५० प्रतिशत रेस्टुरेन्ट र क्याटरिङ व्यवसायी पलायन हुँदै, १ खर्ब बढी लगानी जोखिममा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2021 | 09:03:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको दोस्रो लहर सुरु भएसँगै पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसायीलाई फेरि पिरलो सुरु भएको छ । गत वर्ष चैत ११ गतेबाट लकडाउन भएसँगै सत प्रतिशत व्यवसाय गुमाएका पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसायीहरुले नयाँ भेरियन्टको कोरोना संक्रमितको संख्या बढेसँगै पुनः व्यवसाय गुमाउँदै छन् ।

काडमाडौँ र अरु ठूला शहरमा सञ्चालित तारे स्तरका ‘इभेन्ट म्यानेजमेन्ट’ गर्ने होटल, रेस्टुरेन्ट र पार्टी प्यालेस पुनः बन्दको अवस्थामा पुग्न लागेका हुन् । राजनीतिक दलका सभा समारोह, बिबाहका पार्टीलगायत कार्यक्रमका लागि भएका बुकिङ पनि धमाधम रद्द हुन थालेपछि आफूहरु पलायनको अवस्थामा पुग्ने खतरा रहेको रेस्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) को भनाई छ ।

५० प्रतिशत व्यवसायी पलायन हुने आँकलन

सरकारले २५ जनाभन्दा धेरैको जमघट गर्न निषेध गरिसकेकाले बिबाहको सिजनमा समेत पार्टी प्यालेस सुनसान छन् । ठूला होटलको करिब ९० प्रतिशत बुकिङ भईसकेको अवस्थामा कोरोनाको दोस्रो लहर तीव्र बनेको भन्दै सतर्कतामा कडाइ गरिएको छ । 

तारे होटलमा कर्पोरेट हाउसका इभेन्ट र पार्टी प्यालेस तथा बैंक्वेटमा बिबाहका लागि करिब ९० प्रतिशत बुकिङ भईसकेपनि अहिले स्थगन वा रद्द हुन थालेका छन् । पार्टी प्यालेसको व्यवसाय यसरी नै क्रमशः प्रभावित हुँदै जाँदा ५० प्रतिशत व्यवसायी पलायन हुने खतरा रहेको व्यवसायीहरुले बताउन थालेका छन् ।

‘एक त कोभिड अगाडी ह्वात्तै लगानी बढेको अवस्था छ, अर्को भनेको वैदेशिक रोजगारीमा गएर केही पैसा कमाएका युवाहरुको यो क्षेत्रमा लगानी बढी छ’ रेवानका एक पदाधिकारी भन्छन्, ‘अर्को कुनै व्यवसायबाट आर्जन गरेको कमाई रेस्टुरेन्ट व्यवसायमा ल्याएर लगानी गर्नेहरु निकै कम छन् ।’

१ खर्ब बढी लगानी खेर जाँदै

सुरुमै यो क्षेत्रमा लगानी गरेका युवाहरु हतोत्साहित भएर पलायन हुँदा १० अर्ब रुपैयाँको नयाँ लगानी खेर जाने खतरा रहेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले बताएको छ । पछिल्लो समय युवा पुस्ताले आफू व्यवसायिक बन्नु पर्छ भनेर रेस्टुरेन्टमा लगानी गरिरहेका छन् । तर, यो लगानी सुरक्षित नहुने खतरा देखिएको पूराना व्यवसायीहरु बताउँछन् ।

महासंका अनुसार बैशाखका लागि मात्रै असारका लागिसमेत बुकिङ भईसकेको थियो । तर, अहिले रद्द गर्ने क्रम तीव्र भएको छ । 

सिजनल व्यवसाय भएकाले एक सिजनमा मर्का पर्नासाथ त्यसको दीर्घकालिन प्रभाव रहिरहने महासंघको भनाई छ । हाल मुलुकभर ७ हजारभन्दा धेरै पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालनमा छन् । एउटा पार्टी प्यालेसमा न्युनतम् २ देखि १२ करोड र क्याटरिङमा न्युनतम् २० लाखदेखि १ करोड सम्मको लगानी छ । 

अहिले नै ५० प्रतिशत व्यवसायी पलायन भएको खण्डमा न्युनतम् पनि १ खर्ब ४० अर्ब बढी लगानी खेर जाने खतरा रहेको रेस्टुरेन्ट र क्याटरिङ व्यवसायीको चिन्ता छ ।

पार्टी प्यालेस, रेस्टुरेन्ट र क्याटरिङ क्षेत्रले ५० हजारलाई रोजगारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved