‘बजेटको कार्यान्वयनमा शंका छ’ होटल व्यवसायी खड्कासँगको अन्तरवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 06:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

महोत्तरीको बर्दिबास देशकै नमूना शहर हो । आधारभूत आवश्यकता पुगिसकेको यो शहरमा होटल व्यवसाय प्रतिष्ठित व्यवासाय मानिन्छ । यही बर्दिबासमा लकडाउनका कारण कोरोना त्रासका बीच क्वारेन्टिनमा राखिएकाहरुलाई निशुल्क खाना र खाजाको खुवाएर चर्चामा रहेका बिष्णुबहादुर खड्का होटल व्यवसायी हुन् । उनी होटल व्यवसायी महासंघ महासंघ प्रदेश नं २ का कार्यसमिति सदस्य पनि हुन् । होटल विनायक प्रा.लि. बर्दिबासका सञ्चालकसमेत रहेका खड्का स्थानीय समाजसेवीको रुपमा परिचित छन् ।

लकडाउनको वर्तमान अवस्थामा होटल व्यवसायीले भोग्नु परेको आर्थिक भार, अबको होटल क्षेत्रको रणनीति लगायतका विषयमा केन्द्रित रहेर हामीले खड्कसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनै खड्कासँग गरिएको संक्षिप्त कुराकानीको संपादित अंशः

पछिल्लो समय कोरोना भाइरसले व्यवसायलाई उठाउनै नसक्ने गरी असर गर्यो, अबको अबस्था के होला तपाईको अनुमानमा ?

अहिले बिश्व नै महामारीमा भएको बेला नेपाल पनि यसबाट अछुतो रहने त कुरै आएन । केहीसंग पनि नडराउने मान्छे आज मान्छेबाटै डराउनु पर्ने अबस्था छ । आफन्त इष्टमित्र भनेर नजिकिने अबस्था छैन । यस्तो परिस्थितिको कल्पना न कसैले गरेका थिए, न अनुमाननै लगाएका थिए ।

यो अबस्थामा हाम्रो व्यवसाय पुरै चौपट छ, अब बाकि रह्यो अब के हुनसक्ला त ? लाग्छ अब केही समय हाम्रा बिदेशमा जो नागरिकहरु फसेका छन् उनीहरु नेपाल आउने क्रम तीब्र रहन्छ, त्यसै अनुरुप कोरोना संक्रमणको संन्त्रास पनि बढ्नेछ, केही नेपालीको ज्यान जानसक्ने अनुमान पनि लगाउन सकिन्छ । किनकि हाम्रो देशमा न ब्यबस्थित क्वारेन्टाइन छन् , न त राम्रो परीक्षण नै छ । मान्छे मरेपछि मात्र रिपोर्ट आउने देशमा अबको अबस्था झन् भयाबह हुन्छ भन्ने अड्कल सबैले गरिसकेका छन् । यो संगसंगै देशमा ठूलो आर्थिक सङ्कट आउन सक्छ । रेमिट्यान्सले चलेको हाम्रो मुलूक अब बैदेशिक रोजगारको सम्भावना कम हुदा अप्ठेरोमा पर्न सक्छ । यसको अलवा मुलुकमा भोकमरी लाग्ने खतरा देखिन्छ । बेरोजगारको सङ्ख्या बढ्नेछ, जसबाट थप समस्या सिर्जना हुनेछ । त्यसकारण अबको दिनहरुको जति कल्पना गर्यो अबस्था उति नै कहालिलाग्दो हुनेछ । यस बिषयलाई सरकारले बिशेष रुपमा उठान गर्नुपर्छ ।

तपाईको नाम समाज सेवामा बर्दिबास भित्र अग्रपङ्तिमा आएको हामिले पनि थाहा पाएका छौ, के यस्तै सेवा बर्दिबास बाहिर चाहि गर्न नमिल्ने हो र ?

समाजसेवा यही ठाउमा गर्नुपर्छ भन्ने छैन, तर कुरा के हो भने हामी सबैले पहिला आफ्नो घर बलियो बनायौ भने मात्र अन्य कुरा सोच्न सकिन्छ । भनिन्छ पनि, घर परिवार सुन्दर भए समाज सुन्दर हुन्छ । समाज सुन्दर भए नगर सुन्दर हुन्छ । नगर सुन्दर भए राष्ट्र  सुन्दर हुन्छ । तसर्थ पहिलो आधार घर नै हो, आफ्नो घर बनाउन सक्दो सहयोग गर्नुपर्छ, यसको अर्थ बर्दिबास मेरो समाजसेवाको पहिलो गन्तव्य हो, किनकि यो मेरो घर भएको ठाउ हो । हुनत मैले जब २०५० सालबाट समाजसेवाका कामहरु गर्न थाले यसको दौरानमा आफूले सकेको सहयोग अन्त पनि गरि नै राखेको छु, हरिवन, लालबन्दी जस्ता ठाउमा पनि मैले प्राकृतिक बिपत्ति आउदा सहयोग गरेको कुरा त्यहाँका पिडितहरुलाई अझै याद होला । यो बाहेक पनि धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेकै छु । सत्य के हो भने अन्तभन्दा म यो बर्दिबास क्षेत्रमा अलि बढि खट्ने गर्छु । कारण के हो भने म यहाँको स्थानीय नागरिक हुनु हो । अथवा भनौ भने, बर्दिबास नै मेरो घर हो ।

तपाई होटल ब्यबसायसंगै अरु ब्यबसाय पनि अंगालेको मान्छे, होटल ब्यबसायमा तपाईलाई बिश्वास नभएरै हो ?

हो मेरो होटल बाहेक अर्को पनि ब्यबसाय छ, तर यहालाई यो कुराको पनि जानकारी गराउन चाहन्छु म, मेरो होटल ब्यबसाय भन्दा पहिला नै निर्माण सामाग्रीको ब्यबसाय थियो र हाल पनि छदै छ । तसर्थ होटल ब्यबसायमा मेरो बिश्वास छैन भन्ने कुराको त कुनै आधारै छैन । म सम्पूर्ण ब्यबसायलाई उत्तिकै सम्मान गर्ने गर्छु । तर बिडम्बना अहिलेको यो कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी असर होटल ब्यबसायलाई छ । यसबाट धेरै ब्यबसायीहरु निरुत्साहित छन्, यसरी राष्ट्रिय संकट आउदैमा आफ्नो ब्यबसायलाई बिश्वास नगर्ने भन्ने कुरै आउदैन । बरु यो बेला सबै जनाले धैर्य चाहि गर्नुपर्ने देखिन्छ ।

भर्खर मात्र सरकारले बजेट भाषण प्रस्तुत गर्यो, के बजेटले तपाईहरु जस्ता ब्यबसायीलाई सम्बोधन गर्यो त ?

हुन त बजेट जस्तो महत्वपूर्ण बिषयको समीक्षा गर्नु हामी जस्तो सामान्य मानिसलाई त्यति धेरै सुहाउदैन पनि, तर एउटा ब्यबसायी भएको नाताले हामीलाई बजेटले के दियो भन्ने सम्मको बिश्लेषण गर्ने सम्मको हिम्मत गर्न सकिन्छ । बजेट अलि धेरै महत्वाकाङ्क्षी देखिन्छ । अहिलेको यो संकटबाट ब्यबसायीहरुमा जुन चोट पुगेको छ, कर्जाको ब्याज छुटको तयले केही हदसम्म चोटको पिडालाई कम गरेको अनुभुति गरेको मैले । तर नेपालको सन्दर्भमा भन्ने हो भने बजेट भाषण पूर्ण कार्यान्वयन हुन्छ या हुदैन भन्ने अनुमान गर्नै सकिन्न, तसर्थ बजेट भाषणको पूर्ण कार्यान्वयन भयो भने थौरै राहत हुनसक्छ हामी ब्यबसायी हरुलाई ।

तपाईले होटल विनायकको नाममा हाल बर्दिबास क्वारेन्टिनमा बसेका ब्यक्तिहरुलाई निशुल्क खाना खुवाइरहनु भएको छ ? यो कहिले सम्मको लागि हो ?

मैले होटल विनायकको नामबाट बर्दिबासको बर्दिबास सेवा समीतिको भवनमा  क्वारेन्टिनमा बस्नेहरु सबैलाई निशुल्क खाना खुवाइरहेको छु । यो मेरो सानो सहयोग मात्रै हो । यस्तो काममा सबै क्षेत्रबाट सहयोग हुनुपर्दछ । अहिले एक किसिमको राष्ट्रिय संकट नै छ, यस्तो संकटमा म एक्लैले चाहेर मात्र केही हुने वाला छैन मैले सुरुवात मात्र गरेको हो, मलाई आशा छ यो अभियानमा अरु साथीहरु पनि समाहित हुनु हुनेछ । मैले तत्कालको लागि यही जेठ ८ गतेबाट असार ७ गते सम्म निशुल्क खाना खुवाउने अठोट गरेको छु ।

सरकारले व्यवसाय/व्यापार नभएको अवस्थामा पनि कर लिएरै छाड्ने नीति लिएको छ, यसबारे के भन्नुहुन्छ ?

वास्तवमा भन्ने हो भने सबैभन्दा बढी अहिलेको अबस्थामा ब्यबसायीहरु पिडित छन् । कति ब्यबसायीहरु पलाएन हुने अबस्थामा छन् । राज्यले यस्तो बिषम् परिस्थितिमा ब्यबसायीहरुलाई पेलेरै कर लिन्छु भन्नु अब राज्यलाई ब्यबसायीहरु चाहिदैन भन्नु हो । राज्यको लगभग सिङ्गो अर्थतन्त्र धानेको उद्योग ब्यबसायलाई यसरी सौताको ब्यबहार गरिनु हुन्न भन्ने मेरो मान्यता छ । 

सबै कलकारखाना उद्योग ब्यबसाय बन्द भएको अबस्थामा हामी कसरी राजयलाई कर तिर्न सक्छौ त ? यसको मध्यमार्गी बाटो भनेको सरकारले ब्यबसायीलाई कर तिर्ने समय पनि बढाउनु पर्छ । लकडाउन जहिले खुल्छ त्यसबाट कम्तिमा एक महिनाको समय उपलब्ध गराउनु पर्छ । आबश्यकता अनुसार करमा केही प्रतिशत छुटको पनि ब्यबस्था गरिनुपर्छ । हैन भने भनिन्छ नि, मर्नु भन्दा बहुलाउनु निको हो, तसर्थ सरकारले हाम्रा माग सुनेन, हाम्रा आवश्यकताबारे कुनै नीतिगत निर्णय गरेन भने हामी आन्दोलनमा जानुको बिकल्प छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved