अब पनि यी चार साथिको 'कथा' जस्तो नहोस् नेपालको अर्थतन्त्र, वर्षमानले गरुन् 'ब्रेक थ्रु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 06:57:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अर्थतन्त्रमा पछिल्लो समय अचम्मको परिस्तिथि सिर्जना भएको छ। जिम्मेवार निकायहरु अर्थतन्त्रका सबै सूचक सकारात्मक भएको दाबि गर्छन तर उनीहरुको दाबि बिपरित दयनीय अवस्थामा आर्थिक गतिविधिको अवस्था रहेको छ। 

बैंकमा अत्यधिक तरलता भएकाले बैंकहरु ३ प्रतिशत ब्याजमै बढी भएको पैसा राष्ट्र बैंकलाई दिन तयार देखिएका छन्। बिदेशी मुद्रा संचिति र रेमिट्यान्स बढेको बढ्यै छ तर आयात निर्यात र कुल बस्तु ब्यापार घाटा घटेको छ। यता सरकारको खर्च भन्दा राजश्व संकलनमा एक सय अर्ब बढीको अन्तर छ । यी सबै कुराले अर्थतन्त्रलाई चाहिने स्रोत साधन छन् तर त्यसको उचित व्यवस्थापन हुन सकिरहेको छैन भन्ने देखाउँछ।

अर्थतन्त्रका सूचक सकारात्मक देखिदै गर्दा पनि आर्थिक गतिबिधि ठप्प जस्तै अवस्था बन्न पुगेको छ। जसले गर्दा धेरै उद्योग व्यवसाय बन्द भईसकेका छन् भने चलेकाहरु पनि ३० प्रतिशतको क्षमतामा मात्रै जेनतेन चलेका छन।हिजो ऋण लिंदाको भन्दा बढी ब्याज अनि बढ्दो महंगीका कारण ऋण लिएर ब्यापार व्यवसाय गर्नेहरु अब सडकमा आउने अवस्थामा छन्। 

कोभिडका कारण थलिएको ब्यापार व्यवसाय उठाउनलाई कर्जा लिन चाहेर पनि लिनै नसक्ने नीतिहरु बनेका छन। जसले गर्दा एक से एक राम्रा ब्यापार व्यवसाय अहिले बन्द हुने अवस्थामा छन् भने यसका संचालकहरु विदेश पलायनको तरखरमा देखिन्छन। 

के र कति कारणले नेपालको अर्थतन्त्रको यो हरीबिजोग भयो भन्नलाई कुनै गाह्रो कुरा छैन। यो चार साथिको व्यवसायिक कथा हेर्दा पुग्छ। 

चार जना साथि मिलेर पेट्रोल पम्प खोल्ने योजना बनाउछन। र उनीहरुले एउटा चार तले घर भाडामा लिन्छन र तीन तलामाथि पेट्रोल पम्प खोल्छन तर तीन तलामाथि खोलिएको पेट्रोल पम्प नचलेपछि यसलाई बेचेर रेष्टुरेन्ट खोल्छन।  

तर तीन तलामति खोलिएको रेष्टुरेन्टमा पनि कोहि आउदैनन। ग्राहक नै न आएपछि चार जना साथीले अब रेष्टुरेन्ट बेचेर ट्याक्सी व्यवसाय गर्ने निर्णय गर्छन। अनि चार जना मिलेर ट्याक्सी पनि किन्छन। चार जना एउटा ट्याक्सीमा बसेर ग्राहक खोज्न बजार निस्किन्छन। महिनौ बित्दा पनि एक जना ग्राहक नपाएपछि ट्याक्सी बेच्ने निर्णयमा पुग्छन।  

बेच्न लैजादै गर्दा ट्याक्सी हिलोमा फस्छ। हिलोमा फसेको ट्याक्सी निकाल्न चारै जनाले चार तिरबाट समान बल लगाएर धकेल्छन।  जति धकेल्दा पनि ट्याक्सी हिलोबाट न निस्केपछि चारै जना साथि चार कुनामा बसेर एक अर्कालाई गालि गर्दै बस्छन। 

यो कथामा बुझ्नुपर्ने कुरा तीन तलामाथि गाडी आउदैनन भन्ने थाहा नहुदा पेट्रोल पम्प डुब्यो। र पेट्रोल पम्पको ठाउँमा रेष्टुरेन्ट खोलेपनि पेट्रोल पम्प पाइन्छ भन्ने टाँसिएको ब्यानर नहटाउदा रेष्टुरेन्ट चलेन।  र एकै ट्याक्सीमा चार जना हिंडेर ग्राहक खोज्न हिन्दा ट्याक्सी पहिल्यै फुल भएको देखेर ग्राहक नआउदा ट्याक्सी व्यवसाय चलेन। र हिलोमा गाडिएको ट्याक्सी निकाल्नलाई सहि ठाउँमा बल प्रयोग गर्नुपर्नेमा समान बल लगाउदा ट्याक्सी हिलोबाट निस्किएन। 

जसरी चार साथीबीच समस्याको कारणबारे छलफल तथा समाधानको लागि समन्वय भएन र अन्तिममा एक अर्कालाई दोषारोपण गरेर बस्नुपर्ने अवस्था आयो। अहिले नेपालको अर्थतन्त्रमा पनि ठिक यस्तै अवस्था बन्न पुगेको छ। अर्थतन्त्रका मुख्य जिम्मेवार मानिएका अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्था र निजि क्षेत्रका संघ संस्थाहरु समस्याको कारण र यसको निराकरणको लागि एक ठाउँ बस्नुपर्नेमा चार कुना फर्किएर एक अर्कालाई दोषारोपणमै समय व्यथित गरे।  

जुन कुरा तत्कालिन अर्थमन्त्री, गभर्नर, बैंकर , व्यवसायीहरुले बिभिन्न किसिमका सार्वजनिक फोरममा बोल्ने क्रममा देखिन्थ्यो। कतिसम्म भने, नेपाल उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बैंकर र व्यवसायीबीच खुलेरै एक अर्कालाई दोष लगाउने काम भयो भने अर्थमन्त्री र गभर्नरबीच पनि लामै समय 'वाक युद्द' चलिरह्यो। जसको मुल्य नेपालको अर्थतन्त्रले चुकाईसकेको छ।  

पछिल्लो समय सत्ता समीकरण बदलिएसंगै अर्थमन्त्रीको स्वागत कार्यक्रममा गभर्नरका अबिब्यक्तिले अब केहि समन्वय हुने अपेक्षा गर्न सकिन्छ भने अर्थमन्त्रीसंग बैंकर र व्यवसायीको भेटमा भएका कुराकानीले पनि केहि सकारात्मक संदेश बजारमा गएको छ। आशा छ, अर्थमन्त्री, गभर्नर, बैंकर र व्यवसायीले यी चार साथीको जस्तो गल्ति नगरी एक ठाउँ आएर हिलोमा गढेको गाडी जस्तै अप्ठ्यारोमा परेको अर्थतन्त्रलाई लयमा ल्याउनेछन। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved