किन आफैँलाई गोली हान्छन् ड्युटीमा खटिएका प्रहरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 14, 2020 | 11:58:47 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय ड्युटीमा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका जवानहरुमा आफैँलाई गोली हान्ने प्रवृत्ति बढेको छ । यही फाल्गुण २५ गते सर्लाहीमा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हाने । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीया आन्नद मिश्रा आफैंले बोकेको एसएलआर आफ्नै घाटीमा प्रहार गर्दा उनी गम्भीर घाइते बने ।

फागुन २ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आफैँलाई गोली हाने । महोत्तरी घर भएका उनले आफ्नै पेटमा गोली हानि गम्भीर घाइते बने । 

जाजरकोटको नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफैँलाई गोली हानी आत्महत्या नै गरे । बाजुराका ३५ वर्षीय कठायतले २०७६ पौष २५ गते आफैंलाई कन्चटमा गोली हाने आत्महत्या गरे । 

त्यसो त नेपालमा मात्रै यस्ता घटना हुँदैनन् । केही समयअघि भारतमा एक प्रहरी जवानले आफ्नो बिहेमासमेत छुट्टि नपाएको भन्दै आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । आफैँलाई गोली हानेर आत्महत्या गर्नेमा सनादेखि ठूलो तहका व्यक्ति समेत छन् । १८ अप्रिल २०१९ मा पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफैंलाई गोली हानी आत्महत्या गरे । भ्रष्टाचारको आरोप लागेका गार्सियालाई गिरफ्तार गर्न प्रहरी उनको घरमा पुगेपछि उनले आत्महत्या गरेका थिए । 

यी त केही उदाहरण मात्रै हुन् । वर्षेनी आफैँलाई गोली हानेर आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्ने प्रहरी जवानहरुको संख्या बढ्दो छ । 

अनुसन्धानले के भन्छ ? 

नेपाल प्रहरीले यस्ता घटनाको छुट्टाछुट्टै अनुसन्धान गर्छ । हरेक घटनाको अनुसन्धान गरेर अदालतमा फाइल बुझाउनुपर्ने भएकाले प्रहरीले अनुसन्धान गर्ने गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी समेत रहेका ‘डिआईजीपी’ शैलेश थापा क्षेत्री यस्ता घटना आफैँमा फौजदारी अपराध रहेको बताउँछन् । 

‘यस्ता घटना आफैँमा फौजदारी अपराध अन्तर्गत पर्छन्’ उनले भने, ‘जुनसुकै फौजदारी अपराधको पनि अनुसन्धान गरेर अदालतसमक्ष फाइल बुझाउनुपर्ने भएकाले प्रहरीले गरेको चाँही अनुसन्धान नगर्ने अरुले गरेको फौजदारी अपराधको चाँही अनुसन्धान गर्ने भन्ने हुँदैन, हामीले यस्ता घटनाको पनि अनुसन्धान गर्छौँ ।’ 

प्रहरी अनुसन्धानमा आफैँलाई गोली हान्ने कारण भने प्रायःजसो एउटै भेटिएको क्षेत्री बताउँछन् । ‘कुनै कुनै बाहेक सबैजसो यस्ता घटनाको कारण एउटै नै देखिन्छ’ उनले भने, ‘प्रहरी भनेको सेवा हो, संसारभरी नै प्रहरी भनेको परिवारभन्दा टाढा रहेर देश र जनताको सेवा गर्ने नै हो । पारिवारिक र संगठनको सम्बन्ध मिलाउन नसक्दा यस्ता घटना भएको पाईन्छ ।’ 

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी प्रविन कुमार श्रेष्ठ भने पारिवारिक कारणभन्दा पनि लापरबाहीले यस्ता घटना हुने गरेको बताउँछन् । ‘हतियार बोक्दा, हतियारको सरसफाई गर्दा लापरबाही हुँदा यस्ता घटना हुने गरेका छन्’ उनले भने, ‘घटना पश्चात फोन रेकर्ड सुन्दा वा अन्य अनुसन्धान गर्दा घरायशी समस्या पनि देखिन्छन् ।’ 

कस्ता उमेर समूहका बढी ?

एकतर्फी प्रेम सम्बन्धमा रहेका जवानहरुबाट यस्तो घटना हुने शसस्त्रका डिआईजी श्रेष्ठको भनाई छ । ‘विशेष गरी अविवाहित र एकतर्फी प्रेममा रहेका प्रहरीमा यस्ता घटना हुने गरेको पाइन्छ’ उनले भने, ‘प्रेम सम्बन्धमा रहेकाहरुको पनि सम्बन्धमा केही खटपट आउँदा आत्महत्याको प्रयास गर्ने गरेको पनि भेटिन्छ ।’

नेपाल प्रहरीका अधिकारीले पनि बिवाहितको तुलनामा अबिवाहितहरुमा यस्तो घटना बढी देखिएको बताउँछन् । उमेर समूह हेर्ने हो भने २३ देखि ३० वर्षभित्रका जवानहरु आत्महत्याको प्रयास गर्ने गर्छन् । योभन्दा बढी उमेर भएकाहरुको हकमा भने पारिवारिक सम्बन्ध र आर्थिक डिप्रेशन नै मुख्य कारण देखिने नेपाल प्रहरी र शसस्त्र प्रहरीका अधिकारीहरुको भनाई छ । यस्ता घटनामा महिला प्रहरी प्रायः हुँदैनन् । 

कमाण्डरको भूमिका

केही दिनअघि मात्रै नेपाल प्रहरीको एआईजीबाट अवकाश पाएका धिरु बस्न्यात यस्ता घटना हुनुमा सम्बन्धित कमाण्डरको भूमिकाले पनि प्रभाव पार्ने बताउँछन् । ‘वर्किङ इन्भारमेन्ट’को कारण पनि यस्ता समस्या सिर्जना हुने उनको बुझाई छ । 

‘कमाण्डरले काउन्सिलिङ गर्न नसक्दा पनि यस्ता घटना हुन्छन्, कमाण्डरले प्रोत्साहित गर्ने, आफ्ना सिपाहीहरुलाई उत्साहित बनाउने काम गर्न नसक्दा वा नजान्दा यस्ता दुर्घटना निम्तिएको पाईन्छ’ पूर्व एआईजी बस्न्यातले भने, ‘सबैको भूमिका उत्तिकै हुन्छ भनेर कमाण्डरले उत्साहित बनाउनुपर्छ, सिपाही सिपाहीको लागि हो, अफिसर अफिसरको लागि हो, सबैको आ–आफ्नो भूमिका बराबरी हुन्छ भनेर कमाण्डरले भाइचाराको सम्बन्ध राख्न सक्नुपर्छ ।’ ‘भनेको समयमा बिदा नपाउँदा, अपरेशन लेवलमा धेरै दुःख सहँदा, पारिवारिक समस्या र प्रहरी सेवाबीच तालेमेल मिलाउन नसक्दा यस्ता घटना हुन्छन् भन्ने अनुसन्धानले देखाउँछ’ उनले भने, ‘यसबाहेक फाइनान्सीयल डिप्रेशन पनि यस्ता घटना हुने मुख्य कारण हो ।’ 

प्रहरी सेवा दुःख ज्यादा, तलब कम भएकाले पनि जवानहरु आफैँलाई गोली हानी आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गर्ने अवस्था आउने गरेको बस्न्यातको बुझाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved