टिप्पणी: किन्न खोज्नेले दुनो सोझ्याए, दाेषकाे भारी खतिवडालाई बाेकाए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 05, 2018 | 08:00:19 AM मा प्रकाशित

laxmi  sunrise bank

टिप्पणी

साताको पहिलो दिन कै कारोबारमा शेयरबजारमा ४१.५६ अंकको गिरावट आएको छ। नवअर्थमन्त्री डा. युवराज खतिवडाको भनाईकै कारण एकै दिनमा नेप्से परिसूचक भारी अंकले ओरालो लागेको आरोप लागेको छ। 

यो आरोपको खण्डन अर्थमन्त्री खतिवडाले गर्लान नगर्लान त्यो अर्को पाटो हो, तर खतिवडाकै भनाईलाई आधार मानेर लगानीको निर्णय गर्दा लगानीकर्ताकाे सम्पत्ती भर्चुअल रूपमा भएपनि एकै दिन ४७ अर्ब कम भएकाे छ भने नेप्से परिसूचक २ बर्ष यताकै न्यून बिन्दुमा आईपुगेको छ। 

भनिन्छ, शेयरबजार सम्भावनाको बजार हो। लगानीको अवसर देखेर आउने जो कोहिको उदेश्य नाफा कमाउने नै हुन्छ। तर यहाँ हरेक दिन कसैले कमाईरहेका हुन्छन् भने त्यहि अर्को पाटोमा कसैले गुमाईरहेका छन् ।

कमाउन र गुमाउन शेयर खरिद बिक्रि गर्नुपर्ने हुन्छ। किन्न चाहनेले जति सक्दो सस्तोमा किन्न चाहन्छ र उसले सकेसम्म बजार घटेर न्यून बिन्दुमा आओस भन्ने चाहन्छ। उसले फकाउने, तर्साउने वा झुक्याउने काम समेत गर्छ । शेयर किनेपछि लगानीकर्ताले बजार अझै माथि जाओस् र बढीसे बढी हाेस् भन्ने चाहन्छ किनकी उ बढी भन्दा बढी फाइदा चाहन्छ। 

शेयर खरिद गरिसकेको लगानीकर्ताले यो वा त्यो 'टुल्स' प्रयोग गरी बजार जति सक्दो माथिल्लो बिन्दुमा पुर्याउन चाहन्छ। किनकि उसलाई सम्पति बढाउनु र बेच्दा नाफा कमाउनु छ । ठिक बिपरित किन्न चाहनेले जुनै उपाय अपनाएर बजार तल्लो बिन्दुमा ल्याउन चाहन्छ र हर सम्भव प्रयास गर्छ। 

त्यसैले यहाँ बजार घटाउन र बढाउन मात्र कारण चाहिन्छ। अर्थमन्त्री खतिवडाको भनाई अहिले किन्न माैका कुरेर बसेकाहरूका लागि एउटा राम्रो 'कारण' बन्न पुगेको मात्र हाे । जति सक्दो नकरात्मक कुरा फैलाएर बजारलाई आफुले प्रवेश गर्न चाहेको 'बिन्दु' मा ल्याउन सकियोस भनेर किन्नखाेज्नेको 'गिरोह' 'धुप' नै बालेर लागि परेको छ।  


खरिद गर्न चाहने हाबी हुँदा बजार ओरालो लाग्छ भने बिक्रि गर्न चाहने हाबी हुँदा बजार उकालो लाग्छ। अहिले शेयर किन्न चाहनेहरुले जति सक्दो लगानीकर्ताको मनोबल गिराउने र आफुले चाहेको बिन्दुमा बजार ल्याउने र प्रवेश गर्ने भन्नेमा छन। नेपालमा मात्रै होइन बिश्वमा नै शेयरबजारलाई अनुत्पादक क्षेत्रमा गणना गरिन्छ भन्ने कुरा वास्तवमा यी गिरोहलाई राम्रैसंग थाहा छ। तर पनि उत्पादक र अनुत्पादकको भुमरीमा लगानीकर्तालाई फसाएर आफ्नो स्वार्थ पुरा गर्ने यिनीहरुको मनसाय हो र जुन पुरा हुनेक्रममा छ।


हो, अर्थमन्त्री जस्तो व्यक्तिले बोलेको कुरालाई लगानीकर्ताले 'नजर अन्दाज' गर्नुहुँदैन। तर अर्थमन्त्रीले बोलेको कुराको प्रभाव आफुले लगानी गरेको कम्पनीको शेयरमा कति असर पर्छ त्यो पनि लगानीकर्ताले बिर्सिनु हुँदैन। के डा. खतिवडाले शेयरबजार, घरजग्गा कारोबार, कमोडीटि बजारलाई अनुत्पादक क्षेत्र भनेर गल्ति गरेकै हुन् त ? 

आउनुहोस, उनले बिबिसी सेवासंग गरेको कुरामा केहि छलफल गरौँ।    

बैंकिङ प्रणालीमा देखिएको लगानीयाेग्य रकम अभाब र त्यसकै कारणले अर्थतन्त्रमा देखिएको समस्याको बिषयमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा खतिवडाले विकासको क्रममा आगाडी बढ्दा थप पुंजी परिचालन गर्नु पर्ने र त्यसमा आन्तरिक रुपमा पुंजी परिचालन गरेर मात्र नहुने बताउदै अन्तर्राष्ट्रिय बजारबाट पनि पूँजी विस्तारै प्रवेश गराएर यो समस्या समाधान गर्न सक्छौं भनेका छन्।  

तर जति पूँजी त्यसरी परिचालन हुन्छ, त्यो पुंजी फेरी उही घरजग्गा, शेयर मार्केटमा र त्यही अटोमोबाइल जस्ता अनुत्पादक क्षेत्रमा गयो भने त्यसको केही पनि अर्थ नहुने खतिवडाको भनाई छ। 

खतिवडाको यो भनाईले कहीं कतै शेयरबजारलाई मिस गाइड गरिएको पाइँदैन। बरु उनले विदेशबाट पुंजी ल्याएर भएपनि बैंकिङ प्रणालीमा देखिएको तरलता समस्याको समधान गर्नुपर्छ भनेका छन्। भोलि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भयो भने पक्कै पनि ब्याज घट्छ र त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा शेयर लगानिकर्तालाई पनि हुन्छ।

अर्थमन्त्री खतिवडाले शेयरबजारलाई 'कस्छु' भनेर कहीं कतै भनेकै छैनन। शेयरबजारमा परिचालन गर्न पाउने शेयर धितो कर्जा कति दिने भनेर राष्ट्र बैंकले नै निर्धारण गरिसकेको अवस्था छ। घरजग्गामा दिने कर्जाको बारेमा पनि राष्ट्र बैंकले स्पष्ट व्यवस्था गरेकै छ। 

के खतिवडाले अर्थशास्त्रको सिद्दान्त बिपरित 'शेयरबजार, घरजग्गा कारोबार' उत्पादक क्षेत्र हो भन्दिनुपर्ने हो? के लगानीकर्ताले अर्थमन्त्रीले कहिले शेयरबजारलाई उत्पादक क्षेत्र भन्लान र बजार उकालो लाग्ला र नाफा कमाउला भनेर लगानी गरेका हुन् ? यी प्रश्नहरु अब हरेक लगानीकर्ताले आफुले आफैलाई सोध्नुपर्ने हुन्छ। पैसा लगानी गर्ने जस्तो बिषयमा 'कागले कान लग्यो' भनेर कागको पछाडी दौडिने होइन, अाफ्नाे कान छाम्ने र हल्ला किन फैलाईयाे बुझेर मात्र किनबेचकाे निर्णय लिनुपर्छ।   

अर्थमन्त्रालयले राष्ट्र बैंक या कुनै प्रणाली मार्फत विदेशको पुंजी बैंकहरुमा परिचालन गर्छ भने त्यसले समग्र अर्थतन्त्र नै चलायमान हुन्छ र समृद्धिको बाटोमा जान्छ। तर यी सबै बिषयहरुलाई बेवास्ता गरि 'उत्पादक' र 'अनुत्पादक' को बहसमा लागेर अनि आत्तिएर सस्तोमा शेयर बेचेर बाहिरिनु भनेको घाटा बुक गर्ने ठुलो भुल साबित हुनसक्छ। भाेली थपसस्ताेमा किन्न खाेज्दा महंगाे पर्न पनि सक्छ। भनिन्छ नि भुईकाे टिप्न खाेज्दा पाेल्टाकाे पाेखिन सक्छ। बजारमा रहन शेयर कित्ता नै चाहिन्छ त्याे भएकाे जाेगानुस् वा भाेली किन्नुस् त्याे अाफ्नाे जाेखिम लिने क्षमता र लगानीकाे श्राेतकाे अाधारमा निर्णय लिनु राम्रो हुन्छ ।

ठुलो भुल यस अर्थमा कि विकास खर्च बैंकिङ प्रणालीमा आउने वित्तीकै लगानीयाेग्य रकमकाे समस्या धेरैहदसम्म समाधान हुुनसक्छ। बैंकककाे व्याजदर केही भएपनि घट्ने छ भने किन्ने व्यक्ति बढेसँगै (माग बढेसँगै) मूल्य पनि बढने छ।

त्यसैले सस्तोमा शेयर किन्न चाहनेले आफ्नो दुनो सुझाउँदा तपाई 'बलिको बक्रा' नबन्नुहोस। आफुले लगानी गर्न चाहेको कम्पनीको अाधारभुत अवस्था बुझेर ढुक्कसाथ लगानी गर्नुहोस्, न कि बजारको लहलहै र अफवाहको पछाडी लागेर ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved