गाडीहरुको कुम्भ मेलाको रुपमा परिचत नाडा अटो शो २०१८ को १३ औँ संस्करण भदौ २६ देखि ३१ गते सम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी कक्षमा हुने भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा अटो शो २०१८ को शिर्ष प्रायोजक सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्स रहेको छ ।
प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथ साथै नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत वित्तिय संस्था तथा इन्स्योरेन्स समेतको बृहत सहभागिता रहनेछ, जसमा नेपालमै उत्पादित सामग्रीहरू समेत रहने छन।
६ दिनसम्म चल्ने यस मेलामा ७१ वटा संस्थाहरूको साना ठूला गरि लगभग १३५ वटा ब्लक तथा स्टलहरू रहने छन। प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङग्रे, २० वटा ब्राण्डका २–पाङग्रे सवारी साधनहरू रहने छन तर ठाउँको अभाबले गर्दा हेभी कर्मसियल गाडीहरु यस बर्ष प्रदशनीमा नराखिएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
नाडा अटो शो २०१८ एउटा किनमेलको थलोमात्र नभई सूचनाको आदान–प्रदान, बजार विश्लेषण तथा समग्र नेपाली अटोमोबाइल व्यवसायको समष्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वसनीय मञ्चसमेत बन्ने विश्वास आयोजकले गरेको छ ।
यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोलाप्रथाद्धारा भाग्यशाली विजेतालाई जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजित गरेको कुलप्याड मेगा २.५ डी प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । मेलामा झण्डै ६० हजार आगन्तुकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजकको छ ।