नेपाल राष्ट्र बैंकले संघीय सरकार घाटामा गएको प्रतिबेदन सार्वजनिक गरेको छ। ११ महिनाको अवधिमा सरकार १ खर्ब ९६ अर्ब १४ करोड घाटामा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ।
११ महिनाको आँकडाअनुसार बैङ्किङ कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकि चेकबाहेक) संघीय सरकार १९६ अर्ब १४ करोडले घाटामा रहेको छ। राष्ट्र बैंकको प्रतिबेदनअनुसार सरकारको ११ महिनाको कुल खर्च ८४३ अर्ब ९४ करोड रहेको छ भने ६४७ अर्ब ८० करोड राजश्व संकलन गरेको छ। अघिल्लो बर्षको यस अवधिमा सरकार ३५ अर्ब ७७ करोड घाटामा रहेको थियो।
खर्च चलाउन ऋणको भर
सरकारले ११ महिनासम्म २५४ अर्ब ५४ करोड ऋण लिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस अवधिमा सरकारले १७५ अर्ब आन्तरिक तथा ७९ अर्ब १४ करोड बाह्य ऋण लिएको छ। ११ महिनासम्म संघ, प्रदेश र स्थानीय तहमा सरकारका विभिन्न खातामा १६४ अर्ब ५० करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।