निकम्मा नेप्से: तामाकोशी ५० प्रतिशतले बढ्दा पाठ नसिक्दा निफ्रा सय पर्सेन्ट डाउन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 24, 2021 | 08:15:25 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७५ साल पुस २९ गते सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपर तामाकोशीको पहिलो कारोबार भयो  कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले ७४.८९ देखि २२४.६७ सम्मको रेन्ज तोकिदिएको थियो ।  पहिलो दिनको अन्तिम कारोबार मूल्य २२४ कायम भएको थियो।

तर पुस ३० गते नेप्सेमा जुन घटना भयो, त्यो त्यसअघि कहिले पनि भएको थिएन । त्यस दिन नेप्सेको प्रणालीले तामाकोशीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ५० प्रतिशतले बढेर ३३६ मा पुगेको देखायो ।  जबकि कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा बढीले तल माथि हुन सक्दैन थियो । नेप्सेले त्यस दिन भएका तामाकोशीको २५६ वटा कारोबार रद्द गर्नु पर्यो  

नेप्सेमा तामाकोशीको १० करोड ५९ लाख कित्ता शेयर सुचिकृत भएको थियो  शेयर बजारमा चुक्तापुँजीको आधारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सुचिकृत भएको थियो। सुरुवाती चरणमा रहेको नेप्सेको अनलाइन प्रणालीले लगानीकर्ताले दिएको अर्डरलाई न थाम्न सक्यो, न म्याच नै गर्न सक्यो । सिस्टम नै बिग्रिएर कारोबार रोक्नु मात्र परेन केहि कारोबार रद्द समेत गर्नु पर्यो । त्यति नै बेला नेप्सेको सिस्टम कति कमजोर छ प्रष्ट भईसकेको थियो 

त्यस घटना भएको ठिक ७ सय ७२ दिनपछि आज (फागुन १२ गते) नेप्सेमा त्यस्तै घटना दोहोरियो । प्रवृत्ति उही तर पात्र अर्थात कम्पनी फरक। यस पटक नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको शेयरमा त्यस्तै घटना घट्यो । नेप्सेको कमजोर अनलाइन प्रणालीले निफ्राको शेयर मूल्य १ सय प्रतिशतले घटेको देखायो । जबकी उही नियम अर्थात् ' कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा बढीले तल माथि हुन नपाउने' अझै लागु नै छ । त्यति मात्र होइन सिस्टममा कम्पनीको मूल्य शुन्य मूल्यमा कारोबार भएको तथा शुन्य मूल्य मै कारोबार भएको फ्लोर सिटमा समेत देखियो ।

यसो भईरहँदा समग्र नेप्से सूचक भारी अंकले घटेको देखाएर नेप्सेले लगानीकर्तालाई प्यानिकमा राख्यो। जबकी सूचक घटेको नै थिएन, जुन निफ्रामा देखिएको समस्या समाधान भएपछि छर्लङ्ग नै भयो । यसो भएको आधा घण्टापछि नेप्सेले अनलाइन कारोबार प्रणालीबाट निफ्राको शेयर नै हटायो तर लामो समयसम्म के भएको हो भन्ने बारे कुनै जानकारी नै दिएन । लगानीकर्तालाई गुमराह मै राखेर थप चिन्तित बनाई राख्यो ।

यदि नेप्सेले तामाकोशीको घटनाबाट पाठ सिकेर सिस्टममा सुधार गरेको थियो भने सम्भवत आज यो समस्या आउने थिएन । त्यस समयपनि नेप्सेले 'सरी फर इन्कन्भियन्स कज्ड' मै टार्यो भने अहिले पनि त्यहि लाइन दोहोर्याएर पन्सियो । फेरी समस्या आउँदा पनि नेप्सेलाई त्यहि वाक्यको सहारा लिन सायद लाज लाग्ने छैन ।

त्यसमाथि पनि ढिला गरि जारी भएका कारोबार रोकिएको सूचना र कारोबार खुला भएपछि आएको सूचना समेत नेप्सेले वेबसाइटबाट हटाएर गैर जिम्मेवारीपन प्रस्तुत गर्यो । जबकी नेप्सेले जारी गरेका हरेक सूचनाहरु जुनसुकै बेला लगानीकर्ताको पहुँचमा हुनु पर्छ । लगानीकर्तालाई सूचना प्रदान नगरेको भन्दै कम्पनीको कारोबार रोक्ने नेप्सेले आफ्नै सूचना लुकाउँदा कस्तो संदेश जाने हो, नेप्से आफै जानोस् ।

आज भारतीय शेयर बजार एनएसईमा समस्या आएर कारोबार नै रोकिएको थियो । समस्या समाधान भएपछि कारोबार समय थपिएको थियो । ति सूचना कारोबार सकिएपछि पनि एनएसईले डिलिट गरेको छैन, ति सूचना अझै पनि हेर्न सकिन्छ र सम्भवत ति सूचना उसले कहिले हटाउदैन । यहाँ भने नेप्सेलाई सूचना डिलिट गर्न हतारो हुन्छ ।   

नेप्सेको अनलाइन कारोबार प्रणालीमा आएको यो पहिलो समस्या भने होइन । टिएमएसमा अनेक समस्या आउने गरेकोबारे नेप्से स्वयं, धितोपत्र बोर्ड, ब्रोकर, लगानीकर्ता, मिडिया सबै जानकार छन् । तर प्रणाली सुधारको लागि न त बोर्डले तत्परता देखाएको छ, न नेप्सेले नै ।

नेप्सेका केहि कर्मचारी यति निकम्मा छन् कि टिएमएसमा आएको समस्याबारे स्क्रिन सट गरेर जानकारी गराउंदा पनि गल्ति स्वीकार गरेर समस्या समाधान गर्न खोज्नुको साटो फोटोसपबाट फोटो बनाएर ल्याएको आरोप लगाउदै पानिमाथि ओभानो बन्न खोज्छन् । यो म आफैले धेरैपटक भोगेको छु। प्रणालीमा समस्या आउँदा जिम्मेवार नागरिकको हैसियतले समबन्धित ठाउँमा जानकारी गराउंदा नेप्सेले 'मेरो गोरुको बाह्रै टक्का' अर्थात आफ्नो केहि गल्ति छैन झैँ गर्नु गैर जिम्मेवारपन हो । यसैबाट प्रष्ट हुन्छ कि नेप्सेले समस्याको समाधान नै खोज्न चाहेको छैन ।

टेक्निकल समस्या आउदैन नै भन्ने होइन। तर पटक पटक एकै प्रकृतिका समस्या आउनु लज्जास्पद छ । विश्वका अन्य स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या आउँछन् । त्यस त्यहाँ समस्या आउँदा नियामकको उपस्थिति देखिन्छ। तर विडम्बना नै भन्नुपर्छ नेपालमा एउबटै समस्या पटक पटक समस्या आउंछन् र नियामक मुकदर्शक झैँ छ । आन्तरिक रुपमा समस्या समाधानको कोशिस गरिरहेको भए पनि लगानीकर्ताले महशुस गर्न सक्ने गरी काम भएको देखिदैन ।

यहि प्रबृत्ति दोहोरी रहने हो भने बजार सुधार हुनुको साटो थप खस्कने र बजारप्रति आम नागरिकको विश्वास गुम्ने निश्चित छ । आजको मितिमा बजार पुँजीकरण ३५ खर्ब ८१ अर्ब रहेको छ । नियमित कारोबार हुने हिस्साको आधारमा पुँजीकरण कम भएपनि बजारमा लाखौले लगानी गरेका छन्।

यदि नेप्सेको प्राविधिक समस्या कै कारणले कुनै अप्रिय घटना हुन पुगेमा त्यसको जिम्मेवारी कसले लिने ? आशा गरौ 'कुनै अप्रिय घटना हुनु अगाडी नै नियामक निकायको जिम्मेवार पदहरुमा रहेकाहरुको घैटोमा घाम लाग्नेछ' । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved