तत्काल गम्भीर कदम नचाले नेपालमा पनि श्रीलंकाको जस्तो संकट आउँछ : प्रा.डा. विश्वम्भर प्याकुरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 06:10:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानको लागि गम्भीर भएर कदम नचाले श्रीलंकाको जस्तो संकट आउनसक्नेतर्फ सचेत गराएका छन् । अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार र सरोकारवाला निकायले गम्भीर भएर पहल लिनुपर्नेमा उनको जोड छ। 

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले श्रीलंकाले सुरु सुरुमा अर्थतन्त्रमा समस्या हुँदा बेवास्ता गरेकोले आजको अवस्था व्यहोरेको पनि उल्लेख गरे । उनले भने,‘आजभन्दा तीन वर्ष अघि श्रीलंकामा जे खालको लक्षण अर्थतन्त्रमा देखियो, अहिले नेपालका मूलभुत आर्थिक परिसुचकहरु कताकत श्रीलंकाको तीन वर्ष अघिको जस्तो देखिएको छ । त्यतिवेला श्रीलंकामा बेवास्ता गरिएको थियो । अहिले उसले गम्भीर समस्या भोगिरहेको छ। त्यही भएर नेपाल गम्भीर हुनुपर्छ । अहिले हाम्रो सम्पूर्ण सरकार, सरकार सञ्चालन प्रणाली नै कस्तो देखियो भने पब्लिक सेक्टरबाट कराइरहने, मिडियामा हामी बोलिरहने, तर अर्थतन्त्रको समस्या समाधानको ालगि सरकारको तर्फबाट कुनै चासो देखिएन । नेपालको सरकार सञ्चालन प्रणाली नै ज्यादै नै फितलो छ ।’

उनले आफूहरुले मुलुकको अर्थतन्त्रको समस्या समाधानको लागि सकारात्मक सुचना दिएको पनि सुनाए । उनले श्रीलंकाको संकटबारे प्रकाश पार्दै भने,‘श्रीलंकाले ऋण बढाउँदै गएको हो, बीआरआईअन्तर्गत मात्रै ऋण थिएन । श्रीलंका र चीनबीच राम्रो सम्बन्ध थियो । चीनसँग लिएको ऋणबाट धेरै असर पर्ने थिएन । श्रीलंकामा वैदेशिक पुँजीको अभाव देखिएको थियो ।’

उनले नेपालमा रेमिट्यान्सको सूचकमा पनि उतारचढाव आएको स्मरण गराए । उनले नेपालका आर्थिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने निकायहरुबीच नै समन्वय नभएको गुनासो पोखे । उनले भने,‘योजना आयोग एकातिर छ, राष्ट बैंक अर्कोतर्फ छ, र अर्थ मन्त्रालय अर्कोतर्फ छ । यी तीनै निकाय एकैतर्फ हुनुपर्छ । श्रीलंकामा करप्सन बढ्यो । परिवारवाद हाबी भयो । नेपालमा पनि त्यही अवस्था छ । ठूला–ठूला भ्रष्टाचार काण्ड त कति छन् । पैसा रोल हुनुपर्छ । अनिमात्रै विकास हुन्छ । पुँजीगत खर्च हुनसकेको छैन् । नेपाल आयल निगम घाटामा छ। नेपाल एयरलायन्स घाटामा छ। सरकारले किन सेतो हात्ती पालेर बस्ने ? यसलाई पूनसंरचना गर्ने हो कि ? रोजगारी पनि पटक्कै छैन् । १९ देखि २९ वर्षको उमेरको समूह त १९ प्रतिशतभन्दा बढि बेरोजगारी छ । फरेन एक्सचेन्ज रिजर्भको पनि त्यही गति छ। आज ९ खर्बको रिजर्भ छ ।’

सत्तापक्षीय गठबन्धनको बैठकमा कहिल्यैपनि अर्थतन्त्रको बारेमा छलफल नभएको उनको गुनासो छ । उनले भने,‘बरु, चुनावी तालमेलको विषयमा कुरा भएको छ । अहिले खाद्यान्नको मूल्य बढेको छ । हाम्रो उत्पादन खर्च पनि बढिरहेको छ । भारतसँग कुरा गर्नुपर्छ । भारतबाट आउने यी–यी वस्तुमा कर लगाउँछौं भनेर भन्नुपर्यो । हामीले आँट देखाउनुपर्छ ।’

उनले अहिले दलहरु चुनावको मुखमा रहेको सुनाए । मन्त्रीहरुले प्रधानमन्त्रीलाई नटेरेको पनि उनको गुनासो छ। उनले भने,‘प्रधानमन्त्रीलाई कसैले टेर्दैन् । नेपालको अर्थतन्त्रको अवस्थाबारे हामीले सकारात्मक सुचना दियौं भनेपनि राम्रो हुन्छ, सरकारलाई सतर्क बनाउनुपर्छ । तर नेपालमा गम्भीरता जुन देखाउनुपर्ने हो, त्यो देखाईएको पाईएन । मुलुकमा उत्पादन भएको अन्नलाई किन्नुपर्यो । स्टोरेज फ्यासिलिटी छ भन्ने कुरा तथ्यांकमा छ, तर व्यवहारमा ध्यान दिनुपर्छ । व्यापार घाटा ठूलो छ, व्यापारलाई सहजीकरण गर्नुपर्छ । सरकारले होमवर्क गनुपर्छ । रेमिट्यान्स किन घटेको हो ? करप्सनको केश टुँगो लगाउनुपर्छ । तर, यहाँ त कुनै कुरा भएको छैन् । नेपालका शासकहरुले चेत राख्नुपर्छ ।’ 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved