राजस्व छली कानुनी अपराध हो । कुनैपनि व्यक्ति वा संस्था राजस्व चुहावट सम्बन्धी गतिविधिमा संलग्न भएमा कानुनी कारबाहीको भागीदार हुनुपर्छ । त्यतिमात्रै नभएर सामाजिक प्रतिष्ठामा असर पर्दछ । त्यसैले जानेर वा अन्जानमा राजस्व छलीको कसुरबाट बच्नु बुद्धिमानी हुन्छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ ले यस्ता कामलाई राजस्व चुहावटको कसुरका रुपमा परिभाषित गरेको छः
(क) नेपाल सरकारलाई तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिर्ने वा कम तिर्ने नियतले कुनै काम गरेमा,
(ख) कम राजस्व तिर्ने वा राजस्व नतिर्ने उद्देश्यले गलत वा झुट्टा लेखा, विवरण वा कागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानून बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरे वा नबुझाएमा वा तिर्नु वा बुझाउनु पर्ने राजस्व भन्दा घटी राजस्व तिरेमा वा बुझाएमा,
(ग) कुनै पनि मालबस्तुको निकासी पैठारी गर्दा सम्वन्धित भन्सार कार्यालयमा प्रचलित कानूनबमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा वा छल्ने प्रयत्न गरेमा,
(घ) कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको नामबाट कुनै उद्योग, व्यापार वा व्यवसाय गरी कुनै वस्तु निकासी वा पैठारी गरेमा वा कुनै विदेशी कम्पनी वा संस्थाको एजेन्ट भएमा सो कुरा नदेखाई प्रचलित कानूनबमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा,
(ङ) राजस्व तिर्नु, बुझाउनु वा दाखिल गर्नु पर्ने कार्यालय वा सो कार्यालयको कर्मचारीको कार्यमा अनाधिकार बाधा उत्पन्न गरेमा वा त्यस्तो कार्यालय वा कर्मचारीलाई अनुचित प्रभावमा पारी आफूले तिर्नु बुझाउनु पर्ने राजस्व नतिरेमा वा जति तिर्नु पर्ने हो सो भन्दा कम रकम तिरेमा वा त्यस्तो कुनै कार्य गर्ने गराउने प्रयत्न गरेमा,
(च) राजस्व बुझाउनु पर्ने कार्यालयको कर्मचारीसँग मिलोमतो गरी वा नगरी नेपाल सरकारलाई कानून बमोजिम तिर्नु बुझाउनु पर्ने राजस्व रकममा हेरफेर वा परिवर्तन गरेमा वा राजस्व बुझाएको देखिने गलत वा झुट्टा लिखत तथा कागजात तयार गरेमा वा पेश गरेमा,
(छ) राजस्व बुझाउने प्रयोजनको लागि घोषना गरिनु पर्ने वा देखाउनु पर्ने कुनै आय, घर जग्गा वा अन्य सम्पत्ति वा सामानको मूल्य घटी वा बढी हुने गरी हिसाव वा कागजात तयार गरी पेश गरेमा,
(ज) माथिका खण्डमा उल्लिखित काम कारबाही गर्न गलत वा झुट्टा परामर्श दिएमा ।