'बैंकिङ क्षेत्र कर्मचारीबाट नै किन जोखिममा ?' बैंकर अजय मिश्रको विश्लेषण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2019 | 04:26:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय बैंकिङ क्षेत्रमा मानव संशाधनकै कारण जनताको पैसा जोखिममा पर्न थालेको टिप्पणी हुन् थालेको छ। चिनियाँ ह्याक प्रकरण होस् या कृषि विकास बैंकको ५ करोड प्रकरण होस्, नक्कली चेक तथा हस्ताक्षरको प्रयोग गरेर जनताबाट लाखौँ रुपैयाँ निकालेको घटना होस् या बैंक अफ काठमान्डूका तत्कालिन सीईओ अजय श्रेष्ठ प्रकरण होस्, सबै घटनामा बैंकका कर्मचारीको कारण भएको निष्कर्ष निकालिएको छ। 

बैंक वित्तीय संस्थाको आकार बढ्दै जाँदा उनीहरुको कारोबार क्षमता पनि उत्तिकै बढिरहेको छ। तर जनताप्रति बैंक वित्तीय संस्थाको जिम्मेवारी बढ्दै जाँदा त्यहाँका कर्मचारीबाट नै जनताको पसिनाको कमाई असुरक्षित रहेको चर्चा हुन् थालेको छ। 

आखिर बैंक वित्तीय संस्थामा कर्मचारीबाट नै जनताको पैसा असुरक्षित किन हुँदै गएको छ त ? यस बिषयमा लामो समयदेखि बैंकिङ क्षेत्रलाई आफ्नो कर्मथलो बनाउदै आएका युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रसंग हामीले यस बिषयमा कुराकानी गरेका छौँ। प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको मिश्रका लागि यो १३ औं संस्था हो। माछापुच्छ्रे बैंकबाट बैंकिंङ करियर सुरु गरेका मिश्रसंग विकास बैंक र कमर्शियल बैंकको उच्च तहमा बसेर काम गरेको अनुभव छ।

उनी भन्छन,

अहिलेको मूल समस्या भनेको छोटो अवधिमा कर्मचारीको पद र जिम्मेवारी बढ्नु हो। तीन बर्षमा ४ वटा प्रमोशन खाएर एसिस्टेन्ट लेभलदेखि शाखा प्रमुख भएको समेत भेटिएको छ। यसरि छोटो अवधिमा फटाफट पद र जिम्मेवारी बढ्दा उसमा त्यहि अनुसारको अनुभव, परिपक्वता आउँछ कि आउँदैन भन्ने बिषय महत्त्वपूर्ण छ। 

छोटो अवधिमा नै छिटो छिटो स्तरोन्नति कसरि भएको छ त, आउनुहोस १० बर्षअघिको बैंकिङ अवस्थालाई फेर्कर हेरौं। १० बर्षअघि बैंकमा अहिलेको जस्तो कर्मचारी तानातानको अवस्था थिएन। त्यो बेला एउटा बैंकले एक बर्षमा बढीमा ५-७ शाखा खोल्थे। अहिले बर्षमा नै ४०-५० वटा शाखा खोलेका छन र खोल्नु पर्ने अवस्था सृजना भएको छ। 

एउटा शाखा खोल्नलाई कम्तिमा पनि ६ जना कर्मचारी आवश्यक पर्छ। ४० वटा शाखा खोल्न २४० कर्मचारी चाहिन्छन। २४० मा ५० जना नयाँ कर्मचारी भए पुग्ला तर अरु त अनुभवी, परिपक्व कर्मचारी चाहियो। त्यो कहाँबाट ल्याउने ? यहि बैंकिङ क्षेत्रबाट। अनि कर्मचारी तानातान नभएर  के हुन्छ ? 

अर्को कुरा बैंक वित्तीय संस्थाले केवाईसी लगायत बिभिन्न विवरण भर्नुपर्ने हुन्छ। यसका लागि बैंकहरुले इन्टर्नबाट कर्मचारी ल्याउन थाले। बैंकप्रति नै जिम्मेवार नहुने व्यक्तिहरुलाई कर्मचारी ठानेर काम गराएपछि त्यहाँ भित्रको सुचना बाहिरिने खतरा जुनै बेला पनि रहन्छ। ग्राहक चिन्नुपर्छ भनेर थालिएको प्रकृयामा नचिनेका कर्मचारी आए। बैंक वित्तीय संस्थाले ग्राहक चिन्न खोज्दा कर्मचारी नै चिन्न सकेनन। त्यहि भएर पनि बैकिङ क्षेत्रमा मानवीय स्रोतलाई लिएर जोखिम बढेकै हो। 

अर्को कुरा, धेरै बैंक वित्तीय संस्थाले खर्च कटौती र छिटो छरितो हुने भने भन्दै आउटसोर्सिंङ कर्मचारीमा निर्भरता बढाए। बैंकभित्र कै कर्मचारीबाट समस्या बढिरहेको, केहि घटना बैंककै कर्मचारीको मिलोमतोमा भएको अवस्थामा जो कर्मचारी नै होइनन उनीहरुलाई बैंकको, बैंकका ग्राहकप्रति जिम्मेवार रहनु पर्दैन। त्यहि भएर त्यहाँ भित्रका संवेदनशील सूचना तथा जानकारी बाहिरिन सक्छ। 

अर्को जोखिम भनेको प्रविधिगत जोखिम हो। नेपालको बैंकिङ अहिलेपनि प्रविधि बुझ्ने अत्यन्त कम छन। त्यहिमाथि बैंक वित्तीय संस्थामा प्रविधिमाथिको लगानीलाई लगानी हो भन्ने मानसिकता बनिसकेको छैन। पाइरेसी सफ्टवेयर चलाएर नै खर्च कटाउने बैंकहरुले प्रविधिमा लगानी नगर्नु कुरा सामान्य हो तर जोखिम बढेको छ। 

बैंकिङ अपराधमा कर्मचारी 

खराब नियत भएका कर्मचारीबाट सूचना र जानकारी बाहिरिने सम्भावना हुन्छ भने कर्मचारी नै महसुस नहुने कर्मचारीबाट गलत काम हुन्नं भन्न सकिने अवस्था छैन। आउटसोर्सिंङ, इन्टरन जस्ता कर्मचारीबाट मात्र अपराध हुन्छ भन्ने होइन तर संस्थाप्रति नै जिम्मेवार नहुनेबाट बैंकको सुरक्षाको अपेक्षा गर्न सकिन्छ र ? बिगतमा बोरा बोरा नागरिकता बोकेर आइपीओ भर्नेहरु नै अहिले नक्कली चेकबुक प्रकरणमा सामेल भएको हुन् सक्छ। 

त्यस्तै कर्मचारीमा देखिएको विलासिता प्रवृतिले पनि बैंकिङ अपराध बढाएको छ। समय अलि बढी भौतिकवाद तर्फ लम्किएको छ। मान्छेको सपना र आंकाक्षा बढेका छन। बैंकमा जागिर भएपछि महँगो घर, अग्लो घर, सुन्दर शहर रोजाईमा पर्छन। यसले पनि बैंकिङ क्षेत्रमा जोखिम बढेको हो। 

कम्तिमा शाखा प्रबन्धक जस्तो जिम्मेवारी पदलाई निश्चित मापदण्ड तोकिएको अवस्थामा एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट, ट्रेनी नै शाखा प्रबन्धक हुने अवस्था आउदैन। यहाँ त बैंक वित्तीय सँस्था पिच्छे कोहिमा एसिस्टेन्ट लेभलका मान्छे शाखा प्रमुख भएका छन कुनै ठाउँमा जुनियर एसिस्टेन्ट शाखा प्रमुख बनेका छन। २२ बर्षको मान्छे शाखा प्रमुख भएको शाखा र ४२ बर्षको भएको शाखामा त्यस ठाउँको जोखिम फरक हुन्छ। यसले पनि बैंकिङ गर्न परिपक्वता कति खाँचो छ भन्ने देखाउंछ। 

बैंक वित्तीय संस्थाले प्रविधि र मानव संशाधनमा लगानी बढाउँन पर्छ। यसको विकल्प भनेको मर्जर नै हो, कम्तिमा मर्जरामा शाखा संख्या बढेपनि दोहोरिन्न। कर्मचारीको आवश्यकतालाई पनि पूर्ति गर्छ। यसले दक्ष कर्मचारी बढाउँछ। आज १०० शाखा छ भोलि २०० शाखा पुर्याउन खोज्दा नयाँ शाखामा आउने कर्मचारी कहाबाट ल्याउने ? 

अर्कोतर्फ बैंकहरुमा होडबाजी बढेको छ। २०-२५ प्रतिशतको वृद्धिको लक्ष्य राख्नुपर्ने बैंकहरुले ५० प्रतिशत भन्दा बढीको वृद्धिको अपेक्षा राखे, त्यहि अनुसार योजना बनाए। अनि बैंकमा जोखिम नबढे के हुन्छ ?      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved