काठमाडौंमा 'एक्सप्रेस वे' बनाऔं

टीएन रेग्मी

टीएन रेग्मी

Dec 10, 2018 | 10:18:26 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले उपत्यका विजय गरेपछि एकीकृत नेपाल राज्यको राजधानीको रुपमा स्थापित काठमाडौंमा त्यसअघि पनि आफ्नै विशिष्ट पहिचानसहित राज्य सञ्चालन भएको तथ्य इतिहासमा पाइन्छ । पृथ्वी नारायण शाहको राज्यकालपछिको इतिहास हेर्ने हो भनेपनि काठमाडौं उपत्यकाले अद्यापि विश्वसम्पदा सूचीमा रहेका सम्पदाहरुसहित समग्र नेपालको परिचय दिइरहेको छ । संघीय नेपालको राजधानी हुनुका नाताले वर्तमान नेपालमा यसको महत्व अझै बढेको छ । काठमाडौंको आर्थिक सामाजिक जीवनले सम्पूर्ण नेपालीको दैनिक जीवनमा महत्व राख्छ । र, त्यसको प्रभाव कुनै न कुनै रुपमा मेची-महाकालीसम्म परेको हुन्छ ।

राणाकालमा काँधमा बोकेर ल्याइएको मोटरले राजधानीमा यातायातको नयाँ युग सुरुवात भएको हो । हाल राजधानीमा दैनिक लाखौं सवारीसाधन गुड्छन् । सार्वजनिक यातायात प्रणाली भद्रगोल अवस्थामा छ । नीजि सवारी साधनको प्रयोग प्रतिदिन बढ्दो छ । फलस्वरुपः भिडभाड र भद्रगोल झन् बढिरहेको छ ।

सवारीमय काठमाडौं

काठमाडौंमा आधारित दैनिकी चलाइरहेका लाखौं नागरिकहरु निजी वा सार्वजनिक सवारी साधनको प्रयोग गरी यात्रा गर्छन् । सार्वजनिक यातायात प्रणाली चुस्त र भरपर्दो नहुँदा सर्वसाधारण नागरिक गास कटाएर पनि निजी सवारीको व्यवस्था गर्न बाध्य छन् । पछिल्लो समय निजी सवारी साधनको संख्यामा भएको बढोत्तरी अचम्मलाग्दो छ ।

व्यक्तिले निजी सवारीको व्यवस्था गरे तापनि जनसंख्या र सवारी साधनको अनुपातमा बाटोको बिस्तार हुनसकेको छैन । जसले गर्दा राजधानीको सडक सवारीमय देखिन्छ । जताततै भीडभाड, सवारी जाम, अस्तव्यस्तता, पार्किङस्थलको अभाव राजधानीको परिचय भएको छ । त्यससँगै घरीघरी चलिरहने परम्परागत ढर्राको भीभीआइपी 'सवारी'ले राजधानीबासीको दैनिकी अनेकपटक बिथोलिने गरेको छ ।

सवारी चालकको अनुशासनहीनता ट्राफिक व्यवस्थापनको अर्को चुनौती हो । राजधानीमा सवारी हाँक्ने ज्ञानी, गुनीहरु नै हरदम ट्राफिक नियमको उल्लङ्घन गर्ने होडमा हुन्छन् । लाखौंको संख्यामा चल्ने सवारी साधनको व्यवस्थापनको लागि खटिने ट्राफिक प्रहरीको संख्या केही हजारमात्रै छ । काठमाडौं उपत्यकाभित्रको ५०० किलोमिटर सडकमा दैनिक लाखौं सवारीसाधन गुडाउनुपर्ने अवस्था छ । सहरको बिस्तारसँगै सोही अनुपातमा सडक बिस्तार हुन नसक्नु, सबै सेवा सुविधा, केन्द्रीकृत हुनुजस्ता कारणले पनि भित्री सहरमा हरेक दिन भिडभाड र ट्राफिक जाम हुने गरेको छ ।

ट्राफिक व्यवस्थापनको पूर्वाधार कमजोर छ । ट्राफिक लाईट, जेब्रा क्रस, ट्राफिक संकेत बोर्ड, वन-वे, सब-वे आदि अनेकरुपमा रहेका स्रोत, साधनको व्यवस्थित प्रयोग तथा उचित मर्मत सम्भारमा कमी कमजोरी छन् । यी विविध कारणले गर्दा काठमाडौं हरबखत भद्रगोल र सवारीमय देखिन्छ ।

तत्कालै सडक पूर्वाधारको विकास उल्लेख्य मात्रामा हुने सम्भावना छैन । नत, 'कोर सिटी'मा केन्द्रित व्यापारिक, सामाजिक तथा प्रशासनिक गतिविधिको विकेन्द्रीकरण हुने कुनै संकेत छ । अत: आगामी दिनमा राजधानीमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउनको लागि एकमात्रै उपाय हो, भइरहेका स्रोत-साधनको फरक ढङ्गले प्रयोग गर्नु ।

'एक्सप्रेस वे' बनाऔं

संसारभरि नै सार्वजनिक यातायात प्रणालीको व्यवस्थापन सरकारको प्राथमिकतामा पर्दछ । हामीकहाँ पनि यसको उचित व्यवस्थापनको लागि विगतदेखि नै कुनै न कुनै प्रयास भएको देखिन्छ । तर, ती प्रयासको मापनयोग्य प्रतिफल आउन सकेको छैन ।

विगत केही वर्षदेखि सरकारले सार्वजनिक यातायातमा ठूलो आकारका बस खरिद गरि सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसैको प्रभावस्वरुप राजधानीमा विभिन्न कम्पनी र संस्थाहरुले ठूलो आकारका सार्वजनिक बस सञ्चालन गरिरहेका छन् । यसबाट सानो आकारका सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भोग्नुपर्ने सास्ती घटेको छ । तरपनि ट्राफिक जामको समस्या भने यथावत छ ।

आम सडक प्रयोगकर्ताले ट्राफिक जामको समस्या भोग्नुपर्ने र ट्राफिक व्यवस्थापनको प्रयास गरेपनि त्यसको औचित्य नहुने अवस्था छ । पछिल्लो समय रिङरोडको स्तरोन्नति, अन्डरपासको निर्माण, विभिन्न स्थानमा आकाशेपुलको निर्माण गर्ने काम भइरहेपनि भित्री सहरको अवस्थामा तात्विक फरक परेको छैन । किनभने आम सेवाग्राही, विद्यार्थी, पेशागत क्षेत्रमा आबद्ध हरेक व्यक्तिले सिंहदरबार आसपासको क्षेत्रमा केन्द्रित हुनुपर्ने अवस्था छ ।

राजधानीको पूर्वपश्चिम र उत्तर दक्षिण हुनेगरी यस्तो द्रुत मार्ग निर्धारण गर्नसके पन्ध्रदेखि बीस मिनेटको अन्तरालमा राजधानीको एक कुनाबाट अर्कोमा पुग्न सकिनेछ ।

व्यावसायिक, प्रशासनिक र अन्य हरेक क्षेत्रसँग सम्बन्धित गतिविधि अद्यापि यही क्षेत्रमा केन्द्रित छन् । त्यहाँसम्म पुग्नका लागि सडक प्रयोगकर्ताले हरेक चोकमा समय बिताउनुपर्ने अवस्था छ । लाखौं मानिसको महत्वपूर्ण समय ट्राफिक जामको कारण खेर गइरहेको छ । यसको विकल्पमा मेट्रो रेल, मोनोरेल, केबलकारलगायतका विकल्पको विषय उठाउन भएको छ भने कतिपयको परियोजनाको प्रारम्भिक चरणको कामसमेत सुरु भइसकेको छ । तर, समय र लागतको हिसाबले ती परियोजनाहरु सम्पन्न हुँदासम्म धैर्य गर्नसक्ने अवस्था छैन ।

यस्तो परिस्थितिबाट मुक्ति पाउने एकमात्र उपाय हो, सहरको मध्य भागबाट कम्तीमा दुईवटा 'एक्सप्रेस वे' घोषणा गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्नु । यसो गर्नसके दैनिक सार्वजनिक यातायात प्रयोग गर्ने लाखौं राजधानीबासीले तत्काल राहत पाउनेछन् ।

राजधानीको पूर्वपश्चिम र उत्तर दक्षिण हुनेगरी यस्तो द्रुत मार्ग निर्धारण गर्नसके पन्ध्रदेखि बीस मिनेटको अन्तरालमा राजधानीको एक कुनाबाट पुग्न सकिनेछ । हाल सञ्चालनमा रहेकै रुटलाई द्रुत मार्ग घोषणा गरी निश्चित मापदण्डका सवारी साधनमात्र सो रुटमा चलाउन सकिन्छ ।

ललितपुरको लगनखेलदेखि महाराजगञ्जसम्मको दुरी १०.७ किलोमिटर छ । त्यसैगरी कलंकीदेखि कोटेश्वरसम्मको दुरी ८.१ किलोमिटर छ । ३० किलोमिटर प्रतिघन्टाको गतिमा बिना अवरोध सवारी गुड्न पाउँदा यी दुई रुटबाट राजधानीको एकछेउबाट अर्को छेउसम्म पुग्न क्रमश: २१ र १६ मिनेट समय लाग्छ ।

अहिलेको अवस्थामा कलंकीबाट छुटेको सवारी सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर र नयाँ बानेश्वरको जाम छिचोल्दै कोटेश्वर पुग्नुपर्छ । र, हरेकजसो चोकमा ५ देखि १० मिनेट समय खेर जानु सामान्य भइसकेको छ ।

यदि सम्बन्धित निकायले एक्सप्रेस वे निर्धारण गर्न दिशामा गृहकार्य गर्ने हो भने यो काम केही दिनको तयारीमै गर्न सकिन्छ । साबिकमा प्रयोग भइरहेको सडक पूर्वाधारको उपयोग गर्न सकिने हुँदा लागतको दृष्टिकोणबाट समेत बोझिलो हुँदैन । निश्चित स्थानबाट मात्रै यो रुट क्रस गर्ने व्यवस्था गरिदिँदा अन्य रुटमा चल्ने सवारीलाई व्यवस्थापन गर्न सकिन्छ ।

राजधानीमा 'द्रुत मार्ग' घोषणा गरी सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिँदा हरेक दिन चोकैपिच्छे खेर गएको आम सर्वसाधारणको लाखौं मिनेट समय उत्पादनमुलक कार्यमा उपयोग भई परोक्षरुपमा राष्ट्र निर्माणमा उपयोग हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved