
अष्ट्रेलियले छैठौ पटक एक दिवशीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैठौ पटक उपाधि जितेको हो ।
आजको खेलमा अष्ट्रेलियाका ट्राभिस हेड नायक बने । ट्राभिस हेडले आक्रामक पारि खेल्दै सर्वाधिक १३७ रन बनाए । उनैको आक्रमक पारीका कारण भारत फाइनल खेल जित्न बन्चित भयो ।
यस अघि गत जुनमा टेस्ट क्रिकेटको विश्वकपको रुपमा लिइने आईसीसी वल्ड टेस्ट च्याम्पियनसिपमा भारत र अष्ट्रेलियाबीच फाइनल खेल भएको थियो ।सो खेलमा पनि उनै हेडले आक्रामक पारी खेल्दै पहिलो इनिंगमा नै १६३ रन बनाए । उनी त्यस फाइनल खेलको म्यान अफ द म्याच बनेका थिए । ५ महिनापछि पनि भारतको लागि उनै हेड टाउको दुखाइ को विषय बने ।
फाइनल खेलमा भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा अल आउट हुँदै २४० रन बनाएको थियो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा भेट्टाएको हो । अष्ट्रेलियाको लागि ट्राभिस हेडले आक्रामक पारि खेल्दै सर्वाधिक १३७ रन बनाए। मार्नस लाबुछानेले नट आउट रहेर ५८ रन बनाए । यी दुई बीचको १३७ रनको पार्टनरसिप नै अष्ट्रेलियाको लागि जितको आधार बनायो । भारतको लागि मोहम्मद शामीले २ , जसप्रित बमराहले १ र मोहम्मद सिराजले १ विकेट लिए ।
त्यस अघि भारतले ब्याटिंग गरेर २४० रन बनाएको थियो। भारतको लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए भने वीरत कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सुर्य कुमार यादवले १८ रन बनाए भने कुलदिप यादवले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अष्ट्रेलियाको लागि मिसेल स्टार्कले सर्वाधिक ३ तथा प्याट कुमिन्स र जोस हेजलवुडले समान २-२ विकेट लिए ।
फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भएको हो । १ लाख ३० हजार जना क्षमताको यो रंगशाला विश्व कै ठूलो रंगशाला हो ।
आजभन्दा २० वर्ष अघि अर्थात् सन् २००३ को विश्वकप फाइनलमा पनि यी दुई टिम उपाधिको लागि खेलेका थिए । त्यस समय अष्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेर उपाधि जितेको थियो । आज अष्ट्रेलियाले भारतलाई हराउदै २० वर्ष पुरानो इतिहास फेरी दोहोर्याएको छ ।
समुह चरणको सुरुको २ खेल हुँदा अंक तालिकाको पुछारमा रहेको अष्ट्रेलिया त्यसपछिका सबै ८ खेल जित्दै फाइनल पुगेको हो । फाइनल खेल पनि जित्दै अष्ट्रेलियाले उपाधि जितेको छ । भारत भने अपराजित रहदै फाइनलमा पुगे पनि फाइनलमा भने हारेको छ ।
फाइनल अष्ट्रेलियाले जितेसंगै यो अष्ट्रेलियाको छैठौ उपाधि भएको छ । अष्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो ।
भारतले १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । भारत २००३ र २०२३ मा गरि दुई पटक उपविजेता मै सिमित भएको छ ।