प्रधानमन्त्री ओलीको चीन भ्रमण असार पहिलो साता, यी बिषयमा सम्झौता हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 06:39:56 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी ओली असार पहिलो साता चीन भ्रमणमा जाने गरी तयारी सुरु भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को सम्मेलनपछि प्रधानमन्त्रीलाई बेइजिङमा स्वागत गर्ने सन्देश चीनले पठाएको छ । प्रधानमन्त्रीले ३० वैशाखमा संसद्लाई सम्बोधन गर्दै छिटै चीन जाने घोषणा गरेका थिए । ओलीले यसअघि ०७२ चैत पहिलो साता चीन भ्रमण गरेका थिए ।

२६ र २७ जेठमा चीनले एससिओको सम्मेलन आयोजना गर्दै छ, जहाँ राष्ट्रपति सी जिनपिङ सहभागी हुनेछन् । प्रधानमन्त्री ओली पनि १५ जेठमा बजेट ल्याएपछि चीन जान चाहन्छन् ।

‘जेठ २४ देखि २६ सम्म प्रधानमन्त्री ओली बेइजिङमा रहने गरी चीन भ्रमणका विषयमा छलफल भएको थियो, तर त्यो मितिमा चिनियाँ नेतृत्वको समय मिल्ने अवस्था छैन,’ कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘त्यसकारण समय मिलाएर असारको पहिलो साता भ्रमण हुन सक्ने अवस्था छ ।’

प्रधानमन्त्रीलाई कूटनीतिक मामिलामा सल्लाह दिँदै आएका नेकपाका नेता डा. राजन भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने निश्चित भए पनि मिति टुंगिन बाँकी रहेको बताए ।

‘भ्रमणको मिति तय भएको छैन, बजेट (जेठ १५)पछि मात्रै उहाँ चीन जाने निश्चित हुनेछ,’ उनले भने । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीबारे परराष्ट्र मन्त्रालयले चीनको सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वैशाख पहिलो साता चीन भ्रमणमा जाँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे चिनियाँ नेतृत्वसँग छलफल भएको थियो । ५ वैशाखमा चीनका परराष्ट्रमन्त्री वाङ यीले समकक्षी ज्ञवालीसँग प्रधानमन्त्री केपी ओलीलाई यथाशीघ्र चीनमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपालमा स्वागत गर्न नेपाल आतुर रहेको बताएका थिए ।

वाङले पत्रकारसम्मेलनमा भनेका थिए, ‘नेपालले हार्दिकतापूर्वक गरेको पुनर्निमन्त्रणालाई स्वागत गर्दै उपयुक्त समयमा चीनको उच्च नेतृत्वको भ्रमण सहजीकरण गर्न तयार छौँ ।’ प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी हुनेछ ।

नेपालमा राजनीतिक स्थिरतामा जोड दिँदै आएको चिनियाँ नेतृत्व अब नेपालमा आउन सहज भएको नेपाली अधिकारीको बुझाइ छ । चिनियाँ परराष्ट्रमन्त्री वाङले एक महिनाअघि ज्ञवालीसँग २०१८ भित्र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने जवाफ दिएका थिए ।

यस्तो तयारी हुँदै छ

केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेल्वेका लागि वार्षिक योजना बनाएर अघि बढ्ने सहमति भएको छ । यसको लगानी गरिदिन चीनलाई नेपालले आग्रह गरिसकेको छ । लगानीको मोडालिटीसहित समयबद्ध कार्यतालिकाका विषयमा दुवैर्फका रेल अधिकारीबीच छलफल भइरहेको छ । ओलीको चीन भ्रमणमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

ओलीको चीन भ्रमणमा नेपालमा कार्गो सामान ढुवानीका लागि तिब्बतको राजमार्ग उपयोगसम्बन्धी सम्झौता र पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा एकैसाथ हस्ताक्षर हुनेछ । परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणमा यसबारे मोटामोटी सहमति भएको छ ।

चीनले प्रस्ताव गरेको स्वतन्त्र व्यापार सम्झौताको प्रस्तावमाथि नेपालले अध्ययन गरिरहेको छ । तर, चीनबाट सामान आउँदा भन्सार शून्य गर्नुपर्ने प्रस्ताव नेपालको हितमा नभएको नेपाली अधिकारीको बुझाइ छ ।

नेपाल–चीन स्वतन्त्र व्यापार सम्झौताका लागि सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र बन्नेछ । स्रोतका अनुसार नेपालको चासो सम्बोधन गर्न चीन तयार भए सम्भवतः चीनका राष्ट्रपतिको नेपाल भ्रमणमा सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।

सीमापार बहुआयामिक यातायात नेटवर्क तथा चिनियाँ अवधारणा बिआरआईअन्तर्गत जनस्तरको सम्बन्ध, पर्यटन, व्यापार, यातायात नेटवर्क, पूर्वाधार विकासका परियोजना छनोट गरेर सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर हुने सम्भावना छ ।

नेपाल–चीन सीमापार इकोनोमिक कोअपरेसन जोन निर्माण, अन्तरदेशीय विद्युतीय प्रसारण लाइनका विषयमा पनि सम्झौताको तयारी भइरहेको छ । ओली यसअघि चीन जाँदा भएको यातायात तथा पारबहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी पनि भएको छ ।

अरनिको राजमार्गको पुनर्निर्माण र सञ्चालन तथा स्याफ्रुबेसी–रसुवागढी राजमार्गको पुनर्निर्माण तथा सञ्चालनमा पनि सहमतिका लागि गृहकार्य भइरहेको छ ।

चिनियाँ सहयोगमा सञ्चालित परियोजना कार्यान्वयनको समन्वय र अनुगमन गर्न संयुक्त संयन्त्र गठन गर्ने सहमतिमा हस्ताक्षर हुने गरी गृहकार्य भइरहेको छ । संयन्त्रमा नेपालका परराष्ट्रसचिव र चिनियाँ राजदूतले एक–अर्को पक्षको नेतृत्व गर्नेछन् । नयाँ पत्रिका दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved