नयाँ आयोजना बनेपछि २० देखि २५ प्रतिशत लाभांश दिन सक्छौ: अध्यक्ष थापा, सिनर्जी पावर

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Sep 05, 2023 | 10:16:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद बिक्री खुला गरिरहेको छ । कम्पनीले १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो।

कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता शेयर निष्काशन गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रहेको छ। हकप्रदमा भदौ २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीलेजनाएको छ । 

यसै सन्दर्भमा बिजपाटीले कम्पनीको अवस्था, भावी योजना, हकप्रदबारेको जानकारी लगायतका समसामयिक विषयमा कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापासँग संक्षिप्त कुराकानी गरेको छ ।  

प्रस्तुत छ कुराकानीको अंश 

अहिले कम्पनीको आयोजनाको अवस्था कस्तो छ ?

हाम्रो सिप्रिन खोला आयोजना बनेर विद्युत उत्पादन गरेको १०-११ वर्ष भईसकेको छ ।  बीचमा भूकम्पको कारण आयोजनामा क्षति पुग्दा २ वर्ष विद्युत उत्पादन भएन। त्यसपछि भने पुननिर्माण सम्पन्न गरेर नियमित विद्युत उत्पादन भईरहको छ । 

असार देखि असोजसम्म हाम्रो आयोजना पूर्ण क्षमतामा अर्थात् १० मेगावाट नै उत्पादन हुन्छ ।   तर गत वर्षदेखि विद्युत प्राधिकरणले प्रति दिन ३ देखि ४ मेगावाट मात्र उत्पादन गर्न भनेको छ ।  १० मेगावट नै उत्पादन गर्न सकिने भएपनि आधा भन्दा कम उत्पादन गर्नु पर्ने बाध्यता छ ।  यसले गर्दा आम्दानी घट्ने र प्रतिफल घट्ने समस्या छ ।  सोहि कारण हामीले २२ मेगावाट क्षमताको मध्य होंगुखोला ए जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेका छौ । त्यसमा लगानी गर्न नै हकप्रद निष्काशन गरिएको हो । यो आयोजना राम्रो छ ।  यो आयोजना बनेपछि हामी लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छौ ।  

हकप्रदमा कति आवेदन पर्ला ?

हामीले प्रचारप्रसार गरिरहेका छौ। एसएमएस मार्फत पनि जानकारी गराएका छौ । हकप्रदमा किन पहिले नै पैसा रोक्का गरेर राख्ने भन्ने लगानीकर्ताको मानसिकता हुने भएकोले अन्तिममा मात्र आवेदन गर्ने गर्छन् ।  करिब करिब शतप्रतिशत नै आवेदन पर्छ भन्ने हाम्रो विश्वास छ ।  

हकप्रदबाट आएको रकम सबै नयाँ आयोजनामा लगानी गर्ने हो ?

हामीले २२ मेगावाट क्षमताको मध्य होंगुखोला ए जलविद्युत आयोजनामा ४४ करोड लगानी गर्ने भनेका छौ । हकप्रदबाट मोटामोटी ४१ करोड आउछ।  त्यो सबै नै आयोजनामा लगानी गर्ने छौ । बाँकी रकम हाम्रो सेभिङबाट लगानी गर्छौ । हामीले ऋण लिएर लगानी गरिसकेका छौ । अब हकप्रदबाट प्राप्त हुने रकमको ऋण तिने हो । 

मध्य होंगुखोला ए जलविद्युत आयोजना कस्तो खालको हो ?

यो आयोजना सोलुखुम्बु जिल्लाको पूर्वी भेगमा अवस्थित छ। यो दुधकोशी सहायक नदी हो ।  एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' निर्माण गरिरहेको छ।  एपेक्स मकालुमा सिनर्जीको ५० प्रतिशत स्वामित्व रहेको छ । यस आयोजनाको हाइड्रोलोजी राम्रो छ । रन अफ रिभर प्रक्तितीको आयोजना हो । सल्लेरीबाट झन्डै ६० किलोमिटर पूर्व गएपछि आयोजनास्थल पुगिन्छ । हाल आयोजनाको ३५ प्रतिशत प्रगति भएको छ ।

हाल सिनर्जीको कुल ऋण कति बाँकि छ ?

सिनर्जीको ऋण करिब ६२-६५ करोड छ । यसमा मध्य होङ्गुमा लगानी गर्न लिएको ऋण पनि समावेश छ। हकप्रदको रकम आएपछि ऋण तिर्ने योजना छ । त्यसपछि ३५-४० करोड ऋण मात्र बाँकि रहन्छ ।

हकप्रदले चुक्ता पुँजी बढ्दा अब कति लाभांश दिन सक्छ ? 

निर्माण सम्पन्न भएर विद्युत उत्पादन भईसकेको अवस्थामा भूकम्पको कारण आयोजनामा ठुलो क्षति भयो । त्यो पुनर्निर्माण गर्यौ । हामीलाई त्यसको नोक्सानी रिकभर गर्न धरै समय लाग्यो । त्यसपछि हामीले आर्थिक वर्ष २०७६/७७ र ७७/७८ मा बोनस शेयर दिएका थियौ । यस पटका पनि लाभांश दिन सक्ने क्षमता छ । हकप्रदपछि हाम्रो पुँजी १२० करोड हुन्छ । अहिले कै अवस्थामा राम्रो आम्दानी छैन । तर हामीले लगानी गरेको नयाँ आयोजना बनिसकेपछि वर्षिक २० देखि २५ प्रतिशत लाभांश दिन सक्छौ ।

लगानीकर्तालाई के संदेश दिनु हुन्छ ?

हाम्रो कम्पनीको भविष्य राम्रो छ । हामी नयाँ आयोजनामा लगानी गर्दै छौ । २ देखि ३ वर्षपछि हामी ऋण मुक्त हुँदै छौ । अहिले गरेको लगानीले राम्रो आम्दानी दिन्छ । त्यसपछि लगानीकर्तालाई पनि रम्रो प्रतिफल दिने विश्वास दिलाउन चाहन्छौ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved