सेयरबजारबाट कमाएको पैसा घरजग्गामा, ८ महिनामा उठ्यो ३१ अर्ब राजश्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 10:36:40 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/०७८ को ८ महिनामा घर जग्गा कारोबारबाट ३१ अर्ब बढी राजश्व संकलन भएको छ । साउनदेखि फागुनसम्म देशभरका मालपोत कार्यालयमार्फत ३१ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ राजश्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

कोरोना भाइरसको त्रासका कारण अर्थतन्त्र चलायमान हुने अरु क्षेत्र सुस्त हुँदा घरजग्गा कारोबार भने उल्लेख्य मात्रामा बढेको छ । चालु वर्षको यही अवधिमा इतिहासकै सबैभन्दा बढी घरजग्गा कारोबार भएर राजश्व संकलनमा पनि यसअघिका रेकर्ड तोडिएको छ ।

फागुनमा मात्रै ७ अर्ब ५ करोड ९ लाख रुपैयाँ राजश्व उठेको छ । यो इतिहासकै सबैभन्दा बढी हो । पुस र माघमा संकलन भएको राजश्वको रेकर्ड फागुन महिनाले तोडेको हो । 

कुन शीर्षकमा कति ?

विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार ८ महिनामा संकलन भएको ३१ अर्ब ३२ करोड ८२ लाख राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरवापत २१ अर्ब २७ करोड ९५ लाख, पुँजीगत लाभकरवापत ९ अर्ब ३० करोड ९७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । 

बाँकी करिब १ अर्ब रुपैयाँ भने सेवा कर, बागमति सभ्यता शुल्क, अतिरिक्त शुल्क, जग्गाधनी प्रमाणपत्र प्रिन्ट शुल्क, रिकभर शुल्क, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क शीर्षकबाट संकलन भएको छ ।

कुन महिनामा कति ?

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कोरोनाको महामारी कायम रहेकै बेला २ अर्ब ७४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । भदौमा आईपुग्दा राजश्व घटेर १ अर्ब ३२ करोडमा सिमित हुन पुग्यो । तर, असोजमा एकाएक कारोबार बढेर ५ अर्ब २७ करोड रुपैयाँ राजश्व उठ्यो ।

कार्तिकमा ३ अर्ब ६ करोड रुपैयाँ राजश्व संकलन गरेको विभागले मंसिरमा ५ अर्ब १४ करोड राजश्व संकलन गर्यो । पुसमा ६ अर्ब ६५ करोड राजश्व संकलन गरेर यसअघिका सबै रेकर्ड तोडिए । माघमा पनि किर्तिमानी कारोबारमार्फत ६ अर्ब ७३ करोड राजश्व उठाउन विभाग सफल भयो । पुस र माघको राजश्व संकलनको रेकर्ड फागुनमा तोडियो ।  फागुनमा ७ अर्ब ५ करोड राजश्व संकलन भएको छ ।

कसरी तोडिँदैछ एकपछि अर्को रेकर्ड ? 

भूमी व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरुमा अनलाइन प्रणालीको सुरुवात गरेको छ । हाल देशभर रहेका १२६ मालपोतमध्ये १०८ वटामा अनलाइन प्रणाली लागू भइसकेकाले ऐतिहासिक कारोबार र राजश्व संकलन हुन सकेको विभागका महानिर्देशक पौडेलको दाबी छ ।

अनलाइन प्रणाली लागू भइनसकेका १८ मालपोत तुलनात्मक रुपमा बढी कारोबार नहुने मालपोत भएको विभागको भनाई छ । बढी कारोबार हुने मालपोतलाई प्राथमिकतामा राखेर अनलाइन प्रणाली सुरु गरिएको र कम कारोबार हुने १८ मालपोतमा पनि यसै आर्थिक वर्षभित्र अनलाइन प्रणाली सुरु गरिने विभागको भनाई छ । 

अनलाइन प्रणालीले सहजै सेवा प्रदान गर्न सकिएको र कोभिडका कारण अन्य क्षेत्रका लगानीकर्ता पनि घरजग्गामा आकर्षित भएकाले महिनैपिच्छे एकपछि अर्को रेकर्ड तोडिन थालेको विभागको दाबी छ । सेयर बजारबाट आम्दानी गरेकाहरुले तत्कालै घरजग्गामा लगानी गर्ने विश्वव्यापी अभ्यास नै रहेकाले यसपाली नेपालमा त्यही भएको अनुमान गरिएको छ । कोभिडको समयमा सेयरबजारबाट उल्लेख्य आम्दानी गरेकाहरुले अहिले घरजग्गा खरिद गर्न थालेकाले कारोबार बढेको विभागको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved