दर्ता भयो नयाँ पुनर्बीमा कम्पनी, आवेदन खुल्नुभन्दा १६ दिन अगाडी नै लिएको थियो डोमेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 08:25:03 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनर्बीमा व्यबसायको लाईसेन्स पाएको हिमालयन रि इन्स्योरेन्सले कम्पनी दर्ता गराएको छ । जेठ २३ गते आइतबार कम्पनी रजिष्ट्रार कार्यालयमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नामबाट कम्पनी दर्ता भएको हो  । 

कम्पनीको अंग्रेजी नाम Himalayan Reinsurance Limited रहने छ भने गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता गरिएको छ ।   कम्पनीको ठेगाना काठमाण्डौं महानगरपालिका-,काठमाण्डौ,बागमती उल्लेख गरिएको छ। कम्पनीको दर्ता नम्बर 263618 रहेको छ ।

बीमा समितिले लाईसेन्स दिएपछि कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गरेको हो ।  हिमालयन रि मा प्रधानमन्त्री केपी शर्मा  ओली निकट उद्योगी तथा व्यवसायीहरुको लगानी रहेको छ। हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,  महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको बताईएको छ। 

बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दै  अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स,  प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले बाजी मारेको हो । 

बिजपाटी डटकमले आवेदन बन्द हुना साथ 'नयाँ पुनर्बीमा कम्पनीमा सेटिङको खुलासा, कसले लाइसेन्स पाउने पहिल्यै नै निश्चित !' शिर्षकमा समाचार प्रकाशन गरि हिमालयनले लाईसेन्स पाउने निश्चित जस्तै रहेको खुलासा गरेको थियो । हिमालयनले नै लाईसेन्स पाएसंगै सेटिङ भएको तथ्य प्रमाणित भएको छ । अन्य प्रस्तावित पुनर्बीमा कम्पनीमा बीमा क्षेत्रमा लामो समयदेखि काम गरेका व्यक्तिहरुको लगानी भएपनि सरकारकै दबाबमा हिमालयन रि इन्स्योरेन्सलाई नै लाइसेन्स दिइएको स्रोतको दाबी छ।  

कम्पनीको आवेदन खुल्नु अगाडी नै डोमेन दर्ता 

सेटिङ भएको तथ्यलाई बल पुग्ने गरि कम्पनीले आवेदन खुल्नु अगाडी नै कम्पनीको डोमेन नेम अर्थात् वेबसाइट दर्ता गरेको तथ्य फेला परेको छ ।  बीमा समितिले अप्रिल २९ तारिख अर्थात् बैशाख १६ गते पुनर्बीमा लाइसेन्सको लागि प्रस्ताव आह्वान गर्दै सुचना निकालेको थियो ।   तर कम्पनीले त्यसको १६ दिन अगाडी अर्थात् ७७ साल चैत्र मसान्त (अप्रिल १३) तारिख मै डोमेन दर्ता गरेको खुलेको हो ।  गो ड्याडी सेवा प्रदायक मार्फत कम्पनीले himalayanre.com नामको डोमेन लिएको हो । उक्त डोमेनको नेम सर्भरको रुपमा ns1.shankergroup.com र ns2.shankergroup.com राखिएको छ। एक वर्ष अवधिको लागि डोमेन दर्ता गरिएको हो । स्रोत भन्छ ' आवेदन खुल्नु अगाडी नै हिमालयनले लाईसेन्स पाउने पक्का थियो, सोहि कारण डोमेन अरुले कब्जा गरेमा समस्या हुने भएकोले उसले सूचना आउनु भन्दा अगाडी नै डोमेन दर्ता गराएको हो'। 

अहिले उक्त साइट खोल्दा 'Sorry, we're doing some work on the site Thank you for being patient. We are doing some work on the site and will be back shortly.' भन्ने संदेश देखिन्छ '। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved