ठोस उपलब्धि बिनै सकियो लगानी सम्मेलन, ९ खर्बका अयोजना देखाउँदा ९ अर्ब मात्रै लगानी स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 10:57:10 AM मा प्रकाशित

laxmi  sunrise bank

८ वटा कानुन संशोधन गरेर लगानीको वातावरण छ भन्ने बाहेक अरु खास उपलब्धि बिना नै लगानी सम्मेलन सकिएको छ। लगानी सम्मेलन सुरु भएको दिन कानुनुहरु संशोधित कानुनहरुमा राष्ट्रपतिबाट ‘लालमोहर’ लागे पनि उपलब्धिका आधारमा लगानी सम्मेलन अपेक्षित उपलब्धिमूलक हुन सकेन । 

यतिसम्म कि, २०७५ सालको लगानी सम्मेलनमा गैरआवासीय नेपालीले मात्रै १० अर्बको लगानी सम्झौता गरेका थिए । तर, यस पटक पुरै सम्मेलन अवधिमा जम्मा ९ अर्ब १३ करोडको लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार ४ वटा उद्योगका लागि ९ अर्ब १३ करोडको लगानी स्वीकृत भएको छ । 

भक्तपुरमा लगानी कम्पनीका लागि ६ अर्ब र काठमाडौंमा व्यावसायिक भवन बनाउन ३ अर्ब रुपैयाँ बराबरको लगानी यस दौरान स्वीकृत भएको थियो । कैलालीमा लघु जलविद्युत् र ललितपुरमा होटल तथा रेस्टुरेन्ट बनाउन समेत लगानी स्वीकृत भएको छ ।

सरकारले १५२ परियोजनाहरु लगानी सम्मेलनमा प्रस्तुत गरेको भए पनि लगानीकर्ताले कुनै ठूलो परियोजनामा लगानीको खास चासो देखाएनन् । तर, लगानी बोर्डका सीईओ शुशिल भट्टले अन्तिममा भविष्यमा लगानीकर्ता आकर्षित गर्ने आधार तयार भएको र नेपाल लगानीको उपर्युक्त गन्तव्य हो भन्ने सन्देश विश्वभरी गएको बताएका छन् । 

जलविद्युत, विमानस्थल र अन्य ठूला परियोजनाहरु शोकेसमा राखिएको भए पनि सेवा क्षेत्रमा गैरआवासीय नेपालीले केही लगानी सम्बन्धि समझदारी गरेर लगानी सम्मेलनकै क्रममा लगानी सम्झौता भयो भनेर भन्न सक्ने अवस्था भने बनाइदिए । रारामा रिसोर्ट खोल्न अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको छ । एक्सपर्ट ग्रुप अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीको कम्पनी हो । सम्झौतामा एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जीकेसीसी)मा चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्बन कन्स्ट्रक्सन र भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेशनलले सम्झौतापत्रको ड्राफ्ट आदनप्रदान गरेका छन् ।

नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र इन्डियन इन्डष्ट्रिज एसोसिएसन (आईआईए) बीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र चीनको एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेडबीच समझदारी भएको हो । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनीबीच समझदारी भएको छ ।

वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । 

साखः ग्रुपले कपिलवस्तुमा होटल निर्माणका लागि हङकङको बोर ग्रुप अफ होटल चाइनासँग सम्झौता गरेको छ । 

लगानी सम्मेलन उद्घाटन भएको दिन नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । डाटा सेन्टर बनाउन चौधरी ग्रुपको बीएलसी र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ । 

विद्युतीय गाडी नेपालमै उत्पादन गर्न चिनियाँ कम्पनी सेमन गोल्डेन ड्रागन अटो बडीसँग कोशी एन.के. मोटर्स प्रा.लि.ले सम्झौता गरेको छ । ४ पाङ्ग्रे विद्युतीय गाडी नेपालमा उत्पादन गर्न यी दुइ कम्पनीले पहिलो चरणमा ३ अर्ब लगानी गर्ने भनिएको छ ।

यी बाहेक कुनै पनि ठोस उपलब्धि हासिल नभइ तेस्रो लगानी सम्मेलन सकिएको छ । ९ खर्बका आयोजना शोकेस गरिएकोमा नेपालका बिजनेश कमिटी र अन्य केही देशका व्यवसायिक संस्थाबीच द्विपक्षीय सहकार्य गर्नेबाहेक कुनै ठोस उपलब्धि हासिल नभइ लगानी सम्मेलन सकिएको जानकारहरु नै बताउँछन् ।

उद्योगी प्रबलजंग पाण्डेले लगानी सम्मेलनको समापन हुँदाका बखत नै लगानीकर्ताले विश्वास नगरेको संकेत गर्दै स्टाटस लेखेका छन् । उनले लगानीकर्तामा विश्वास नभएसम्म लगानी नआउने प्रष्ट भएको उल्लेख गरेका छन् ।

साथै, लगानी सम्मेलन अगाडी नै मुलुकको सार्वभौम क्रेडिट रेटिङ नसकिँदा पनि विश्वभरीका लगानीकर्ता आएर पनि कुनै ठूलो घोषणा नगरि फर्किएको एक जना अर्थविद् बताउँछन् । उनका अनुसार लगानी सम्मेलन अगाडी नै क्रेडिट रेटिङ सक्ने भनेर घोषणा भए पनि बल्ल काम सुरु भएकाले नतिजा आउन अझै केही महिना लाग्नेछ । 

‘लगानीकर्ताहरुले सम्भावना देखेर फर्किए, तर कानुनी अड्चनमा पूरानो जे अवस्था थियो, अहिले पनि त्यहीँ देखेको हुनाले उनीहरुले कुनै ठूलो परियोजनामा लगानीको उद्घोष गर्न चाहेनन् भन्ने मेरो बुझाई हो’ ति अर्थशास्त्री भन्छन्, ‘सम्भावना भएर मात्रै हुँदैन, सम्भावनालाई उपयोग गराउन सक्नुपर्यो, यसका लागि कानुनी, नीतिगत सबै खालका सहजीकरण हुनुपर्छ । आजको विश्वमा कहाँ र कुन क्षेत्रमा लगानी गर्दा द्रुत प्रतिफल पाइन्छ भन्ने कुरा सबैले बुझेका हुन्छन् ।’

यसअघिका उपलब्धि के थिए ?

२०७३ साल फागुन १९ र २० गते भएको पहिलो लगानी सम्मेलनमा १३ अर्ब ७० करोड डलरको लगानी प्रतिबद्धता आएको थियो । पहिलो लगानी सम्मेलनमा सरकारले कुनै पनि परियोजना शोकेसमा राखेको थिएन । तर, लगानी प्रतिवद्धता राम्रो आएको थियो ।

पहिलो लगानी सम्मेलनमा नै प्रतिवद्धता आए अनुसार होङ्सी र हुवासिन सिमेन्ट उद्योग निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् । अरुण तेस्रो र अप्पर मर्स्याङ्दी जलविद्युत् आयोजनाको निमार्ण अगाडि बढेको छ ।  

यस्तै, २०७५ साल चैत १५ र १६ मा भएको दोस्रो लगानी सम्मेलनमा ८९ परियोजना शोकेस भएका थिए । यीमध्ये १७ वटा परियोजनामा लगानी प्रतिवद्धता र १६ वटामा सम्झौता नै भएको थियो । 

दोस्रो लगानी सम्मेलनमा सोलार प्लान्ट राख्ने, पहिलो लगानी सम्मेलनमा लगानी प्रतिबद्धता भएअनुसार ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्ने सम्बन्धि हस्ताक्षर भए । सोही अनुसार अहिले अरुण तेस्रोको निर्माण भइरहेको छ । 

दोस्रो लगानी सम्मेलनमै गैरआवासीय नेपाल संघ (एनआरएनए)ले पूर्वाधार विकासमा लगानी गर्न ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड’ बनाउने सम्झौता भएको थियो । गैरआवासीय नेपालीहरूबाट पहिले वर्ष १० अर्ब लगानी भित्र्याउने गरि अहिले कम्पनी स्थापना भएर काम अघि बढेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved