
निर्वाचन आयोगले आचारसंहिता लगाएर सरुवा, बढुवा रोकेकै बेला राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारी हटाइए । विभागको महानिर्देशकका रुपमा गत असारमा मात्रै जिम्मेवारी सम्हालेका अधिकारीलाई ४ महिनामै सरुवा गरियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको यो विभागका महानिर्देशकका रुपमा प्रधानमन्त्री कार्यालयकै मदन दाहाललाई गत मंगलबार एकाएक जिम्मेवारी दिइयो ।
निर्वाचन आचारसंहिताले अंकुश लगाएकै बेला आयोगको सहमति लिएर गरिएको भनिएको सरुवाले प्रश्न भने जन्माएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि हालसम्म यो विभागमा ४ जना हाकिम आइसके ।
आरजुले दिएको ‘तार्गेट’ पूरा नहुँदा सरुवा
प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा हाबी छिन् । ठूला विषयमा निर्णय पनि उनैले लिन्छिन् । प्रधानमन्त्रीका रुपमा देउवा निरिह र उनकी पत्नी बढी हाबी भएको विषय घाम जत्तिकै छर्लङ्ग छ । यसमा अर्थमन्त्री जनार्दन शर्मालाई आरजु राणाले प्रयोग गर्ने गरेकी छिन् । जनार्दन पनि आरजुलाई नै आर्थिक लाभ हुने गरी सहयोग गरिरहेका छन् ।
यसै क्रममा झलकराम अधिकारीलाई पनि आरजु राणाकै बलमा राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको थियो । अधिकारीलाई महानिर्देशक बनाउने बेलामा आरजु राणाले निश्चित ‘तार्गेट’ दिएको चर्चा अहिले पनि चलिरहेकै छ । स्थानीय निर्वाचन सकिएको र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुने बेलामा चुनाव खर्चकै जोहोका लागि हरेक महिना उद्योगी, व्यवसायीबाट रकम उठाएर बुझाउने सर्तमा आरजुले अधिकारीलाई महानिर्देशक बनाएकी थिइन् भन्ने दाबी स्रोतको छ ।
तर, अहिले उद्योगी व्यवसायीहरु आफैँ संकटमा रहेका कारण अधिकारीले प्रयास गर्दा पनि आरजु राणाले भनेजति रकम जोहो गरिदिन नसकेपछि उनको सरुवा गरेर प्रधानमन्त्री कार्यालयकै मदन दाहाललाई ल्याइएको दाबी स्रोतले गरेको छ ।
सुपारीको खेल
गत साउन ५ गते जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारत निकासी हुन लागेका ८ ट्रक सुपारी नियन्त्रणमा लियो । बालुवाटार (आरजु राणा)ले भने अनुसार नभएपछि उनले विभागलाई सुपारी नियन्त्रणमा लिन निर्देशन दिएकी थिइन् भन्ने दाबी स्रोतले गरेको छ । सोही अनुसार विभागले नेपाल प्रहरीलाई अनुरोध गर्यो र सुपारी समातियो ।
सुपारी नियन्त्रणमा लिएपछि निर्यातकर्ताले अदालतमा रिट दायर गरे । निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले २६ साउनमा उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङ, राजस्व अनुसन्धान कार्यालय इटहरी र विराटनगर भन्सार कार्यालयलाई प्रतिवादी बनाएर दायर गरेको रिट घिमिरेले फिर्ता लिए । प्रधानमन्त्री पत्नी राणा र निर्यातकर्ता घिमिरेबीच ‘डिल’ मिलेपछि घिमिरेले रिट फिर्ता लिएको दाबी स्रोतले गरेको छ ।
घिमिरेले रिट फिर्ता लिएपछि एकाएक बालुवाटारले राजस्व अनुसन्धान विभागलाई सुपारी छोड्न निर्देशन दिन थाल्यो । तर, महानिर्देशक झलकराम अधिकारीले त्यसै छोड्न नसिकने जवाफ बालुवाटारमा पठाए । यसपछि आरजु राणा चिढिइन् ।
साथै, बाहिर कसैले थाहा नपाउन् भनेर दशैँको बिदाको छेको पारेर आरजु राणाकै दबाबमा राजस्व अनुसन्धानले उक्त सुपारीको सिल नै नखोली छोडिदियो ।
त्यहीँ रिसले अहिले झलकराम अधिकारीको सरुवा गरिएको हो भन्ने चर्चा प्रधानमन्त्री कार्यालयमै पनि हुने गरेको छ ।
देउवा प्रधानमन्त्री भएपछि राजस्व अनुसन्धानमा ४ जना हाकिम
२०७७ फागुनमा दीर्घराज मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट सरुवा भए ।
त्यसपछि अघिल्लो सरकारले रामप्रसाद आचार्यलाई महानिर्देशकमा नियुक्त गरेको थियो । तर, २०७८ असार २८ मा शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि क्रमशः सरुवाको चलखेल थालियो । यसै शिलशिलामा देउवा नेतृत्वको सरकारले २०७८ असोजमा रामप्रसाद आचार्यलाई हटाएर प्रकाश पौडेललाई महानिर्देशक बनायो ।
पौडेलले ९ महिना काम गरे । उनी २०७९ असारमा सरुवा भए ।
पौडेलपछि गत असारमा झलकराम अधिकारीलाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो । उनको पनि ४ महिनामै सरुवा भएको छ । अहिले मदन दाहाललाई महानिर्देशक बनाएर ल्याइएको छ ।
उनलाई चुनावको मुखमा राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइनुमा उनलाई आरजु राणाले ‘तार्गेट’ दिएर पठाएको दाबी हुन थालेको छ । यद्यपी यसबारे दाहालले भने केही बोलिसकेका छैनन् ।