
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वार्षिक प्रगति विवरण तयार पारेको छ । मन्त्रालयले एक वर्षमा गरेका कामको विवरण तयार पारेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । स्वर्गीय अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भएका कामको प्रगति मन्त्रालयले तयार पारेको छ । आफ्नो नेतृत्वमा मन्त्रालयमार्फत भएका कामको प्रगति समेत सार्वजनिक गर्न नपाई मन्त्री अधिकारी दिवगंत भए ।
मन्त्रालयले गत वर्ष फागुन ३ गतेदेखि यसवर्षको फागुन २ गतेसम्मको कार्य प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । विवरणमा २१२ ओटा सम्पदाको पुनर्निर्माण, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ६३ प्रतिशत काम सम्पन्न र पोखरा क्षेत्रीय विमानस्थलको २२ प्रतिशत निर्माण सम्पन्न भएको उल्लेख गरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालन, अन्तराष्ट्रिय उडानतर्फ ६ वटा साना विमान एयरबस–३२० र ६ वटा ठूला विमान ३३० गरी १२ वटा विमान पार्किङ गर्न मिल्ने पार्किङ स्थल आगामी असारसम्ममा सम्पन्न हुने प्रगति विवरणमा उल्लेख गरिएको छ ।
विमानस्थलको धावनमार्गको पुनर्निर्माण अप्रिलदेखी सुरु गरि २०७६ असारभित्र सम्पन्न गरिने मन्त्रालयको लक्ष्य छ । झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा रात्रि उडान सुरु गरिएको मन्त्रालयले तयार पारेको प्रगति विवरणमा जनाईएको छ । भैरहवा, नेपालगन्ज, सुर्खेत, पोखरा र विराटनगरबाट पनि अन्तरप्रदेश, क्षेत्रीय तथा पहाडी क्षेत्रमा रात्री उडान सुरु भएको छ ।
नेपाल भ्रमण वर्ष लक्षित सय वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको, सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै १२ लाखको हाराहारीमा पर्यटक आएको कामलाई पनि प्रगति विवरणमा समेटिएको छ ।
मन्त्रालयले तयार पारेको प्रगति विवरणः