राष्ट्रिय ध्वाजाबाहक विमानले नै बक्यौता नतिर्दा उडान रोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2023 | 06:11:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले बक्यौता नतिरेपछि गुल्मीको रेसुङ्गा विमानस्थलमा हुने भनिएको व्यवसायिक परीक्षण उडान रोकिएको छ । 

पुस २४ गते तारा एयरको जहाजबाट परीक्षण उडान सफल भएपछि नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले पनि नियमित उडानपूर्वको परीक्षण उडान गर्ने तयारी गरेको थियो । निगमको योजनामा नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले अवरोध गरिदिएको छ । 

उसले बक्यौता नतिरेसम्म नेपाल एयरलाइन्सलाई तत्काल नयाँ गन्तव्यमा उडान अनुमति दिन मानेन । जसका कारण बुधबारको उडान रोकिएर आजका लागि सारिएको थियो । तर अझै बक्यौता बाँकी रहँदा आज पनि उडान अनुमति पाएन । 

प्राधिकरणले बक्यौता नतिरेसम्म गन्तव्य विस्तार, उडान थप र चार्टड उडान अनुमति नदिने नीति अनुसार नेपाल एयरलाइन्सको उडान स्वीकृत नभएको जनाएको छ ।

‘वायुसेवा निगमले विगत लामो समयदेखि प्राधिकरणलाई तिर्न/बुझाउन पर्ने बाँकी बक्यौता देखिएकाले प्राधिकरणलाई तिर्न/बुझाउन बाँकी रहेको बक्यौता रकम नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्थ विभागमा सम्पर्क गरी फछ्यौट गर्न/गराउनु हुन अनुरोध छ’, क्यानले नेपाल एयरलाइन्सलाई फागुन १६ गते पठाएको पत्रमा भनिएको छ । 

उक्त बक्यौता रकम फछ्यौट नहुञ्जेलसम्म कुनै पनि किसिम (आन्तरिक तथा अन्तर्राष्ट्रिय)को उडान अनुमति प्रदान गर्न नसकिने व्यहोरासमेत पत्रमा उल्ललेख छ ।

क्यान स्रोतका अनुसार नेपाल एयरलाइन्सले क्यानलाई तिर्नुपर्ने बक्यौता रकम ३० करोड ४० लाख ९८ हजार ६ सय रुपैयाँ छ । ‘बक्यौता तिर्न बाँकी रहेको अवस्थामा नयाँ उडान थप गर्ने र नयाँ गन्तव्यमा उडान गर्न दिने कुरा हुँदैन’ क्यान स्रोतले भन्यो, ‘यसअघिदेखि भइरहेका अन्तर्राष्ट्रिय र आन्तरिक उडान जारी नै छन्, नयाँ उडानको तालिक नदिएका हौँ ।’ 

उनले भनेके र पत्रमा उल्लेख भएको कुरामा भने मेल खाँदैन । पत्रमा भने ‘कुनै पनि किसिम (आन्तरिक तथा अन्तर्राष्ट्रिय)को उडान अनुमति दिन नसक्ने’ भनेर स्पष्ट उल्लेख रहेको तर व्यवहारमा भने नयाँ उडानमा मात्रै रोक लगाएकाले विषय अस्पष्ट रहेको बुझिन्छ ।

यसअघि बुधबार (फागुन १७ गते) नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले रेसुङ्गा विमानस्थलमा व्यावसायिक ‘प्रभिङ’ उडान गर्ने भनिएको थियो । 

उक्त मितिमा नभएपछि शुक्रबारका लागि सारिएको थियो । तर, शुक्रबार पनि क्यानले बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल एयरलाइन्सको नयाँ उडान नदिएपछि व्यावसायिक ‘प्रुभिङ’ उडान हुन नसकेको हो ।

क्यानका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी भने बक्यौता भूक्तानी नगरेकाले नयाँ उडान अनुमति नदिइएको र बक्यौता भूक्तानी गरेपछि उडान अनुमति दिइने बताउँछन् ।

नेपाल वायुसेव निगमका अध्यक्ष युवराज अधिकारीले यस विषयमा चरणचरणमा छलफल भएको र आन्तरिक निष्कर्षमा पुगेकाले छिटै समस्या समाधान हुने बताए । “आर्थिक बक्यौता उनीहरुले भने भन्दा कम नै छ भन्ने हाम्रो आँकलन छ”, उनले थपे । प्राविधिक समुहलाई आफूले आवश्यक निर्देशन दिइसकेकाले छिट्टै उडान हुने पनि उनले बिजपाटीसँग बताए ।

यसो भन्छन् रेसुङ्गाका मेयर

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी निर्माण सकिएर परीक्षण उडान पनि सफल भइसकेको विमानस्थलमा उडान गर्छु भन्दा क्यानले अनुमति नदिनु दुःखद भएको बताउँछन् । उनले क्यानका हाकिम (महानिर्देक प्रदीप अधिकारी) ले गैरजिम्मेवारपन देखाएको आरोप पनि लगाए ।

‘बनेर तयार भएको विमानस्थलमा उडान गर्न प्रोत्साहन गर्नुको सट्टा कुनै कम्पनी आउँदा अनुमति नै नदिनु क्यानको गैरजिम्मेवार हो, कुनै आन्तरिक समस्या थिए भने पछि हल गर्नुपथ्र्यो, अहिले उडान अनुमति दिनुपथ्र्यो’ मेयर पन्थीले भने, ‘क्यानले अनुमति नदिएर उडान हुन पाएन भन्ने जानकारी आउँदा मलाई दुःख लागेको छ ।’ 

आफूले यस विषयमा क्यानका महानिर्देशक र पर्यटन मन्त्रालयका सचिवसँग पनि कुरा गरिसकेको र अब चाँडै अनुमति दिने आश्वासन पाएको बताएका छन् ।

यस्तो थियो नेपाल एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीचको सम्झौता 

रेसुङ्गा विमानस्थलमा नियमित उडानका लागि रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबीच सम्झौता नै भएको थियो । सम्झौतामा प्रति उडान कुल सिट क्षमताको ३० प्रतिशत यात्रुको ग्यारेन्टी नगरपालिकाले गर्ने उल्लेख छ । सम्झौतामा हरेक सोमबार साताको एक दिन नियमित उडान गर्ने उल्लेख थियो ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुल्मीको रेसुङ्गा विमानस्थल जाँदा नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले १४ जना यात्रु बोकेर जान सक्छ ।

फर्किदा भने १६ जना बोक्न सक्छ । तर, आज हुने भनिएको व्यवसायिक उडान अगाडिको परीक्षण उडान नै हुन नपाएपछि व्यवसायिक उडान अनिश्चित बनेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved