शिब धिताल/बिजपाटी     Jun 20, 2018 | 07:42:57 AM



‘डा. उपेन्द्र देवकोटाको निधन मेरो जीवनकै सबभन्दा ठूलो शोक हो । यस्तो घटनाको साक्षी कहिल्यै बस्नुपरेको थिएन,’ मंगलबार टेकुस्थित घरमै भेटिएका ८६ वर्षीय डा. दिनेशनाथ ग्वंगोलले भने ।
डा. ग्वंगोल स्व. देवकोटासँग लामो समय सँगै काम गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । उनी अहिले पनि डा. देवकोटाकै पहलमा बाँसबारीमा स्थापना भएको न्युरो अस्पतालमा कार्यरत छन् । धेरैले डा. ग्वंगोललाई डा. देवकोटाको गुरु पनि भन्छन् । डा. देवकोटाबारे ग्वंगोलको भनाइ छ, ‘उहाँ मेरो एउटा असल सहकर्मी ।’

जटिल रोग लागेर जीवन मरणको दोसाँधमा रहेका हजारौं बिरामीलाई नयाँ जीवन दिएका डा. ग्वंगोल आफ्नै सहकर्मी डाक्टरको निधनमा भने साक्षी मात्रै बसे ।
उमेरमा २१ वर्ष कान्छा देवकोटाको सोमबार बेलुका निधन भएको थियो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको छ । डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा एवं छोरीहरू मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएका थिए ।
पित्तनलीको क्यान्सरबाट ग्रसित डा. देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पित्तनलीको क्यान्सर भएपछि उनी पाँच महिनाअघि बेलायतको किंग्स कलेज हस्पिटलमा उपचारका लागि गएका थिए । उपचार सम्भव नभएपछि जीवनको अन्तिम क्षण नेपालमै बिताउने उनको इच्छाअनुसार नेपाल ल्याइएको थियो ।

डा. ग्वंगोल र डा. देवकोटाको सम्बन्धबारे धेरै डाक्टर जानकार छन् । कतिपयले उनीहरूलाई ‘रुखो स्वभावको डाक्टर’का रूपमा टिप्पणी गर्छन् । आफ्नो स्वभावबारे ग्वंगोल भन्छन्, ‘हो म कडा स्वभावकै थिएँ, मसँग काम गर्ने मान्छे आफ्नो कामप्रति कमिटेड हुनुपथ्र्यो । त्यो गुण डा. देवकोटामा थियो ।
काममा दत्तचित्त नहुने डाक्टर मन पराउँदैनथे ग्वंगोल । कतिपय डा. यस्ता पनि थिए उनको वरिपरि पर्नै डराउँथे । सन् १९७९ लोक सेवा पास गरेर डा. देवकोटा वीर अस्पताल प्रवेश गर्दा ग्वंगोल वीर अस्पतालमै कार्यरत थिए । डा. ग्वंगोललाई अहिले पनि सम्झना छ, पहिलो भेटमा डा. देवकोटाले निकै दह्रोसँग हात मिलाएका थिए । ग्वंगोल भन्छन्, ‘उहाँको दुई कुराले म प्रभावित भएँ, एउटा व्यक्तित्व, अर्को ह्यान्डराइटिङ ।’ डा. देवकोटाको लेखाइ निकै राम्रो थियो । अन्य डाक्टरको भन्दा फरक ।

मुलुकको एक मात्र अस्पताल थियो वीर अस्पताल । बिरामीको चाप बढेअनुसार सुविधा दिन सकेको थिएन अस्पतालले । डा. ग्वंगोल चाहन्थे वीर अस्पतालमै न्युरो सर्जरी सुरु गर्न पाए धेरै नेपालीले सुविधा पाउथे । ग्वंगोलको भनाइअनुसार त्यतिबेला न्युरोसम्बन्धि रोग लागेकामध्ये पैसा हुनेहरू विदेश जान्थे भने पैसा नहुने उपचार नपाएरै मर्न विवश हुन्थे ।
जेजस्तो सुविधा छ, त्यसैलाई उपयोग गरेर डा. ग्वंगोल वीर अस्पतालमै न्युरो सर्जरी सुरु गर्न चाहन्थे । त्यसका लागि उपकरणका साथै दक्ष जनशक्तिको समेत खाँचो थियो । सन् १९८१ मा डिपार्टमेन्टका डाक्टरहरू जम्मा गरेर डा. ग्वंगोलले भने, ‘अब यही अस्पतालमा न्युरो सर्जरी सुरु गर्नुपर्छ, तालिमका लागि एक जना डाक्टर विदेश जानुपर्छ ।’ तर कुनै डाक्टर तयार भएनन् ।

‘बिरामी धेरै आउँदैनन्, प्राक्टिस चल्दैन,’ अधिकांश डाक्टरको भनाइ थियो । ग्वंगोल सम्झन्छन्, ‘डा. देवकोटा फरक रूपमा प्रस्तुत हुँदै भने म जान्छु तालिम लिएर आउँछु ।’ सन् १९८२ मा बेलायत सरकारको निमन्त्रणामा तालिममा गए । डा. देवकोटाले बेलायतको ‘ग्लासगो’मा तालिम लिए र फर्किएपछि पुनः वीर अस्पतालमै काम सुरु गरे । डा. देवकोटाले वीर अस्पतालमा पुनः काम सुरु गरेपछि निकै सजिलो भयो ग्वंगोललाई ।
२०५९ सालमा स्वास्थ्यमन्त्री भएका देवकोटा बारम्बार सल्लाहका लागि ग्वंगोलसमक्ष जान्थे । डा. देवकोटाकै पालीमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान स्थापना भयो । प्रतिष्ठानको पहिलो अध्यक्ष ग्वंगोल नै थिए । ग्वंगोल भन्छन्, ‘डा. देवकोटाले मन्त्री हुँदा पनि पेसा छाडेनन्, राति १÷२ बजेसम्म अप्रेसन गर्थे ।’ राजधानी दैनिकमा खबर छ । 


Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital












Close in 7