नेपाल र चीनबीच व्यापारका क्रममा आउन सक्ने समस्या समाधान गर्न व्यापार सहजीकरण समिति गठन गर्ने समझदारी भएको छ । समझदारीअनुसार दुवै देशका वाणिज्य मन्त्रालयका सचिव उक्त समितिका संयोजक रहने छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा उक्त समझदारी भएको हो ।
समितिले दुई देशको व्यापारिक पूर्वाधारमा नभई व्यापारका क्रममा सिर्जना हुने समस्या समाधानमा पहल गर्ने छ। समितिको कार्य क्षेत्र केही समयमै निर्धारण गरिने र आपसी समझदारीमा उपयुक्त समयमा बैठक हुने सहमति भएको छ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारमा चीन भारतपछिको सबैभन्दा ठूलो साझेदार हो । चालू आर्थिक वर्षको दुई महिनाको व्यापार तथ्याङ्कअनुसार नेपालले चीनबाट ४० अर्ब ५६ करोड रुपियाँको आयात र २९ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।