
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने कार्यले गति लिएसँगै सो आयोजनामा सयौँ नेपाली युवाले रोजगारी पाएका छन् । यसअघि रोजगारीका लागि भारतका विभिन्न सहरमा जाने प्रचलन रहेकोमा अहिले यही आयोजनामै पाँच सय बढी युवाले रोजगारी पाएका छन् । विशेषगरी सुर्खेत, बर्दिया, जाजरकोट, दैलेख, अछाम र बाँकेका युवाले यस आयोजनाअन्तर्गत रहेर काम गरिरहेका छन् ।
गाउँघरमै रोजगारी पाउन थालेपछि राष्ट्रिय गौरवका आयोजना निर्माणको काममा युवा आकर्षण बढ्दै गएको भेरी बबई डाइभर्सन आयोजनाका प्रमुख शिवकुमार बस्नेतले बताउनुभयो । उहाँले आयोजनामा लागेका युवाले मासिक १६ हजारदेखि ५० हजारसम्म आम्दानी गरिरहेको बताउनुभयो ।
भारतका विभिन्न सहरमा गएर काम गर्नुको साटो आफ्नै देशमा राम्रो पैसामा रोजगारी पाएपछि निक्कै सहज भएको प्रतिक्रिया त्यहाँ काम गर्ने युवाको छ । मासिक २२ हजार रुपियाँ पाउँदै आउनुभएका सुर्खेत मेहलकुनाका दीलिप थापाले यस्ता आयोजना नेपालका सबै ठाउँमा बन्न थाले भने कुनै पनि नेपालीले रोजगारीका लागि विदेशिनु नपर्ने बताउनुभयो । सो आयोजनाको सुरुङ पाइपको उद्योग र सुरुङ निर्माण लगायतका विभिन्न काममा युवाले काम गरिरहेका छन् ।
आयोजनामा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म काम सञ्चालन हुने गरेको छ । घण्टाको हिसाबले युवालाई राम्रो रकम दिइने गरेको आयोजनाले जनाएको छ । सो राष्ट्रिय गौरवको आयोजनामा पाँच सय नेपालीले काम गरिरहेको आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) का प्रशासकीय प्रमुख ली छाङ्योङले बताउनुभयो । उहाँका अनुसार कामदारका लागि खान, बस्नको निःशुल्क व्यवस्था गरिएकाले पनि बचत राम्रो हुने गरेको छ ।
भेरी–बबई आयोजना बाहेक जिल्लामै सञ्चालित तथा जिल्लाबाहिर सञ्चालित सिँचाइ आयोजना, सडक निर्माणलगायतका निर्माणसम्बन्धी काममा सयौँ युवाले आफ्नो सीप र क्षमता प्रयोग गरिरहेका छन् । विदेशमा गएर ५०–६० हजार कमाउनुभन्दा आफ्नै देशमा बसेर ४०–५० हजार कमाउनुमै आफू सन्तुष्ट रहेको दैलेखमा सञ्चालित मध्यपहाडी राजमार्ग निर्माणमा साइट इन्चार्जका रूपमा काम गरिरहेका बर्दिया ठाकुरबाबा नगरपालिका–४, का देवेन्द्र जोशीले बताउनुभयो ।
यस क्षेत्रका अधिकांश युवा बर्दियासँगै पश्चिम नेपालको बाँके, सुर्खेत, दैलेख, बुटवल, नारायणगढ र पूर्वी नेपालको गोरखा, नुवाकोट, सिन्धुली, रामेछाप लगायतका ठाउँमा सञ्चालित निर्माण कार्यमा संलग्न रहेको जोशीले बताउनुभयो । गाेरखापत्रमा खबर छ ।