वाणिज्य बैंकका अध्यक्षमाथि ३ अर्ब अनियमितताको आरोप, चौतर्फी उजुरीका चाङ

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 06, 2023 | 10:29:24 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठकमाथि अनियमितता गरेको आरोप लागेको छ। उनीमाथि सहकारीको अध्यक्ष हुँदा बचतकर्ताको बचत अनियमितता गरेको आरोप लागेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्नु अगाडी पाठक ललितपुरको लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारीमा अध्यक्ष थिए। उक्त सहकारीमा १५ वर्ष सम्म अध्यक्ष पदमा रहँदा १० हजार बचतकर्ताको पौने ३ अर्ब रकम अनियमितता गरेको उनीमाथि आरोप छ। 

उनले माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा २०७८ कार्तिकमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्ति पाएका थिए। २०७८ कार्तिक १५ गतेको सञ्चालक समितको बैठकबाट अध्यक्ष चुनिएपछि पाठकले २०७८ कार्तिक १६ गते सपथ ग्रहण गरेका थिए।

आफु बैंकको अध्यक्ष भएपछि पाठकले विकास बहादुर थापालाई सहकारीको अध्यक्ष बनाए। अहिले अध्यक्ष रहेका थापाले बचतकर्तालाई आफु अध्यक्ष भएदेखि बचत संकलन पनि नभएको र लगानी भएको ऋण पनि नउठेकाले बचत फिर्ता दिन नसक्ने जवाफ दिने गरेका छन्।

बचतकर्ताले पहिलाका अध्यक्ष पाठकलाई पनि भेटेका छन् । उनी आफू अहिले उक्त सहकारीको जिम्मेवारीबाट बाहिरिएको र बचत फिर्ता गर्ने काम वर्तमान सञ्चालक समितिको भएको भन्दै पन्छिने गरेको बचतकर्ताको गुनासो छ ।

यसपछि उनीहरु जिल्ला प्रशासन कार्यालय ललितपुर, सहकारी विभाग, सूचना आयोग, बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय र अर्थ मन्त्रालयसमेत पुगेका छन् ।

‘अपाङ्ग बचतकर्ताले पैसा नपाएर उपचार गराउन पाएका छैनन्, बचत फिर्ता नपाएकै कारण मजदूरी गरेर परिवार पाल्नेहरुको अहिले बिचल्ली छ’ खड्का थरका एक जना पिडीत बचतकर्ताले भने, ‘पाठककै पालामा सहकारीमा चलखेल भएको हो, अहिले हामीले धेरै दुःख पायौँ ।’

जग्गा र कम्पनी दिने भन्दै बचतकर्ता झुलाउँदै पाठक

पाठकमाथि बचतकर्तालाई विभिन्न ठाउँमा रहेको सहकारीको जग्गा लिन भन्दै झुलाउने गरेको आरोप लागेको छ। पर्सा, हेटौँडा लगायतका ठाउँमा जग्गा रहेको भन्दै त्यो जग्गा लिन र जग्गा नलिने भए आफू र आफ्ना साथीहरुको नाममा रहेको रियलस्टेट कम्पनी लिन भन्दै पाठकले दबाब दिने गरेको एक जना बचतकर्ताले गुनासो गरे।

‘हामीलाई कहिले पर्साको, कहिले हेटौँडाको जग्गा लिएर जाउ भन्नुहुन्छ, तर जग्गा दिने पनि होइन, भन्ने मात्रै हो, जग्गा छ कि छैन पनि थाहा छैन’ एक जना बचतकर्ताले बिजपाटीसँग भने, ‘१ लाख बचत राखेकालाई कति जग्गा दिने हो ? ३ करोड ४ करोड बचत राखेकाहरुलाई कति जग्गा दिने हो ? कस्तो कम्पनी दिने हो ? हामीलाई कसैको कम्पनी पनि चाहिँदैन, जग्गा पनि चाहिँदैन । हामीलाई हाम्रो बचत रकम चाहिन्छ भनेका छौँ ।’

नियुक्ति बदरको माग सुनुवाई भएन

पाठकले सहकारीको अध्यक्ष हुँदा बचतकर्ताको पैसा हिनामिना गरेको, आफन्तलाई ऋण दिएको, घरजग्गामा लगानी गरेको र नातागोताका नाममा ऋण लगानी गरेर आफैँले चलाएको भन्दै यस्तो व्यक्ति बैंकको अध्यक्ष बन्न लायक नरहेको भन्दै अर्थ मन्त्रालयमा उजुरी परेको थियो।

अर्थ मन्त्रालयका बैंक वित्तीय समन्वय महाशाखाका प्रमुखलाई सम्बोधन गरेर पिडीत बचतकर्ताले हजारौँ बचतकर्ताको अर्बौ रकम हिनामिना गरेका पाठकको नेतृत्वबाट सरकारी स्वामित्वको प्रतिष्ठित बैंक चल्न नसक्ने भन्दै उनको नियुक्त बदर गर्न माग गरेका थिए।


अर्थ मन्त्रालयमा परेको उजुरी


‘यस्तो व्यक्तिलाई देशकै गरिमामय वाणिज्य बैंक, जसको वार्षिक टर्न ओभर अर्बमा मात्रै होइन, खर्बमा रहेको, नेपालभरी ३०औँ लाख बचतकर्ता भएको बैंकको गरिमामय अध्यक्ष पदमा रहिरहन नसुहाउने र भविष्यमा यस बैंकको प्रतिष्ठा र कारोबारमा नकारात्मक असर पर्नबाट बचाउन समयमै कदम चाल्न अनुरोध गर्दछौँ’ अर्थमन्त्रालयमा दिइएको निवेदनमा भनिएको छ ।

तर, यस निवेदन उपर अर्थ मन्त्रालयले कुनै सुनुवाई गरेको पाइएको छैन ।

सम्पर्कमै आउँदैनन् वर्तमान सञ्चालकहरु

बचतकर्ताले सहकारीमा अनियमितता भएको र बचत रकम नै फिर्ता नपाएको गुनासो गरेपछि बिजपाटी डटकमले सहकारीका सञ्चालकसँग यसबारे बुझ्ने प्रयास गर्यो । तर, सहकारीका अध्यक्ष विकास बहादुर थापाले फोन नै उठाएनन् । जिज्ञासासहित म्यासेज गर्दा पनि उनले कुनै प्रत्युत्तर दिएनन् । उपाध्यक्ष खिम नेपालले पनि फोन उठाएनन् भने सचिव गौतम प्रसाद दाहालको मोबाइल स्वीच अफ रहेको पाइयो ।

के भन्छन् पूर्व अध्यक्ष पाठक ?

अनियमितता र ठगीका मुख्य पात्र भनिएका डा. बलराम पाठकले आफूले अनियमितता वा ठगी केही नगरेको बताएका छन् । उनले आफूले अध्यक्ष छोडेको २ वर्ष भइसकेको र उक्त सहकारीमा १ वर्ष अगाडीबाट मात्रै समस्या देखिएको बताएका छन्। 

पाठकले अहिलेको सञ्चालक समितिले समस्या समाधानको प्रयास गरिरहेको र पूर्व अध्यक्षका नाताले समस्या समाधानमा आफूले पनि सघाइरहेको दाबी गरेका छन् । 

‘मैले छोडेको २ वर्ष भयो, सहकारीमा समस्या देखिएको १ वर्ष भयो’ उनले भने, ‘वर्तमान सञ्चालक समितिले समस्या समाधानको प्रयास गरेको छ, मैले यसमा सहयोग गरिरहेको छु ।’

उनले समस्या समाधानकै लागि सहकारीले विभिन्न ठाउँको जग्गा बेच्ने र जग्गा लिन चाहने बचतकर्तालाई जग्गा दिएर भएपनि समस्या समाधान गर्ने प्रयासमा लागिएको बताए।

‘दशैँ अगाडी नै ५०/६० करोड बराबरको हिसाब मिल्दैछ, केहीले जग्गा नै लिने भनेर जग्गा पास गराउने प्रक्रिया पनि सुरु भएको छ, पौष मसान्तभित्र आधा समस्या समाधान हुन्छ भन्ने लागेको छ’ पाठकले भने, ‘आधा जति सदस्यले कन्फर्म जग्गा लिनुहुन्छ, जग्गा लिनेहरुको समस्या आउँदो पौष मसान्तभित्रै सकिन्छ, जग्गा होइन हामीलाई पैसा नै चाहिन्छ भन्नेहरुका लागि पनि हामीले आउँदो असार मसान्तभित्र सबै बचत फिर्ता गरिसक्ने भनेर लागिरहेका छौँ ।’

जग्गा कति छ भन्ने जिज्ञासामा भने उनले यति नै छ भन्न नसकिने तर, पहिला नै किनेर राखेको र बैना गरेर पास हुन बाँकी जग्गा पनि अब सहकारीले आफ्नो नाममा ल्याएर त्यो जग्गा बेचेर बचतकर्ताको पैसा फिर्ता गर्ने प्रयास भइरहेको बताए ।

‘सहकारीका नाममा ललितपूर, काभ्रे, भक्तपूर र झापामा जग्गा छ, त्यहीँ जग्गाबाट हिसाब मिलाउँछौँ’ उनले भने, ‘हेटौँडामा जग्गा छ भनेर हामीले भनेका छैनौँ, नभएको जग्गा देखाउने कुरा हुँदैन । तर हामीले भएका ठाउँमा यस्तो ठाउँमा जग्गा छ, त्यो लिन चाहानुहुन्छ भने पास गर्दिन्छौँ भनेका हौँ, आधा जति सदस्यहरु जग्गा लिन तयार पनि हुनुहुन्छ ।’ 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved