बोर्डको कारबाहीमा परेका गुरुप्रसाद अझै रिडीको अध्यक्ष कायम, बिजपाटीले प्रश्न गर्दा जङ्गीए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 08:35:32 AM मा प्रकाशित

laxmi  sunrise bank

गत पुस अन्तिम साता नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई नगद जरिवानाका साथै १० वर्षसम्म कुनै पनि सूचिकृत कम्पनीको सञ्चालक बन्न नपाउने गरी कारवाही गर्यो ।  बोर्डले यसबारे आजको दिनसम्म पनि कुनै औपचारिक जानकारी दिएको छैन। 

न्यौपानेले अरुण काबेलीको अध्यक्षबाट त राजीनामा दिए तर बोर्डले कारवाही गरे पनि न्यौपाने अझै पनि रिडीको अध्यक्षमा कायम छन् । यति मात्र होइन माघ २९ गते उनी रिडीको अध्यक्ष कै हैसियतमा रिडीको साधारणसभामा सहभागी भए र फेरि पनि अध्यक्ष चुनिएर आए । 

बोर्डले कारवाही गरिएको भनिएको व्यक्ति अध्यक्ष पद मै रहिरहँदा लगानीकर्ता अचम्मित छन् । कतिपय लगानीकर्ता बोर्डले कारबाही नै नगरी कारबाही गरेर मिडयाबाजी गरेको हो कि भन्ने आशङ्का गर्छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बोर्डले उनलाई नगद जरिवाना गरेको र यसरी जरिवाना तिरेपछि उनी १० वर्षसम्म सूचिकृत कम्पनीको सञ्चालक बन्न अयोग्य रहने स्पष्ट पारे ।  तर त्यो कारबाहीले न्यौपानेको रौँ पनि हल्लिएन । उनी साविककै झैँ कार्य गरिरहेका छन् । प्रवक्ता श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय भएको हो।

दफा १०१ बमोजिमको सजाय पाएपछि त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने व्यवस्था ऐनको दफा १०८ मा छ ।

प्रवक्ता श्रेष्ठका अनुसार अहिलेको अवस्था भनेको उनले दफा १०१ बमोजिम गरिएको जरिवाना स्वीकार नगरिसकेको अवस्था हो । बोर्डले गरेको सजाय उपर चित्त नबुझे ३५ दिनभित्र सम्बन्धित अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था ऐन मै रहेको छ।

यद्यपि बोर्डले जरिवानाको निर्णय गरेको ३५ दिन भन्दा बढी भइसकेको छ । बिजपाटीसँगको सम्पर्कमा आएका न्यौपानेले आफू पुनरावेदन जाने तयारी गरिरहेको र त्यसका लागि वकीलहरुले काम गरिरहेको उनले बताए । ३५ दिन पुरा भइसक्यो नि भन्ने प्रश्नमा उनले बाटोको म्याद १५ दिनको हुने र पुनरावेदनमा जाने अवधि अझै बाँकी नै रहेको दावी गरे ।

कारवाहीमा परेको अवस्थामा फेरि साधारणसभाबाट अध्यक्षमा निरन्तरता पाउनु भयो नि भन्ने प्रश्नमा उनले त्यो विषय कम्पनीको आन्तरिक कुरा भएको दाबी गरे। उनले  भने,'अदालतले छोड् भन्यो भने छोडिदिन्छु, तपाइँलाई किन चासो ।' यसरी जङ्गीएका उनीसँग बिजपाटीले थप प्रश्न गर्न खोज्दा  फोन काटेर तर्किए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved