मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 06:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गरेको छ। संघको अध्यक्ष विरेन्द्र संघाई रहेका छन् । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो । 

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार भएको बताए । उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए । 

उद्योगहरुको स्थापना देखी संचालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उहाँले विरंगंजमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी गराए । उनले प्रदेशमा रोजगारी बढाउन उद्योगीहरुलाई आग्रह गरे । “सबै भन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ । यहाँका युवाहरुलाई उचित तालिमको ब्यवस्था गरि स्वदेश मै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरुलाई आग्रह गर्छ” उनले भने ।

सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताए । त्यसका लागि पावर ह्लीङलगायतको व्यवस्था आवश्यक पर्ने उनले बताए । उनले अन्य प्रदेशका विद्युत उत्पादकसँग मधेश प्रदेशका उद्योगहरुले सोझै विद्युत खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन उनले आग्रह गरे । 

यस्तै परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए । लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजिकरण आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रलाई नयाँ कानून र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताए । “उत्पादन लागत घट्यो भने मात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन् । पूर्वाधार विकासको महत्वपूर्ण आधार हुँदाहुँदै हाम्रा लागि यो ठूलो चुनौती पनि रहदै आएको छ । विशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडोरको लागि नयाँ अभियानले उद्योगहरूको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ” उनले भने, “सिमराको विशेष आर्थिक क्षेत्र पीपीपी मोडलबाट सञ्चालनमा ल्याउन खोज्नु प्रशंसनीय छ ।”

यस्तै परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगतलगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन परिसंघले नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको उनले । उनले आगामी भदौं २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने जानकारी गराउदै उक्त सम्मेलनमा भाग लिन मधेश प्रदेश सरकारसहित उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । 

सम्मेलन उद्घाटनमा नेपालका लागी बेलायती राजदूत निकोला पोलिटले मधेश प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको बताईन्। यो सम्मेलन सार्वजनिक निजी संवाद र सहयोगको लागि महत्वपूर्ण प्लेटफर्म भएको उनको भनाई थियो । “आर्थिक विकासका लागि निजी क्षेत्रले सरकारसँग मिलेर काम गरिरहनु पनि उत्तिकै जरुरी छ । नेपाल उद्योग परिसंघले आर्थिक वृद्धिका लागि प्रान्तीय सरकारसँग मिलेर गरिरहेको काम प्रभावशाली छ” उनले भनिन् । 

प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, उद्योग, पर्यटन तथा बनमन्त्री सत्रुधन महतो, नेपाल उद्योग परिसंघ मधेश प्रदेश संयोजक नरेश दासलगायतले आर्थिक विकास, निजी क्षेत्रलगायतका विषयमा धारणा राखेका थिए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved