ठूलो वर्षा र हावाहुरीको पूर्वानुमान गरेका छन्। ओडिशाबाट सो समुद्री आँधी बाङ्ग्लादेशको चटगाउँतिर जानेछ। शनिवार त्यहाँ पुग्दा भने फानीको वेग र शक्ति घट्ने मौसमविद्हरू बताउँछन्।

महाशाखाका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ। शुक्रवार पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ। यसका कारण हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना छ। फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ। नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ।

सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो। हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved