ललिता निवासको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न, लालपूर्जा भएका सबै शंकास्पद ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 10:18:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ललिता निवास प्रकरणमा अनुसन्धानको प्रक्रियालाई लिएर गम्भीर प्रश्न उब्जिएको छ। तत्कालीन सरकारले अधिग्रहण गरेको ललिता निवासको जग्गालाई व्यक्तिको नाममा ल्याउन निर्णय गर्ने निर्णयकर्ता र किर्ते कागजातका आधारमा आफ्नो नाममा ल्याउनेलाई भन्दा खरिदकर्तालाई पहिलो निशानामा राख्नुले अनुसन्धानको प्रक्रियामाथि प्रश्न उब्जिएको हो। 

तत्कालिन भीम शमशेरका नाती सुवर्ण शमशेरको नाममा रहेको जग्गालाई व्यक्तिको नाममा ल्याउनलाई सघाउने व्यक्ति र जग्गा प्राप्ति गर्ने व्यक्तिलाई अनुसन्धानको पहिलो घेरामा राखिनुपर्नेमा जग्गा खरिदकर्तालाई पक्राउ गरिनुले अनुसन्धानमाथि प्रश्न उठाउने ठाउँ रहेको जानकार बताउँछन्। 

तत्कालिन राजा महेन्द्र वीरविक्रम शाहदेवको पञ्चायती व्यवस्थाको घोषणा पश्चात भारत पलायन भएका कारण तत्कालिन अवस्था अर्थात हक दावी हुन बाँकी उक्त जग्गा सुवर्ण शमशेरको हकवाला सुनीति राणा, शैलेजा राणा तथा रुक्म शमशेर र कञ्चन शमशेरको हकवाला शैलजा राणा, हेमन शमशेर र हटक शमशेरले प्राप्त गरेको देखिन्छ।

 २०४९ साल कात्तिक २५ र पुष २५ मा दुई चरणमा मोहीसहितको जग्गा धनी प्रमाण पूर्जा यी व्यक्तिको नाममा गएको देखिन्छ। 

भक्तपुर मालपोत कार्यालयको मालपोत अधिकृत गेहनाथ भण्डारीले बालुवाटार स्थित ललिता निवासको जग्गा फिर्ता माग्नलाई सुवर्ण शमशेरको कोही पनि हकदार नआएकोबारे तत्कालिन सरकारका सहसचिव सुधिर शाहलाई जानकारी गराएपछि उनीहरुको सहयोगमा राणा परिवारका यी सदस्यहरुको नाममा मोहीसहित उक्त जग्गा आएको देखिन्छ। 

मोही हटाउनलाई २०५० सालमा परेको उजुरीबारे भुमि सुधार कार्यालय काठमाडौँले २०५७ माघ १० मा मोही र राणा परिवारका यी सदस्यहरुबीच जग्गा बाँडफाँड गरिदिने निर्णय गरेको छ। मोहीले पाएको जग्गा मध्ये एक हिस्सा सोही बेला मोहीका तर्फबाट मुद्दा लडेका डिल्लीबजार चारखाल मालपोत कार्यालयका लेखन्दास रामकुमार सुवेदीको नाममा पनि गएको छ। 

सुवेदीले अर्का लेखनदास राममणिमार्फत आफ्नो नाममा आएको मध्ये आधा डा. शोभाकान्त ढकालको नाममा राखेको र मोहीहरुको नामको जग्गाको एक भाग आफ्नी श्रीमती माधवी सुवेदी र डा. शोभाकान्त ढकालको श्रीमती उमा ढकालको नाममा नामसारी गरिएको र यो क्रम २०६९ साल सम्म चलिरहेको देखिन्छ। 

सुवर्ण शमशेरको नामको जग्गा उनको हकवाला राणा परिवारको सदस्यको नाममा ल्याउनलाई सघाएका कानून व्यवसायी युवराज कोइराला, डा शोभाकान्त ढकाल र सुवेदी मिलेर मोहीको, राणा परिवारको र राणा परिवारबाट व्यक्तिको नाममा गएको जग्गा खरिद गरेको थियो। यी तीन भाईले २०६१ साल पुष ९ गतेसम्म उक्त जग्गा आफ्ना, आफन्त र भाटभटेनी डेभलपर्स र डीएलएको नाममा खरिद गरिदिएको बिजपाटीलाई प्राप्त कागजातमा उल्लेख छ। 

यसरी खरिद गरिएको जग्गा २०६२ सालमा हालमा साविक गराई विभिन्न व्यक्तिलाई जग्गा बिक्री गर्दा प्राप्त भएको कमिसनमा कुरा नमिलेकाले युवराज कोइराला र रामकुमार सुवेदीबीच मनमुटाब भएको थियो। त्यसपछि सरकारी जग्गामा भ्रष्टाचार भएको भन्दै यो झगडाले गृह हुँदै राजनीतिमा प्रवेश पाएको त्यतिबेलाका एक जना जानकारले बताए ।

सुवर्ण शमशेरको नामको जग्गा सरकारी भएको, किर्ते कागजातका आधारमा नक्कली मोहीको नाममा जग्गा लगिएको र त्यसलगत्तै मोही बनाइएकाहरुबाट खरिद गरेर आफ्ना आफन्त र कम्पनीको नाममा राखेर अरुलाई बिक्री गरिएको त्यससम्बन्धी अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोको दावी छ। 

अहिले जो-जसको नाममा सुवर्ण शमशेरको उक्त जग्गा देखिएको छ, उनीहरुले नै नक्कली मोही खडा गरेर विभिन्न प्रपञ्च रचेर उक्त जग्गा आफ्नो नाममा ल्याइ अरुलाई बिक्री गरेको ब्यूरो बताउँछ।

चार चरणमा विभिन्न माध्यममार्फत ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको देखिएकाले त्यसकै अनुसन्धानका लागि शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताएका छन्। उनकाअनुसार यस प्रकरणमा असार १२ मा केही आरोपितलाई पक्राउ गरी अघि बढेको अनुसन्धानका क्रममा हालसम्म २३ जना पक्राउ परेको र अदालतको आदेशमा एक जना सञ्चार सचिव कृष्णबहादुर राउत रिहा भएका छन्। 

पक्राउ परेकामध्ये ७ जना नक्कली मोहीमध्येका हुन् । कुल २८७ रोपनी मध्ये २०४९ का विभिन्न मितिमा राणा परिवारको नाममा १ सय १२ रोपनी ४ आना जग्गा आएको, मोही र केही व्यक्तिको नाममा २२ रोपनी जग्गा पुगेको, अर्को १२ र साढे ४ आना गरी ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको आरोप छ। 

तर सुवर्ण शमशेरको नामको जग्गा राणा परिवार, व्यक्ति र संंस्थाको नाम ल्याउने निर्णय गर्ने निर्णयकर्ताहरु, प्राप्ति गर्ने राणा परिवारका सदस्यहरु, सुवर्ण शमशेरको नामको जग्गा राणा परिवारका सदस्यको नाममा पुर्याउन सघाउने कानुन व्यवसायी र मालपोतका कर्मचारीहरु, मोही बन्न तयार हुने र मोहीबाट जग्गा लिने कर्मचारी तथा व्यक्तिहरुलाई कारबाही हुनुपर्नेमा लालपूर्जा देखेर जग्गा खरिद गर्नेहरुलाई समाएर अनुसन्धान गरिनुले अनुसन्धानमाथि प्रश्न उब्जिएको जानकार बताउँछन्। 

'ललिता निवास प्रकरणमा जग्गा खरिद गर्ने व्यक्तिहरु पक्राउ परेको घटनाले लालपूर्जा भएको जग्गा  मालपोत कार्यलयबाटै खरिद गर्ने जो कोही व्यक्ति पनि शंकाको घेरामा पर्न सक्ने देखियो, यहाँ कुन जग्गा कस्तो हो भनेर भन्दिने काम मालपोत कार्यलयको हो, जग्गा कति नम्बरी, कति भनेर खरिदकर्तालाई कसरी थाहा हुन्छ ?' स्रोतले भन्यो।

यो पनि: 

- फेरि उप्कियो ललिता निवास प्रकरण : तत्कालिन मालपोत प्रमुखसहित थप पाँच पक्राउ

- ललिता निवास जग्गा प्रकरणमा मेरो गल्ति छैन : नेता नेपाल

प्रचण्डको प्रोपोगाण्डाले निजामती कर्मचारी र उद्योगी-व्यवसायीमा चरम निरासा

- विष्णु पौडेलका छोरा ललिता निवासको जग्गा फिर्ता गर्न तयार, चलेन मुद्दा

- ललिता निवास प्रकरण: थप ५८ जनाको बयान लिदै अख्तियार (सुचीसहित)


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved