प्रकाशकीय : बिजपाटी नवौं वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2023 | 09:56:30 AM मा प्रकाशित

laxmi sunrise bank

नेपालको आर्थिक पत्रकारितामा समर्पित भई अर्थतन्त्रको विकासमा टेवा पुर्याउने संकल्पसाथ बिजपाटी डटकमको प्रकाशन सुरु भएको हो । सुरुवाती चरणमा नै राष्ट्रिय जीवन र अर्थतन्त्रलाई दीर्घकालीन प्रभाव पार्ने विनाशकारी भूकम्प, संविधान सभाबाट नयाँ संविधान जारी हुने संयोग तथा भारतको अघोषित नाकाबन्दी आदिको अनुभवले हामीलाई क्रमशः परिपक्व बनाउँदै अघि बढ्न सघायो। 

भूकम्पको कारणले थिलथिलो भएको अर्थतन्त्रले लय लिन नपाउँदै कोभिड–१९ को महामारीले आर्थिक गतिविधि ठप्पप्रायः हुनपुग्यो । यद्यपि नेपालको अर्थतन्त्र कोभिडको असरबाट मुक्त भएर तङ्ग्रिने क्रममा नै छ । समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने घटनाबाट सञ्चार जगत् अछुतो रहनु सम्भव थिएन । राष्ट्रिय अर्थतन्त्रमा आईपरेका अनेक प्रतिकुलताबीच अविचलित भई हामी आठौं वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेका छौँ। आजको यो अवस्थासम्म आइपुग्नलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न स्वरुपमा साथ दिने सम्पूर्ण सहयोगी हातहरुलाई स्मरण गर्न चाहन्छौं र आगामी दिनमा यस्तै बलियो साथ रहनेमा विश्वस्त छौं। 

यसबीचमा नेपाली समाजको हरेक तह र तप्का समृद्धिको मुद्दामा केन्द्रित छ । नयाँ संविधानको प्रस्तावनामा नै समृद्धको आकाङ्क्षा प्रतिबिम्वित भएको छ । समृद्ध मुलुक निर्माण गर्ने आकाङ्क्षा पूरा गर्न पन्ध्रौँ आवधिक योजनामा “समृद्ध नेपाल, सुखी नेपाली“ भन्ने दीर्घकालीन लक्ष्य राखिएको छ। आर्थिक वर्ष २०८०/८१ देखि दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ । 

वि.सं. २०८७ प्रतिव्यक्ति आय २९०० डलर र वि.सं. २१०० सम्ममा १२ हजार १ सय डलर पुर्याउने सरकारको लक्ष्य छ। दिगो र रोजगारमुलक आर्थिक वृद्धि हासिल गरी समृद्ध नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने अभियानमा सञ्चार माध्यमको भूमिका अझै व्यवस्थित र प्रभावकारी हुनुपर्छ भन्नेमा दुईमत छैन। 

तीव्रत्तर आर्थिक वृद्धि सरकारको लक्ष्य भए तापनि निजी क्षेत्रको भूमिकाबिना त्यो सम्भव हुँदैन । समृद्धिका लागि कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदानमा बढोत्तरी हुनुपर्छ । विकास रणनीति, योजना र हाम्रो सामाजिक परिपाटीमा  देखिएका बेथिति निर्मूल नभएसम्म समृद्धिको चरणमा पुग्न सकिँदैन भन्ने तथ्य स्वयंसिद्ध छ। अतः आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने लक्ष्यको प्रत्येक चरणमा निजी क्षेत्रको योगदानमा कमी आउन नदिई राज्य र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने अभिभारा सञ्चार क्षेत्रको काँधमा छ । विकासको परम्परागत तौरतरिका र बेथिति, विसङ्गगतिका विरुद्ध खबरदारी गर्दै समृद्ध मुलुक बनाउन टेवा पुर्याउने कार्यमा हामी प्रतिबद्ध छौं।

समृद्ध नेपालको खाका बनाएर त्यही अनुरुपको नीति निर्माण गरी कार्यान्वयनमा जाँदा लागि निजी क्षेत्रलाई विश्वासमा लिइनुपर्छ । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट समृद्धिको संकल्पलाई साकार रुप दिनका लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका छ । 

नेपालको संबिधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा परिभाषित गरेको छ भने जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने प्रमुख उद्देश्य राखेको छ। नेपालको एक जिम्मेवार आर्थिक मिडिया हुनुको नाताले समृद्ध नेपाल निर्माण गर्ने अभियानमा एउटा ईट्टा थप्ने काम बिजपाटीले गर्नुपर्छ भन्नेमा हामी स्पष्ट र विश्वस्त छौँ। 



अध्यक्ष तथा सम्पादक

मोहम्मद अज्मत अलि


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved