सरकारले श्रमजीबीको पक्षमा काम गरेको छ, पत्रकार महासंघले बिरोध गर्नु गलत: अध्यक्ष दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2019 | 09:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिएका छन् । 

महासचिव पौडेलले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गरे । उनले भने,‘यो विद्येयक कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन् । हामीले आन्दोलनको घोषणा गरिसकेका छौं ।’

उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने स्पष्ट पारे । तर, पछिल्लो समय प्रेसलाई नियन्त्रित कानून ल्याउने काम भएकोमा उनले आक्रोश पोखे । 

सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको भन्दै सरकारको विरुद्धमा लड्न गार्हो भैरहेको पनि उनले जनाए । उनले थपे,‘मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं । यसको गठन प्रक्रिया र नियत नै खराब छ ।’ आफूहरुलाई कुनैपनि हालतमा यो विद्येयक स्विकार्य नहुने उनको चेतावनी छ । उनले भने,‘यो कानून मान्दैनौं । हामी अवेज्ञा गर्छौं ।’ 

ऐन ल्याउँदासमेत सरकारले सरोकारवालाहरुसँग कुनै छलफल नगरेकोमा पनि उनले आक्रोश पोखे । आमसञ्चार ऐनपनि प्रेसविरोधी आउन लागेको पनि उनले गुनासो पोखे । सरकारले अहिले अपनाएको शैली र बाटो धेरै महँगो पर्नेपनि उनले चेतावनी दिए । उनले भने,‘हामी दरवारसँग लडेर आएका हौं । हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ । सीप छ ।’कुनैपनि शर्तमा आफूहरुलाई यो विद्येयक र ऐन मान्य नहुने र देशभरिका पत्रकारहरु सडकमा उत्रिने पनि विष्टले चेतावनी दिए । 

नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले संसदमा दर्ता भएको प्रेस काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरे । अहिले सरकारले जसरी प्रेससम्बन्धी ऐन तथा कानून ल्याउन खोजेको छ त्यसले पत्रकारहरुलाई कमजोर र भयवित तुल्याएको सिग्देलको आरोप छ । 

सत्तामा एकपटक पुग्दैमा सबै कुरा बिर्सनु महाभुल भएको भन्दै उनले प्रधानमन्त्री र सञ्चारमन्त्रीको ध्यानाकार्षण गराए । उनले भने,‘सरकारले गरेका गलत कामको बारेमा नलेख्न र नबोल्नको लागि थ्रेटको रुपमा यस्तो विद्येयक ल्याउन लागेको हो । हामीलाई यो कुनैपनि हालतमा स्विकार्य छैन् ।’

विद्येयककै कारण प्रेसका साथीहरु डरले थर्रथरको अवस्थामा रहेको पनि उनले सुनाए । उनले भने,‘यो विद्येयकका प्रावधानले पत्रकारहरुमाथि बज्रपात गरेको छ । यसले पत्रकारहरुलाई खाँडी मुलुक जाने अवस्थाको सिर्जना गरेको छ । अब सरकारको गुनगान र भजन गाउने दिन आउन थाल्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वर्ष जेल बसेको भन्दै त्यसमा आफूहरुलाई गर्व रहेको सुनाउँदै सिग्देलले भने,‘तर, आज के भयो ? मन्त्री हाम्रै साथी हो । आज यस्तो ऐन ल्याउन केले उक्सायो ? रेल ल्याउनुहोस् । पानीजहाज ल्याउनुहोस् । महँगी नियन्त्रण गर्नुहोस न केले रोकेको छ ? जनताले प्रेसलाई निमोठ्नको लागि दुई तिहाई दिएको हो र ?’

