सात महिनापछि यसरी खुल्यो विद्युतीय सिगरेट 'भेप' मा ल्याइएको ९ किलो सुनको रहस्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2023 | 12:45:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सात महिना अगाडि चिनियाँ नागरिक ली हासोङ्गले दुईवटा सुटकेशमा नौ किलो सुन ल्याएको रहस्य अहिले सय ग्राम सुन बिक्री हुन बाँकी हुँदा बल्ल खुलेको छ। नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेड (कार्गो)को गोदाममा अहिले समातिएका पुर्व सुरक्षागार्डको शंकास्पद गतिविधि देखिएपछि झन्डै गर्भमा पुगेको ९ किलो सुन तस्करीको रहस्य बाहिरिएको हो। 

समातिएको विद्युतीय चुरोट (ई-सिग्रेट) जसलाई बोलीचालीमा भेप पनि भनिन्छ । जुन छुटाउन हिजो दिनकै कयौँ पटक धाउने व्यक्तिहरु पछिल्लो समय आउन छाडेकाले शङ्का लागेपछि प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले केन्द्रिय अनुसन्धान ब्यूरोको सहयोगमा यो रहस्यको पर्दाफास गर्न सफल भएका हुन्। 

करिब ५ करोड पर्ने भेप छुटाउन हिजो दैनिक कयौँ मान्छे आएकोमा अहिले कुनै पनि व्यक्ति यसलाई लिन नआएपछि शङ्का लागेर प्रमुख भन्सार प्रशासक पोखरेल आफैँले सिसी फुटेज हेर्दा त्यहाँ मुद्दा शाखाका नायब सुब्बा रेवन्त खड्काको गतिविधि शङ्कास्पद भेटिएपछि अनुसन्धान अगाडि बढाइएको थियो। 

विमानस्थलमा समातेर कार्गोको गोदाममा राखिएको भेपको फोटोसँग पछिल्लो भेपको फोटो म्याचिङ्ग नगरेपछि गोदामबाटै भेप साटफेर गरिएको पत्ता लागेको थियो । भेपमा परिवर्तन गरिएको पाइएपछि गोदामको सिसी फुटेज हेर्दा त्यहाँ नायव सुब्बा खड्काकै गतिविधि शङ्कास्पद भेटियो ।

विमानस्थलमा बरामद गरिएका सामानलाई नागरिक उड्डयन प्राधिकरण, भन्सार विभाग, नेपाल एयरलायन्स र नेपाल प्रहरीको एउटा टिमले केही समय विमानस्थलको एउटा ठाउँमा राख्ने गर्दछ। तोकिएको समयसम्म पनि त्यो सामान लिनलाई कोही नआएपछि त्यसलाई कार्गोको गोदाममा पुर्याइन्छ। त्यहाँ पनि लिन नआएको अवस्थमा त्यसलाई दुई महिनापछि लिलाम प्रक्रियामा अघि बढाइन्छ। 

सबै जाँचबुझमा शङ्कास्पद गतिविधि भेटिएपछि मात्रै प्रमुख भन्सार प्रशासक पोखरेल आफैँले केन्द्रिय अनुसन्धान ब्युरोमा यसको थप अनुसन्धानका लागि उजुरी दिएका थिए। त्यसपछि मात्र २०७९ पुष १० गते फ्लाई दुवईको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका चिनियाँ नागरिकको साथबाट जफत गरिएको भेपले भरिएको दुइवटा सुटकेशमा ९ किलो सुन ल्याइएको रहस्य खुलेको हो।

चिनियाँ नागरिकले उक्त भेपको औचित्य खुलाउने प्रमाण जुटाउन नसकेपछि ७ सय ३० पिस भेपका दुइटा सुटकेश बरामद गरेर त्यसलाई कार्गोको गोदाममा राखिएको थियो। सुर्तीजन्य वस्तु भएकाले कार्गोको मुद्दा शाखाले यसलाई लिलाम बढाबढमार्फत बिक्री गर्न नसकेपछि कार्गोको गोदाममा नै थन्क्याइएको थियो। 

भेपमा सुन ल्याउर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा खड्कासहित ६ जनालाई सीआइबीले पक्राउ गरेको छ। खड्कामाथि सुनसहितको भेपको साट्टोमा सामान्य भेप साटफेर गरेर ७० लाख लिएको आरोप छ। 

त्यस्तै यो सबै कामका प्रत्यक्ष रुपमा सघाउने बिचौलिया दिनेश बस्नेत पनि पक्राउ परेका छन्। बस्नेतले सुन बिक्री गरे लगत्तै मध्यपुर थिमीको नगरपालिका २ मा ३ करोड ५० लाख रुपैयाँमा ६ आना जग्गा र पेप्सीकोलामा ३ आना जग्गा किनेको अनुसन्धानको क्रममा खुलेको छ। पक्राउ पर्ने अन्य चार जनामा दुई जना सुन खरिद गरिने र एक जना सुन पगाल्ने तथा पेप्सीकोलामा बस्नेतको पैसाले जग्गा किन्ने व्यक्ति रहेका छन्। 

विद्युतीय चुरोट (भेप)मा चार्जको लागि ब्याट्री हुने भएकाले यसमा सुन राखेर ल्याउँदा त्यसलाई विमानस्थलको स्क्रिन मेसिनले छुट्याउन नसक्ने भएकाले पछिल्लो समय भेपमा हालेर सुन ल्याउने अभ्यास बढेको जानकारको भनाइ छ। 

जानकार भन्छ, 'भेप भारतमा गैरकानूनी छ, त्यसैले नेपालबाट त्यहाँ पुर्याउनलाई ठूलो मात्रामा भेप ल्याउने गरिन्छ, भेपमा ब्याट्री हुने भएकाले त्यसलाई स्क्रिन मेसिनले पढ्न नसक्ने हुँदा त्यसको मौका छोपेर भेपमा सुन हालेर ल्याइएको हुन सक्छ।'

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved