रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने साउन ३१ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्काशन गरेको हो।आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७०० कित्ताको लागि दिन सकिने छ ।
आयोजनाबाट अति प्रभावित (गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे), प्रभावित (आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बुद्धिम, वडा नं ४ लाङटाङ, वडा नं. ५ स्याफ्रबेशी र वडा नं. ६ धन्चे) र सामान्य प्रभावित (बाँकी सम्पूर्ण जिल्लाबासीहरु) वर्गमा पर्ने बासिन्दाहरुको लागि शेयर बाँडफाँड गर्दा सोको अनुपात क्रमशः ४.५ : १.५ : १ हुने गरी शेयर बाँडफाँड हुने छ।
नेपाल धितोपत्र बोर्डले जेठ ३१ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति दिएको थियो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेपनि आयोजना प्रभावित स्थानीयलाई पनि आईपिओ निष्काशन गरेको थिएँन । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आगामी पुस २५ गतेदेखि आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्ने लक्ष्य दिएको छ ।