आफूहरु मर्न र जेल जान तयार रहेको सुनाउँदै प्रेसविरोधी ऐन तथा कानून कुनैपनि हालतमा नमान्ने सिग्देलको उद्धघोष छ । उनले भने,‘प्रेसलाइृ मार्न खोजिँदैछ, हामीलाई सह्य छैन् ।’ प्रेस काउन्सिल विद्येयक संविधान विपरित रहेको पनि उनले जनाए । उनले भने,‘अहिले हामी यो विद्येयक तत्काल फिर्ता लिन वा पूनरावलोकन गर्न आग्रह गर्दछौं ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रेसलाई कुण्ठित पार्ने काम कुनैपनि हालतमा स्विकार्य नहुने जिकिर गरे । उनले भने,‘हामीलाई कुण्ठित पार्ने कुनैपनि धारा र ऐनहरु स्विकार्य हुँदैन् ।’ धमलाले आफूहरु कानूनी राज्यको पक्षमा रहेको सुनाउँदै प्रेसविरोधी गतिविधि मान्य नहुने चेतावनी दिए । 

उनले नेपाली प्रेस जगत जहिल्यैपनि लोकतन्त्रको पक्षमा, विधिको शासनको पक्षमा र स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको सुनाए । उनले भने,‘हामी लोकतन्त्रको पक्षमा छौं । प्रेस स्वतन्त्रताको लागि कसैसँगपनि सम्झौता गर्दैनौं ।’ लोकतन्त्रको मूल्य र मान्यताअनुरुप विद्येयक आउनुपर्ने धमलाको भनाई छ । 

आफुहरुले कहिल्यैपनि आग्रह वा पूर्वाग्रह राखेर पत्रकारिता नगरेको पनि उनले स्पष्ट पारे । प्रेस बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुने धमलाको विश्वास छ । 

त्यस्तै, नेपाल प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघले हतारमा आन्दोलन गर्न नहुने सुझाव दिए । उनले भने,‘गोकुल बास्कोटा रिपोर्टर हुँदै मन्त्री हुनुभएको हो । त्यसैले प्रेसकै घाँटी निमोठ्नेगरि विद्येयक ल्याउन लाग्नुभएको हो भन्नेमा मलाई विश्वास छैन् ।’ दाहालले नेपाली पत्रकारिताको अभ्यास ठीक छ त ? भनेर प्रश्न समेत गरे । 

पत्रकार महासंघले आन्दोलन घोषणा गर्नु गलत भएको उनको टिप्पणी छ । उनले भने,‘पत्रकाहरु पनि स्वनियममा बस्नुपर्छ । संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको सुनिश्चिता गरिसकेको छ ।’ सरकारले प्रेस जगतलाई सुधार गर्नेगरि काम गरिरहेको पनि उनले जनाए । सरकारले श्रमजिविहरुको पक्षमा कोशिस गरिरहेकोपनि उनले सुनाए । 

जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले प्रेस काउन्सिल विद्येयक प्रेसमैत्री नभएको भन्दै पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा आफ्नो संगठनको पूर्ण ऐक्यबद्धता रहेको सुनाए । आफूहरु जनताको न्यायपूर्ण आन्दोलनमा विगतदेखि नै सहभागी हुँदै आएको सुनाउँदै अध्यक्ष डुम्रेले सरकारले ल्याउन लागेको विद्येयकले प्रेसको घाँटी निमोठ्ने काम गरेको सुनाए । 

पछिल्लो समय पत्रकारहरुमाथि राज्यद्रोहको मुद्दा लगाईएको, स्टेशनबाटै पत्रकारहरु पक्राउ गरिएकोले अहिलेपनि पञ्चायतकालिन झल्को दिईरहेको पनि उनको भनाई छ । उनले विद्येयक तत्काल खारेज गर्नुपर्ने सुझाए । आफूहरुले निर्भिक रुपमा पत्रकारिता गर्न पाउनुपर्ने उनको भनाई छ । अहिले पत्रकारहरु लुक्दै हिँड्नुपरेको अवस्था रहेकोले यसको चाँडै अन्त्य गर्नुपर्ने सुझाए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved