जेल भित्रै झडप हुँदा ५२ को मृत्यु, १६ जनाको टाउको काटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 06:19:34 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रजिलमा एउटा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा कम्तिमा ५२ जना मारिएका छन्। पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको हो। बन्दीको कब्जामा परेका दुईजना जेल अधिकारीहरू रिहा गरिएका छन्।

स्थानीय समय अनुसार बिहान करिब सात बजे सुरुको हिंसा मध्याह्नमा बल्ल नियन्त्रणमा आएको थियो । जेलबाट लिइएको भनिएको ब्रजिलका संचार माध्यममा प्रसारित भिडिओ फुटेजमा कम्तिमा एउटा बन्दीगृहबाट धुवाँ निस्किरहेको देखिन्छ। अर्को भिडिओमा बन्दीहरू भवनको छतमा हिँडेको देखिन्छ।

प्रान्तीय सरकारले विज्ञप्ति जारी गर्दै कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्ड सदस्यहरू राखिएको भवनमा आगो लगाएको जनाएको छ। विज्ञप्तिका अनुसार त्यो स्तरको घटना हुने पूर्व चेतावनी वा सङ्केत थिएन। सोमवार हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता २०० जना अटाउने भए पनि त्यहाँ करिब ३०० कैदी छन्।

ब्रजिलको सञ्चार माध्यमका अनुसार घटनामा संलग्न समूहका नेतालाई संघीय कारागारमा सरुवा गर्न लागिएको छ। ब्रजिलका कारागारहरूमा हिंसा असामान्य होइन। ब्रजिलका जेलमा सात लाख बन्दी छन्। विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्रजिल तेस्रो हो। त्यहाँ देशभरका जेलमा भिडभाडको समस्या छन्। प्रतिद्वन्द्वी समूहहरूबीच बारम्बार झडप हुने गर्छ।

मे महिनामा एकै दिन चार फरक कारागारमा ४० जना मारिएका थिए। त्यो घटना १५ जना बन्दीको मृत्यु भएको भोलिपल्ट भएको थियो। देशका दुई प्रमुख गिरोहबीच विभिन्न जेलहरूमा हिंसा हुँदा सन् २०१७ को जनवरी महिनामा मात्र १३० जनाभन्दा बढी मारिएका थिए। जसका कारण लामो समयसम्म दङ्गा भएको थियो भने सयौँ बन्दीको सुरुवात गरिएको थियो।

ब्रजिलका उग्र दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुले कारागारहरूलाई कडा नियन्त्रण ल्याइने प्रतिबद्धता जनाएका छन्। तर धेरैजस्तो जेलहरू प्रान्तको नियन्त्रणमा रहेकाले त्यो त्यति सजिलो छैन। हिंसा र लागु औषध सम्बन्धि कारोबारविरूद्धको कारबाहीका कारण पछिल्ला दशकहरूमा देशका जेलमा बन्दीहरूको सङ्ख्या बढेको छ। त्यहाँको भिडभाडले गर्दा अधिकारीहरूलाई विरोधी समूहलाई अलग अलग राख्न निकै गाह्रो भएको छ। खाना र सुत्ने सामान जस्ता सीमित साधन स्रोतलाई लिएर जेलभित्र उनीहरूबीच तनाव देखिने गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved