कसले, कति र कहिले तिर्नुपर्छ घरबहाल कर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 11, 2021 | 12:00:57 PM मा प्रकाशित

laxmi  sunrise bank

घरबहाल कर स्थानीय तहको राजश्व संकलनको मुख्य स्रोत हो । स्थानीय तहको निर्वाचन पश्चात स्थानीय सरकार बनेपछि तिनको गठन, सञ्चालन र कार्यान्वयन गर्न र बहाल कर संकलनको अधिकार स्थानीय तहले पाए । 

योसँगै घरबहाल कर संकलनले तीव्रता पायो भने बर्षौंदेखि घर बहालवापत कर नितेरका घरजग्गा मालिक र भाडामा बस्नेहरु पनि करको दायरामा आउन बाध्य भए । आर्थिक वर्ष २०७६÷७७ मा काठमाडौँ महानगरले १ अर्ब ७० करोड रुपैयाँ बहाल कर उठाएको थियो । चालु वर्षमा २ अर्ब उठाउने लक्ष्य लिएकोमा चैतसम्म लक्ष्यको ६० प्रतिशत बहाल कर उठेको छ ।

के आधारमा तिर्ने बहाल कर ?

आफ्नो घर, पसल, टहरा वा जग्गा भाडामा लगाउँदा बहाल कर तिर्नुपर्छ । यसको अर्थ घर, पसल, टहरा, जग्गा पूरै भाडामा नलगाएसम्म बहाल कर तिर्नुपर्दैन भन्ने होइन, आंशिक रुपमा लगाएपनि तिर्नुपर्ने हुन्छ ।

यसरी भाडामा लगाएवापत स्थानीय तहलाई बहाल कर बुझाउनुपर्छ । स्थानीय तहले आफैँले बहाल कर कति लिने भन्ने दर तोकेर असुली गर्न पाउने गरी एकाधिकार पाएका छन् । काठमाडौँ महानगरका राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिकाले अहिले बहाल कर १० प्रतिशत लिँदै आएको छ ।

कति तिर्ने ?

देशभरीका ७५३ स्थानीय तहहरुले आफू अनुकुल बहाल करको दर निर्धारण गरेका छन् । स्थानीय तहले १० देखि १७ प्रतिशतसम्म बहाल कर उठाउँदै आएका छन् । घरधनी र भाडामा बस्ने वा भाडामा लिने व्यक्ति वा संस्थाबीच भएको बहाल सम्झौतापत्र वा घरधनी आफैँले तोकेको दरको आधारमा स्थानीय तहले बहाल कर उठाउँदै आएका छन् । 

यो पनिः
‘घर बहाल कर’ तोक्दै काठमाडौँ महानगर, कर छल्ने ‘घरबेटी’ को पहिचान पनि हुने

मूलुक संघियतामा जानु अघि अर्थात् २०७४ सालमा स्थानीय तहको निर्वाचन हुनु अगाडीसम्म केन्द्र सरकार आफैँले १० प्रतिशत घरबहाल उठाउँथ्यो । तर, अहिले बहाल कर सम्बन्धि सम्पूर्ण अधिकार स्थानीय तहले पाएका छन् । 

तर, संस्थागत सम्पत्तिको बहाल कर भने संघीय सरकारले १० प्रतिशतका दरले उठाइरहेको छ । यसलाई स्थानीय तहहरुले केन्द्र सरकारको बलमिच्याई भनेका छन् । 

कसले तिर्ने ?

घर बहाल कर सामान्यतया, सम्पत्ति वालाले नै तिर्नुपर्छ । तर, कहिलेकाही घरजग्गा वा अन्य सम्पत्ति भाडामा लगाउँदा सम्पत्तिवालाहरुले भाडामा लिनेले बहाल कर बुझाउने गरी सम्झौता गर्ने भएकाले त्यस्तो अवस्थामा भने सम्झौता अनुसार भाडामा लिने व्यक्ति वा संस्थाले नै बहाल कर बुझाउनुपर्ने हुन्छ । 

काठमाडौँ महानगरका राजश्व प्रमुख डा. अधिकारीका अनुसार घरभाडामा दिने र लिने पक्षबीच भएको सम्झौता पत्रमा भाडामा लिने व्यक्ति तथा संस्थाले बहाल कर बुझाउने भनेर लेखिएको अवस्थामा भने भाडामा लिने नै यस्तो कर बुझाउनुपर्ने हुन्छ । सम्झौतामा यसबारे उल्लेख नगरिएको अवस्थामा भने जसको सम्पत्ती हो उसैले बहाल कर बुझाउनुपर्ने हुन्छ । 

कहिले तिर्ने ?

अहिले घरबहाल कर वडा कार्यालयमार्फत बुझाउनुपर्ने व्यवस्था छ । बहालवापत भएको आम्दानीमा लाग्ने आयकर केन्द्र सरकारलाई बुझाउनुपर्छ । 

घर बहाल कर हरेक आर्थिक वर्षको अन्तिम अर्थात् प्रत्येक वर्षको असार मसान्तसम्म बुझाइसक्नुपर्छ । यदि नबुझाए १० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । 

बहाल कर आम्दानी भएको अवस्थामा तिर्नुपर्ने कर भएकाले आम्दानी हुँदा तिर्ने र नहुँदा नतिर्ने प्रकारको कर हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved