नयाँ लाइसेन्सको लागि १५ बीमा कम्पनीको आवेदन (नाम सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 01:38:25 PM मा प्रकाशित

बीमा समितिले जीवन, निर्जीवन र लघु बीमाको नयाँ लाइसेन्स दिने तयारी गरेसंगै आवेदन दिनेहरुको क्रम बढेको छ। आवेदन खुला नगरिएपनि अहिलेसम्म करिब डेढ दर्जन कम्पनीहरुले नयाँ लाइसेन्सको लागि प्रस्ताव बुझाएको बीमा समितिले जनाएको छ। 

बीमा समितिका अनुसार समितिमा हालसम्म डेढ दर्जन कम्पनीहरुले जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव पेश गरेका छन्। जसमा ९ वटा कम्पनीले निर्जीवन बीमा, ३ वटाले लघु बीमा र ३ वटाले जीवन बीमाको लागि प्रस्ताव पेश गरेका छन्। 

प्रस्तावित निर्जीवन बीमा कम्पनीमा मुक्तिनाथ इन्स्योरेन्स, महालक्ष्मी जनरल इन्स्योरेन्स, अन्नपूर्ण जनरल इन्स्योरेन्स, रिलायवल इन्स्योरेन्स, मनकामना इन्स्योरेन्स, अभियान जनरल इन्स्योरेन्स, र उपकार जनरल इन्स्योरेन्स रहेका छन्। 

त्यस्तै प्रस्तावित लघुबीमा कम्पनीमा अभियान निर्जीवन लघुबीमा, माछापुछ्रे माइक्रो इन्स्योरेन्स कम्पनी, हव माइक्रो इन्स्योरेन्स रहेका छन् भने प्रस्तावित जीवन बीमा कम्पनीहरुमा युनी लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स र उपकार लाइफ इन्स्योरेन्स रहेका छन्।  

नयाँ कम्पनीहरुलाई लाइसेन्स दिने बिषय अहिले प्रारम्भिक चरणमै रहेकाले कसको पुंजी कति हुने र कति वटा कम्पनीलाई लाइसेन्स दिने भन्ने टुंगो नलागेको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बिजपाटीलाई बताए। 

उनकाअनुसार प्रारम्भिक चरणको छलफलमा निर्जीवन बीमाको चुक्ता पुंजी साढे दुई अर्ब र जीवन बीमा कम्पनीको ५ अर्ब कायम गर्ने कुराकानी भएको छ। त्यस्तै लघुबीमाको लागि ७०-७५ करोड चुक्तापुंजी तोक्ने कुरा रहेको छ। तर सङ्ख्या भने अहिले छलफलकै क्रममा रहेको छ।

नयाँ कम्पनी जीवन र निर्जीवन कम्पनीको चुक्तापुंजी ५ अर्ब र साढे २ अर्ब तय भएपछि संचालनमा भईरहेका कम्पनीको के हुन्छ भन्ने आम चाँसो छ। यद्दपी संचालनमा रहेका कम्पनीहरुलाई पनि नयाँकै जति कायम गरिने र त्यसको लागि हकप्रद भन्दा पनि मर्जरलाई नै प्राथमिकतामा राखिने अध्यक्ष सिलवालको भनाई छ। अहिले जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब र निर्जीवनको एक अर्ब रुपैयाँ छ । पुनर्बीमाको पनि १० अर्ब रुपैयाँ नै तोकिएको छ । 

नयाँ लाइसेन्स वितरणको काम प्रकृयाबाटै हुने र त्यसको लागि बीमा समितिले आब्हान गर्ने अध्यक्ष सिलवालले बताए। 

जीवन र निर्जीवन बीमा कम्पनी भन्दा पनि बीमा समितिको पहिलो प्राथमिकतामा लघुबीमा कम्पनीको लाइसेन्स खुलाउने रहेको उनले स्पष्ट पारे। प्रारम्भिक चरणको छलफलअनुसार लघुबीमालाई प्रादेशिक स्तरमा केन्द्रिय कार्यलय राखेर तथा कारोबारको सिमा तोकेर उनीहरुको क्षमताअनुसार  देशब्यापी रुपमा कारोबार गर्न दिईने छ।

हाल संचालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरु देशका दुरदराज तथा स्थानीय तहमा 'ग्रासरुट' मा पुगेर बीमाको सेवा दिन नसकेकाले लघुबिमाको आवश्यकता भएको उनको भनाई छ। स्थानीय तह तथा प्रदेश सरकारले पनि अपनत्व लिएर काम गर्नेगरि लघुबीमाबारे काम भईरहेको र यसका लागि धेरै चरणमा छलफल भईरहेको अध्यक्ष सिलवालले बिजपाटीलाई बताए।

हाल नेपालमा ४१  वटा बीमा कम्पनी संचालनमा रहेका छन्। जसमा १९ वाट लाइफ, २० वटा ननलाइफ र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।  जीवन बीमा कम्पनीको लागि बीमा समितिको प्रस्तावमा मन्त्रिपरिषदबाट निर्णय हुन्छ भने निर्जीवन र लघुबीमाको लाइसेन्स दिने अधिकार बीमा समितिको संचालक समितिलाई हुने गर्दछ।      

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved