वर्षायामले च्याप्दै जाँदा काठमाडौँका बासिन्दाको चुल्होलाई तरकारीले भने रुवाई रहेकै छ । असार लाग्दैबाट बढेको तरकारीको भाउ साउनको दोस्रो हप्तासम्म आईपुग्दा पनि घट्नुको साटो झन् बढिरहेको छ । काठमाडौँमा रहेको कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिले उपलब्ध गराएको तथ्यांक अनुसार गत बर्षको पुष महिनाको तुलनामा तरकारी तथा फलफुलको मूल्यमा ६७ प्रतिशतले वृद्धि भएको छ । यस्तै साउन १ गतेकै तुलनामा साउनको दोस्रो साताको मूल्यवृद्धि ३६ प्रतिशत रहेको छ।
सर्वसाधारणको चुल्होमा दिनानुदिन अत्याबश्यक वस्तुको रुपमा रहेको तरकारीको मूल्यबृद्धिले उपभोक्तालाई चुल्होमा धुरुक्कै पारेको छ । सामान्य देखि धनाढ्य उपभोक्ताको चुल्होसम्म आफ्नो अस्तित्व कायम गरेका गोलभेडा, आलु र खुर्सानीको आकाश छोएसंगै न्यून आम्दानी भएका उपभोक्ताले यस्ता तरकारी अब तिजको दरमा मात्रै खाने मनस्थिति बनाएका छन् । भाउ सुनेसंगै अघाउनु पर्ने बाध्यता भएको उपभोक्ताको गुनासो छ ।
विकास समितिका अनुसार गत पुषमा गोलभेडाको खुद्रा मूल्य आकार अनुसार प्रति किलो २६ रुपियाँ देखि ४५ रुपियाँसम्म रहेको थियो । यस्तै साउन १ गतेसम्म आईपुग्दा तिनै गोलभेडाको खुद्रा मूल्य ७५ रुपियाँ थियो । तर आज गोलभेडाको मूल्य कालिमाटी बजारमा १ सय रुपियाँ छ भने उपभोक्तासम्म आई पुग्दा उक्त मूल्य बढेर १ सय ५० रुपियाँ पुगेको छ ।
तरकारीमा गोलभेडाले मात्रै उपभोक्तालाई रुवाएको होइन । आलु, काउली, हरियो धनिया र खुर्सानीले समेत उपभोक्ताको खल्ती रित्याउने पक्का छ । थोरै पैसा बोकेर तरकारी बजार पुग्ने निम्न आय भएका उपभोक्ताको साटो नै लैजाने गरी यस्ता तरकारीको मूल्य बढेको देखिन्छ । हरियो खुर्सानी, भिडे खुर्सानी, बाँसको तामा र हरियो धनियाँको मूल्य वृद्धि यहि दुई सातामा ३५ प्रतिशत देखि २ सय ९२ प्रतिशतसम्म बढेको विकास समितिले जनाएको छ ।
मालामाल मध्यस्थ, मारमा उत्पादक र उपभोक्ता
एकातिर बजारमा तरकारीको मूल्य बढेसंगै उपभोक्ताको खल्ती रितिँदो छ । तर उपभोक्ताले महँगो तिरेर उपभोग गरेको मुनाफाको उत्पादकले भने कहिल्यै पाउदैनन् । तरकारी बजार अहिले मध्यस्थको कब्जामा रहेको कृषकहरुको अनुभव छ । लामो समयसम्म भण्डारण गरेर राख्न नमिल्ने यस्ता तरकारी तुरुन्तै बेच्नु पर्ने भएकाले उत्पादकहरु दलाललो मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन् । सीत भण्डारणको अभाव र राज्यका निकायहरुको निष्क्रियताका कारण जीवनभरी माटोसंग खेलेर उत्पादन गर्ने किसानहरुले लागत समेत नपाई आफ्नो उत्पादन बेच्न बाध्य छन् भने माटोको रंग समेत अनुभव नगरेका मध्यस्थहरु रातारात माला माल भएको किसानहरु बताउछन् ।
तरकारी उत्पादनको बैज्ञानिक बजारीकरणको अभावले गर्दा उपभोक्ता आफ्नो कमाईको महत्वपूर्ण हिस्सा महँगो तरकारीमा खर्चिन बाध्य छन् । यस्तै किसान लागतको अभावमा ऋणको भारी बोकेर माटोसंग पसिनाको सौदाबाजी गरिरहेका छन् । तर मध्यस्थ भने तिनै उपभोक्ता र उत्पादकको ढाडमा टेकेर राता रात धनि बनिरहेका छन् ।