‘सरकारले होटल बन्द गर्ने निर्णय गरेर गल्ती गर्‍यो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2020 | 01:38:36 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल व्यवसायीले आफूहरुसँग छलफल नै नगरी सरकारले होटल बन्दको निर्णय गरेको आरोप लगाएका छन् । सरकारले भदौ १ गतेबाट होटल तथा हवाइ उडान खुला गर्ने निर्णय गरेपछि आफूहरुले बिदामा रहेका कामदार झिकाएको र विदेशस्थित एजेन्टलाई समेत खबर पठाईसकेको भएपनि सरकारले बिना छलफल हवाइ सेवा बन्द गर्ने निर्णय गरेको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष बिनायक शाहको आरोप छ ।

‘हामीले छुट्टिमा रहेका श्रमिकहरु झिकायौँ, संक्रमण हुन नदिन अपनाउनु पर्ने तालिम दियौँ’ उनले भने, ‘सुरक्षात्मक उपायहरु अवलम्बन गर्ने क्रममा सुरक्षाका सामग्रीहरु किन्यौँ, तर सरकारले कुनै पूर्व जानकारी बिना नै होटल बन्द गरिदियो, यो पनि हामीले मिडिाबाट थाहा पयौँ ।’

सबैलाई एउटै डालोमा हालेर निर्णय

सरकारले तोकेका मापदण्ड पालना गर्ने होटलहरुलाई अन्याय हुने गरी सरकारले निर्णय गर्नु दुःखद भएको शाहको आरोप छ । सोमबारको मन्त्रिपरिषद बैठकको हवाइ उडान भदौ १५ सम्म बन्द नै राख्ने निर्णय गरेपछि होटलहरु पनि थप भदौ १५ सम्म नै बन्द अवस्थामा नै रहने भएपछि तोकिएका सुरक्षाका मापदण्ड पालना गर्ने र नगर्ने होटलहरुलाई एउटै डालोमा राखेर निर्णय गर्दा आफूहरु मारमा परेको उनको गुनासो छ । 

‘सबै होटलहरुले स्वास्थ्य मापदण्ड पालना गरेका छन् भन्ने छैन’ उनले भने, ‘मापदण्ड पालना नगर्नेहरुलाई अनुगमन गर्ने सरकारी निकायहरु छन्, तर अनुगमन गर्नुको सट्टा स्वास्थ्य मापदण्ड पालना गर्नेहरुलाई पनि बन्द हुने गरी निर्णय गरेर हामीले गरेको पूर्व तयारीको कुनै मतलब नै गरिएन ।’

शाहले कोरोनाका कारण स्वास्थ्य संकट कायम रहेका बेला आर्थिक संकट आउने गरी निर्णय हुनु राम्रो नभएको उनको भनाई छ । सोमबारको मन्त्रिपरिषद बैठकले आन्तरिक तथा बाह्य हवाइ उडान भदौ १५ गतेसम्म स्थगित नै राख्ने निर्णय गरेपछि होटलहरु स्वतः बन्द हुने भएका हुन् ।

५ सय पर्यटकको लागि तयारी

भदौ १५ सम्म हवाइ उडान बन्द गर्ने निर्णय भएपनि आफूहरु भने उडान खोल्ने निर्णयपछि कसरी सेवा दिने भन्नेमा नै केन्द्रित रहेको पर्यटन विभागले बताएको छ । पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग मिलेर पर्यटकका लागि निश्चित मापदण्ड तयार गरेको पर्यटन विभागले जनाएको छ । 

हाललाई दक्षिण एशियाली मूलुक बाहिरका केही गन्तव्यमा मात्रै हवाइ उडानको अनुमति दिने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि निश्चित मापदण्ड तयार पारिसकेको छ । पर्यटन मन्त्रालयले बनाएको स्वास्थ्य प्रोटोकल अनुसार अब नेपाल आउने विदेशी पर्यटकले आफ्नो देशबाटै कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण देखाउनुपर्ने छ । पीसीआर नेगेटिभ आएका पर्यटकलाई मात्रै नेपाल प्रवेशको अनुमति दिइनेछ । 

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको भएपनि उनीहरु नेपाल आएपछि ७ दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपाल आउनेहरुले ७ दिन होटल क्वारेन्टाइनमा बस्ने गरी होटल बुकिङ गरेको प्रमाण पनि देखाउनु पर्नेछ । ७ दिन होटलमा बसेपछि निस्कने समयमा पनि पर्यटकको पीसीआर परीक्षण गर्नुपर्नेछ । त्यसरी परीक्षण गर्दा नेगेटिभ आएपछि मात्रै पर्यटकहरुले नेपालमा घुम्न पाउने छन् ।

तत्कालका लागि दैनिक ५ सय जनासम्म विदेशी पर्यटक नेपाल आउन सक्ने अनुमानसहित तयारी थालिएको पर्यटन विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved