७० करोड कमिशन खाने दाउमा मन्त्री आले, अदालतमा मुद्दा हुदाँहुँदै खुलाए जहाज मर्मतको टेण्डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 02:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको सार्वजनिक लेखा समितिको निर्देशन विपरित र अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा नेपाल वायुसेवा निगमले जहाजको इन्जिन मर्मतका लागि बोलपत्र आह्वान गरेको  । जहाज मर्मत र इन्जिन फेर्न निगमले टेण्डर आह्वान गरेको हो ।

यसअघि ३ जना सञ्चालकलाई बैठकमा प्रवेश नै नदिई सञ्चालक समितिको बैठक राखेका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा टेण्डर आह्वान गरेको स्रोतले बताएको छ ।

अदालतमा मुद्दा विचाराधिन

निगमका जहाज मर्मत तथा तिनको इन्जिन फेर्ने विषयमा यसअघि भएको टेण्डरको विषय अहिले अदालतमा छ । सन् २०१८ मा निगमका न्यारोबडी ३२० जहाजको इन्जिन फेर्ने टेण्डर जर्मनको लुप्थान्सा कम्पनीले पाएको थियो । 

निगमका तत्कालिन अध्यक्ष मदन खरेलले आफूले चाहेको कम्पनीले ठेक्का नपाएपछि फाइल नै लुकाएको चर्चा त्यतिबेला चलेको थियो । तत्कालिन अध्यक्ष खरेलले फाइल लुकाएर टेण्डरको नयाँ प्रक्रिया नै थालेका थिए ।

तर, टेण्डर पाएको जर्मन कम्पनी लुप्थान्साले संसदको लेखा समितिमा उजुरी दियो । उजुरी परेपछि समितिले एउटा उपसमिति बनायो । उपसमितिले खरेलले सुरु गरेको नयाँ टेण्डरको प्रक्रिया रद्द गरेर ग्लोबल टेण्डर आह्वान गर्दा टेण्डर पाएको जर्मन कम्पनी लुप्थान्सासँगै सम्झौता गरेर काम अघि बढाउन निर्देशन दिनुपर्ने राय समितिमा बुझायो । समितिले सोही अनुसार निर्देशन जारी गर्यो ।

यसअघिः
७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठक

अझ रोचक त के छ भने, लेखा समितिले बनाएको उपसमितिमा अहिलेका पर्यटन मन्त्री प्रेम आले पनि सदस्य थिए । हाल उनै आले पर्यटन मन्त्री रहेका बेला नयाँ टेण्डर आह्वान भएको छ ।

त्यसपछि पर्यटन मन्त्रालयले लुप्थान्सासँग इन्जिन मर्मत र फेर्ने कामको सम्झौता गर्न कार्यकारी अध्यक्ष खरेललाई निर्देशन नै ठिाएको थियो । तर, खरेलले अटेर गरेपछि जर्मन कम्पनी लुप्थान्साले सर्वोच्च अदालत पुगेको थियो ।

यो मुद्दाको किनारा लगाउन सर्वोच्चले माघ १८ गते निगमको सञ्चालक समितिका सदस्यहरुलाई बोलाएको छ । तर, मुद्दा विचाराधिन रहेकै हालको अवधिमा निगमका कार्यकारी अध्यक्ष अधिकारीले जहाज मर्मत तथा इन्जिन फेर्न नयाँ टेण्डर आह्वान गरेका हुन् ।

मन्त्री आले र अध्यक्ष अधिकारीको नजर ७० करोडमा

यसअघिको निगम सञ्चालक समितिको बैठकमा ३ सञ्चालकहरु डिमप्रकाश पौडेल (महाप्रवन्धक, हाल मन्त्रालयमा तानिएका), ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई उपस्थित हुन दिईएको थिएन । त्यसपछि उनीहरुले सामूहिक ध्यानाकर्षण पत्र नै सार्वजनिक गरे । उक्त बैठकमा पनि निगमको जहाज मर्मत तथा इन्जिन फेर्न टेण्डर आह्वान गर्ने एजेण्डा थियो । उक्त बैठकले कुनै निर्णय भने गरेको थिएन ।

तर, पर्यटन मन्त्री आले र निगमका अध्यक्ष अधिकारीबीच चिनियाँ कम्पनीलाई ठेक्का दिने गोप्य सेटिङ पहिल्यै भईसकेको स्रोतको दाबी छ । ३ अर्ब ५० करोड रुपैयाँको काम दिए वापत चिनियाँ कम्पनीले २० प्रतिशत कमिशन दिने र मन्त्री आले र अध्यक्ष अधिकारीको नजर त्यहीँ २० प्रतिशतमा केन्द्रित रहेको दाबी स्रोतको छ ।

३ अर्ब ५० करोडको २० प्रतिशत रकम ७० करोड हुन्छ । पर्यटनमन्त्री आले र अध्यक्ष अधिकारीले कुनैपनि हालतमा यो ७० करोड कमिशन हत्याउन हतारहतार बोलपत्र आह्वान गरेको र सेटिङ लागि छुट्टै टिम नै बनाएर खटाएको स्रोतले दाबी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved