प्रहरी उपरीक्षकको ज्यान लिएको बारा जिप दुर्घटना नियोजित भएको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2019 | 11:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको ज्यान लिने गरि भएको बाराको जिप दुर्घटना नियोजित भएको आशंका उब्जिएको छ। गत माघ १२ गते सिमरा उपमहानगरपालिकाको पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिक भएको जिप दुर्घटनामा प्रहरी उपरीक्षक पोखरेलको दुर्घटनास्थलमै निधन भएको थियो भने सो दुर्घटनामा परी घाइते भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई हालसम्म पनि अचेत अवस्थामा शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन। 

सो घटना दुर्घटना मात्र नभई नियोजित रुपमा गराइएको शंका गर्ने ठाउँहरु प्रशस्त रहेको भन्दै मृतक पोखरेल र घाईते भट्टराई परिवारजनले जिल्ला प्रहरी कार्यालय बारा र काठमाडौंको महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा चालक कुर्मी विरुद्ध किटानी जाहेरी दिईसकेका छन्। 

यद्दपी प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान प्रकृया अगाडी नबढाउदा घटना नियोजित रुपमा भएको हुन सक्ने पिडित परिवारको ठहर छ। प्रहरीले जुन रुपमा अनुसन्धान प्रकृयालाई गम्भीरता र जिम्मेवारी पूर्ण रुपमा अगाडी बढाउनुपर्ने थियो, घटना भएको तीन साता नाघिसक्दा पनि अनुसन्धान प्रभावकारी रुपमा अघि नबढ्नुले परिवार र आफन्तजनलाई घटना नियोजित हो भन्ने कुरामा बल पुगेको छ। 

जिल्ला प्रशासन कार्यालय बारामा हलुका सवारी चालकको रुपमा कार्यरत जगत नारायण राउत कुर्मीले प्रतिघण्टा सय किलोमिटरभन्दा माथिको गतिमा सवारी चलाएर रोकी राखेको ट्याक्टरको टेलरमा नियोजित रुपमा ठोक्काएको परिवारको आशंका छ। सोही आशंकाका कारण मृतक पोखरेल र घाईते भट्टराई परिवारजनले जिल्ला प्रहरी कार्यालय बारा र काठमाडौंको महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा चालक कुर्मी विरुद्ध किटानी जाहेरी गरेका हुन।   

घटना लगत्तै चालक कुर्मीले प्रहरीलगायतका सम्बन्धित निकायलाई कुनै जानकारी नदिएकाले पनि थप शंका उत्पन्न भएको किटानी जाहेरीमा उल्लेख  छ। चालक कुर्मी दुर्घटनामा सामान्य घाइते मात्र भएका थिए।

जिप्रका बारामा विगत २३ वर्षदेखि सवारी चालकको रुपमा रहेका सामान्य परिवारका कुर्मी कलैया, विरगंज र काठमाडौं स्थित अनामनगरमा करोडौंका घर जग्गा जोड्न सफल भएकोले पनि उनीमाथि शंका गर्ने प्रशस्त आधार रहेको परिवारजनको भनाई छ। आफूलाई स्थायी सिडियो बताउंदै हिड्ने कुर्मीले बिचौलियाको रुपमा गैरकानुनी रुपमा काम गर्ने गरेको उनी निकट व्यक्तिहरुले बताएको परिवारका सदस्यको भनाई छ। 'नेपाल सरकारका पूर्व सीडीओ, सचिवदेखि अन्य उच्च पदस्थ बहालवाला पदाधिकारीले कुर्मी बचाउमा चासो देखाउनुले झन् घटनालाई थप रहस्यमयी बनाएको छ' परिवारका सदस्यले बताए। 

सामान्य दुर्घटना सोचिएको यो घटना झनझन रहस्यमयी हुनु र मुलुककै बहालवाला र पूर्व सचिवसम्मको चासो बढ्नुले घटनालाई सामसुम पार्न खोजिएको त होइन भन्ने आशंका परिवारजनमा परेको छ। 

उक्त दुर्घटनालाई सामान्य दुर्घटनाको रुपमा मात्रै नलिई नियोजित घटनाको रुपमा अर्थाउन सकिने देखिंदै गएकाले घटनाबारे सत्यतथ्य र निष्पक्ष छानविन गरि दोषीलाई कारबाहीको दायरामा ल्यान परिवारजनले सरकारसंग माग गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved