एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2023 | 05:36:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एउटा व्यक्तिका लागि सम्पूर्ण नियम कानुन नै मिच्ने काम कसले किन गर्छ ? पक्कै पनि, त्यसका लागि सम्बन्ध, स्वार्थ वा कुनै विशेष कारण हुनुपर्छ। त्यसमाथि पनि नेपाल राष्ट्र बैक जस्तो गरिमा बोकेको नियामकीय निकायले एउटा व्यक्तिको लागि सम्पूर्ण नियम कानुनको वेवास्ता गर्छ भने त्यसको केहि विशेष कारण नै हुनुपर्छ। 

त्यो विशेष कारण के हो भन्ने कुरा एउटा व्यक्तिका लागि नियम कानुन वेवास्ता गर्ने सुपरिवेक्षण विभागका हाकिम सहित नेपाल राष्ट्र बैंकका उच्च नेतृत्त्वलाई नै थाहा होला। तर राष्ट्र बैकको यस्तो व्यवहारले भने सिङ्गो बैंकिंङ क्षेत्रलाई नै चिन्तित बनाएको छ। 

सीवाईसी लघुवित्त वित्तीय सँस्थाका एक जनाका लागि राष्ट्र बैंकले गरेका व्यवहार देखेर लघुवित्त क्षेत्रमा वर्षौंदेखि काम गरिरहेका व्यक्तिहरु पनि हैरान भएका छन्। उनीहरुमाझ चर्चा चल्ने गर्छ, 'ति व्यक्तिमा खास के रहेछ, जसका लागि राष्ट्र बैकंले आँखैले देखिने गरि सम्पूर्ण  नियम कानुनको धज्जी उडाउन बाध्य भएको छ ?'

भएको के हो त ?

संचालक समितिको सदस्य नै व्यवस्थापनमा रहँदा स्वार्थ बाझिने निष्कर्ष सहित प्रबन्ध संचालकको व्यवस्था बैंक वित्तीय सँस्थाबाट हटाइएको हो। तर लघुवित्तबाट यो पूर्ण रुपमा हटेको थिएन। त्यसैले गर्दा नेष्डो, युनिक नेपाल, कालिका, सीवाईसी नेपाल लगायतका लघुवित्तलाई राष्ट्र बैंकले संचालक र प्रबन्ध संचालक एकै व्यक्ति नहुने व्यवस्था गर्न लिखित निर्देशन नै दिएको थियो। राष्ट्र बैंकले २०७९ साल पुष ७ गते दिएको निर्देशनमा 'मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाएको ६ महिनाभित्र प्रबन्ध संचालक पद कायम नरहनेगरि प्रमुख कार्यकारी अधिकृत पदको व्यवस्था गर्नुपर्ने' उल्लेख छ।

यहि निर्देशनको पालना गर्दै नेष्डो, युनिक नेपाल, कालिका लघुवित्तले संचालकनै प्रबन्ध संचालक हुने अवस्था हटाएर अहिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छन् । तर सीवाईसी नेपाल लघुवित्तले भने अहिलेसम्म यो व्यवस्था कार्यन्वयन गरेको छैन। 

निर्देशन कार्यन्वयन नगर्ने सँस्था र त्यसका मान्छेलाई कारबाही ठोक्नुपर्ने राष्ट्र बैंकले उल्टै सिवाईसी लघुवित्तलाई कानुनको धज्जी उडाए बापत पुरस्कृत गरेको छ। संचालक र प्रबन्ध संचालक पदमा रहेर निर्देशन नमानेका डोलेन्द्र प्रसाद शर्मालाई राष्ट्र बैंकले प्रबन्ध संचालकमा पुन: नियुक्ति हुन दिएर कानुनको धज्जी उडाएको छ ।  

कानुनि व्यवस्था

यतिमात्र नभई, मर्जर तथा प्राप्ति पश्चात बन्ने संचालक समितिको अध्यक्षले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको नियमन विभागको विभागीय प्रमुख वा प्रादेशिक कार्यलय भए राष्ट्र बैंकका प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ खानुपर्ने व्यवस्था छ। सञ्चालक समितिका अध्यक्षले सपथ खाएपछि मात्रै अध्यक्षबाट सञ्चालक समितिका अन्य सदस्य तथा प्रमुख कार्यकारी प्रमुख वा कर्मचारीले पदीय जिम्मेवारी सुरु गर्नु अगाडि तोकिएको ढाँचामा पद तथा गोपनियताको सपथ खानुपर्ने बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेको ऐन (बाफिया)को दफा १७ मा स्पष्ट व्यवस्था छ। 

आँधिखोला लघुवित्तसँगको मर्जर पश्चात अध्यक्षमा निरन्तरता पाएका सीवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्माले ६ महिनादेखि सपथ लिएका थिएनन्। ३५ दिन भित्र सपथ नखाएपछि कानुनअनुसारको कारबाही गर्नुपर्ने राष्ट्र बैंकले ६ महिनापछि सपथ खुवाएर कानुन नमाने बापत पुरस्कृत गरेको छ। ६ महिना अघि नै सपथ खानु पर्ने अध्यक्ष शर्माले यहि भदौ ७ गते राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुखबाट पद तथा गोपनियताको सपथ लिएका हुन्। 

अध्यक्षले नै ६ महिनादेखि सपथ नखाँदा त्यहाँका अन्य संचालक र प्रबन्ध संचालक पनि अवैध हुने अवस्था सृजित हुन्छ। जसले गर्दा ६ महिनादेखि प्रबन्ध संचालक पदमा रहेका डोलेन्द्र शर्मा र अन्य संचालक पनि स्वत: अवैध बनेका थिए र यिनीहरुले गरेका प्रत्येक निर्णय पनि स्वत: अबैधानिक हुने अवस्था बनेको थियो।  तर अहिले राष्ट्र बैंकको निर्देशन विपरित प्रबन्ध संचालक बनाइएका डोलेन्द्र शर्मालाई बैधता दिनकै लागि अध्यक्षलाई सपथ खूवाईएको हो। 


नीति नियम र सुशासनको धज्जी उडाएका घटना यत्ति मात्र होइनन। सीवाईसी नेपालका प्रबन्ध संचालकले नेकपा माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डको नाम नै राखेर लघुवित्तको शाखा खोलेका छन्। त्यतिमात्र नभई उनले आफ्नो र आफ्नो चेलीबेटीका नाममा समेत लघुवित्तको शाखा खोल्दै हिंडेका छन्। सबै पार्टीका पार्टी प्रमुखको नाममा शाखा खोलेरै छाड्ने उनले विभिन्न ठाउँमा बताउने गरेका छन्। 

जनताको निक्षेपबाट विशुद्द सामाजिक बैंकिंङ गर्ने लाइसेन्स लिएको लघुवित्तमा यो हदसम्मको अराजक गतिविधि हुँदा समेत नेपाल राष्ट्र बैंक आँखा चिम्लिएर बसेको छ।  सीवाईसी नेपालका प्रबन्ध संचालक डोलेन्द्र शर्माको यो अराजकता देख्दा पनि राष्ट्र बैंक मौन बस्नुले सिंगो लघुवित्त क्षेत्र नै तर्सिएको अवस्था छ।

राष्ट्र बैंकको निर्देशन विपरित संचालक र व्यवस्थापकको पद ओगटेका डोलेन्द्र शर्मा आफ्नो प्रबन्ध संचालक पद ऐन सम्बत रहेको तर्क गर्दै आएका छन्। राष्ट्र बैंकको निर्देशन  राष्ट्र बैंककै ऐन विपरित भएकाले राष्ट्र बैंकको निर्देशन नै गलत भएको उनको भनाई छ। 

उता डोलेन्द्र शर्माको बिभिन्न प्रभावमा परेको आरोप खेपेका नेपाल राष्ट्र बैंकका लघुवित्त सुपरिवेक्षण बिभागका प्रमुख रेवती नेपालले अध्यक्षको सपथको बिषयबारे आफुले कुरा नगर्ने भन्दै जवाफ दिनुपर्ने जिम्मेवारीबाट पन्छिदै आएका छन्। 

उनको गैरजिम्मेवार जवाफले सीवाईसी नेपाल लघुवित्तको अराजकतामा रेवती नेपालले खुल्लम खुल्ला रुपमै साथ दिंदै आएको आरोप पुष्टि गरेको छ। राष्ट्र बैंकको ऐन र निर्देशन अनुसार काम गरे नगरेको हेरेर त्यहिअनुसार काम कारबाही गर्नुपर्ने प्रमुख जिम्मेवारी सुपरिवेक्षण बिभागको हुन्छ। 

लघुवित्त सुपरिवेक्षण विभागले लघुवित्तका अध्यक्षले नियम अनुसार सपथ खाए नखाएको र निर्देशनअनुसार संचालक बाहेकको व्यक्ति प्रमुख कार्यकारी भए नभएको बारे अनुगमन गरेर त्यसको जानकारी आफुहरुलाई दिनुपर्ने भएपनि रेवती नेपालले यी केहि पनि नगरेको नेपाल राष्ट्र बैंक नियमन बिभाग स्रोतले जनाएको छ। 

यो पनि

नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

- राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved