पेट्रोलपम्पहरुमा नाकाबन्दी ! के पेट्रोल फेरि सर्टेज होला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 08:15:47 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन यता राजधानीका पेट्रोल पम्पहरुमा लामो लाइन देखिन थालेका छन् । कतिपय पम्पहरुमा त नाकाबन्दीका बेलामा जस्तै निकै लामो र भिड समेत देखिएका छन् । पेट्रोलपम्पमा देखिएको लाइनले बाटोमा हिड्ने मोटरसाइकल र अन्य सवारी चालकहरुको मनमा चिसो पसेको छ जसले गर्दा उनीहरु गन्तव्यमा जानु भन्दा पम्पमा लाइन लाग्न थालेका छन् । कतिपय त ग्यालिनसमेत बोकेर लाइन लागेको देखियो । एक्कासी पम्पहरुमा लागेको लामो लाइनले सर्वसाधारणको मनमा खुल्दुली लाग्न थालेको छ । त्यसो त पम्प आसपास धेरैको मुखबाट सुनिन्छ- 'फेरि नाकाबन्दी सुरु भयो कि के हो ?'

'लाइन देखेर लाइन लाँगे'

साझा पेट्रोल पम्प पुल्चोकमा लाइन लागेका नविना आचार्यले अफिस जान छोडेर पेट्रोलको लागि लाइन लागेको बताइन । 'अफिस जान लागेको थिए, बाटोमा आउदा आउदै यत्रो लाइन देंखे फेरि पेट्रोल सर्टेज हुने हो कि भनेर लाइन लाँगे ।' अफिसमा ढिला हुने जानकारी दिएर पेट्रोलको लाइनमा बस्ने नविना जस्ता थुप्रै सर्वसाधारण छन् जो 'लाइन देखेर लाइन'मा छन् ।

नविनासंग कुरा गर्दैगर्दा एक मोटरसाइकल चालकले बिजपाटी समाचारदातालाई सोधे- ''फेरि नाकाबन्दी सुरु भयो कि के हो ?'' जावलाखेलबाट नयाँ बानेश्वरस्थित अफिस हिडेका उनी (केशव भण्डारी) पनि लाइन लागेर लाइनलाई झनै लम्ब्याए । अघिल्लो दिन मात्रै पेट्रोल हालेका भण्डारी भन्दै थिए 'खै के हो के हो केही बुझ्नै सकिन्न, अस्ति (शनिबार) सम्म जताततै खाली थियो हिजोदेखि जहाँ हेर्यो त्यही लामो लाइन छ।'

किन लाग्यो त लामो लाइन ?

नाकाबन्दी अथवा पेट्रोल सर्टेज केही पनि होइन । सर्वसाधारण हल्लाको पछि लाग्दा लाइन लम्बिएको हो । केही दिन यता परेको बर्षाले मुग्लिङ सडकखण्ड निरन्तर अबरुद्ध हुन् थालेपछि इन्धन अभाव हुन् सक्ने हल्ला (अड्कल) फैलिएको थियो । यो अड्कलवाजी सुन्ने हरु लाइन लागेपछि अरु सर्वसाधारण पनि 'लाइन देखेर लाइन लागे' जसले पेट्रोलपम्पहरुमा नाकाबन्दीको आभास हुन् थालेको हो ।

के भन्छन आयल निगम ?

नेपाल आयल निगमका प्रबक्ता मुकुन्दप्रसाद घिमिरेले मुग्लिन सडक खण्डको अवरोधले केही अप्ठेरो पारेको बताए । यसले गर्दा शुक्रबार पम्पहरुलाई केही थोरै तेल वितरण गरेको र शनिबार सार्वजनिक बिदाको दिन परेका तेल वितरण नगरेको हुँदा आइतबारदेखि पम्पहरुमा लाइन लम्बिएको घिमिरेको भनाई छ । 'शुक्रबार अलि थोरै तेल दिएका थियौ, शनिबार बिदा भएकाले तेल वितरण गरिएन, यसले गर्दा नाकाबन्दीको त्रास भोगेका सर्वसाधारण त्रसित भए अनि लाइन लम्बियो ।' घिमिरेले भने ।

अहिले पनि निगमको थानकोट डिपोमा पर्याप्त पेट्रोलको भण्डारण छ । अहिले तत्काल त्यस्तो कुनै तेल संकट आइ नपर्ने प्रबक्ता घिमिरेको दाबी छ । हिजो आइतबार निगमले सामान्य अबस्थामा भन्दा करिब २ लाख लिटर बढी अर्थात ६ लाख १८ हजार लिटर पेट्रोल वितरण गरेको थियो । आज सोमबार पनि ५ लाख लिटर पेट्रोल पम्पहरुलाई उपलब्ध गराएको छ ।

मुग्लिङ सडकखण्डको विकल्पको खोजी 

प्रबक्ता घिमिरेले नारायणगढ- मुग्लिङ सडकखण्डको विकल्प खोजिरहेको जानकारी दिए । अहिले यो मार्गमा दैनिक जसो पहिरोले बाटो अबरुद्ध भएपछि पुरानो बाटो त्रिभुवन राजपथ प्रयोग गरि तेल ल्याउने वारे सोचिरहेको उनले बताए । हाल मुग्लिन सडक भएर २० हजार लिटर बोक्ने ट्यांकरले पेट्रोलियम पदार्थ ओसारिरहेका छन् भने त्रिभुवन राजपथबाट १२ हजार लिटर बोक्ने ट्यांकरबाट तेल ल्याउन सकिने घिमिरेको दाबी छ । काठमाडौँका लागि १० लाख लिटर पेट्रोल बोकेका ट्यांकर बाटोमा आइरहेकाले कुनै संकट/समस्या नआउने र उपभोक्ता आत्तिन नपर्ने उनको सुझाब छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved