सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्तवबोध गर्दै मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ ।
एक विशेष कार्यक्रम मार्फत कम्पनीका संचालक रघु नन्दन मारुले उक्त एम्बुलेन्सको हस्तान्तरण गरे। एम्बुलेन्स हस्तान्तरणसँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरुप रु.५२,००० को ‘सिड मनी’ पनि प्रदान गरिएको थियो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढि र हटिया लगायत सो वरिपरिका आम जनसमुदायमा सेवा पुर्याउने छ।
हाल उक्त स्थानहरुमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुुने गरेको थियो । यसै कारण, हाल उक्त स्थानहरुमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करीब डेढ देखि २ घण्टासम्म समय लाग्ने र भनेको बेलामा र चाहिएको वखत पाउन अत्यन्तै मुस्किल पर्ने गरेकोले उक्त ऐम्बुलेन्स प्राप्त भएपछि अब सो क्षेत्रका २५००० भन्दा बढि स्थानीयहरुलाई प्रत्यक्षलाभ पुग्ने कम्पनीको विश्वास रहेको छ ।
एम्बुलेन्स सुविधा लिन सम्पर्क नं. ९८१५२५५७२२ वा ९८६५२१०८८८ मा फोन गरी तुरुन्तै ऐम्बुलेन्स मगाउन सकिन्छ ।आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गा.वि.स. मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।