३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 28, 2023 | 12:09:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अ‍ैँचो–पैँचो र अर्म–पर्म नेपाली समाजका विशेषता हुन् । गुल्मीका ध्रुब न्यौपाने नेपाली समाजका यी विशेषता र परिवेशसँगै हुर्किए, बढे र पढे । सामान्य परिवारमा जन्मे हुर्के पनि उनको व्यवसायिक लगाव लोभलाग्दो थियो ।

सुरुमा उनले होटल व्यवसायबाट आफ्नो व्यवसायिक करियर सुरु गरे । सिद्धार्थ हस्पिटालिटीलाई जन्माउने र हुर्काउने र ‘कटेज’बाट तारे र लक्जरी होटलसम्म डोहोर्याउने काम उनै ध्रुबले गरे । २०७१ सालसम्म आइपुग्दा सिद्धार्थ होटलले एउटा उचाई लियो । त्यसपछि अब यसमा मात्रै सिमित हुनु हुँदैन भनेर उनी सिद्धार्थ होटलको व्यवस्थापकीय जिम्मेवारीबाट अलग भए ।

ग्रामिण समुदायलाई उत्पादनसँग जोड्ने र जीवन निर्वाहका लागि भइरहेको अर्गानिक खेती प्रणालीलाई व्यवसायिक बनाउने हुटहुटीले यस खालको योजना बनाउन ध्रुब निकै घोत्लिन्थे । यसरी दिनहु सोच्दासोच्दै ध्रुबको मानसपटलबाट २०७१ सालमा पैँचो पसलको जन्म भयो । किसानले उत्पादन गरेका हरेक खालका सामान लिने, त्यसबापत पैसा दिने । लिने पनि दिने पनि भएको हुनाले यसको नाम ‘पैँचो’ राखियो । गुल्मीमा प्रधान कार्यालय रहने गरी २०७१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सुरु भएको पैँचो पसल आज ठूलो रोजगारदाता, ठूलो करदाताका रुपमा देशैभरी फैलिँदो छ ।

त्यसो त पैँचोको सुरुवातदेखि अहिलेको सफलतासम्मका आरोह अवरोह पनि कम छैनन् । लगानी संकलन, उत्पादन, उत्पादनका लागि कृषकलाई प्रोत्साहन र संकलनसँगै बजारीकरणसम्ममा आफैँ जोडिएर पैँचोले आफ्नो दर्बिलो उपस्थिति कायम गरेको छ ।

पैँचोको ‘मोटिभ’

कृषिमा निर्भर मानिसहरुको आम्दानी बढाउने, उनीहरुका उत्पादन बजारसम्म पुर्याएर निर्वाहमुखी खेती गरिरहेका किसानहरुको हातमा पैसा पुर्याउने उदेश्यले जन्मिएको पैँचोले अहिले उदेश्य मुताबिक काम गरिरहेको छ । सँगै, कृषिजन्य उद्योगहरुको समेत औद्योगिक कच्चा पदार्थ विदेशबाट आयात हुने गरेकाले स्वदेशकै कच्चा पदार्थ खपत हुने वातावरण बनाउने अर्को लक्ष्य पैँचोको छ ।

‘नेपालको धेरैजसो जनसंख्या कृषिमा निर्भर छ, तर नेपालका उद्योगहरुमा चाहिने कच्चापदार्थ विदेशबाट आइरहेको छ, यसलाई एकिकृत व्यवस्थापन गर्न सकिन्छ त भनेर सोच्यौँ’, ध्रुब भन्छन्, ‘सँगै, दुर्गम भेगका किसानको उत्थान कसरी गर्न सकिन्छ भनेर सोच्दै जाँदा पैँचोले व्यवसायिक रुप लियो ।’



कसरी काम गर्छ ? के के काम गर्छ ?

पहिला पैँचोले कृषि गरिरहेका किसानहरुलाई उत्पादनका लागि प्रोत्साहन गर्छ । सानो वा ठूलो जुनसुकै मात्रामा कृषि गरिरहेका किसानहरुलाई प्राविधिक, बीऊ, विषादी, मल उपलब्ध गराइन्छ । अर्गानिक उत्पादन गर्ने भएकाले गाई भैँसीको वृद्धिविकास र उनीहरुको गोबरलाई प्राङ्गारिक मल बनाइन्छ । प्राविधिक रुपमा ‘लाइभस्टक’ र प्राविधिक रुपमा ‘एग्रिकल्चर’ गरी दुइ वटै काम ‘इम्पुट बेस’मा गरिन्छ ।

यो काम गर्ने जनशक्ति १६ जनाको छ । यो जनशक्तिले १ लाख ५० हजार जनसंख्याले गर्दै आएको कृषिलाई व्यवस्थित र व्यवसायिकरण बनाउने काम गर्छन् ।

‘व्यवसायिकरण मात्रै भन्दा स्वास्थ्यका कुरा पनि हुन्छ, हामीले स्वास्थ्यका कुराहरुलाई पनि ध्यान दिएर जनस्वास्थ्यमा असर पनि नपरोस् र उत्पादन हुने वस्तुको क्वालिटी पनि आओस् भन्ने उदेश्यले उत्पादनको काम गरेका छौँ’ ध्रुब भन्छन्, ‘यो काम एउटा युनिटले गर्छ, यसमा १६ जना प्राविधिकको टिम छ, यो एउटा प्रोडक्ट भयो ।’

सँगै, उत्पादन भएका वस्तुहरुलाई बजारसम्म पुर्याउन तरकारी बजारको व्यवस्था गरिएको छ । गुल्मी, पाल्पा लगायतका ठाउँमा तरकारी बजार राखिएको छ । जतिपनि किसानले, जुनसुकै कृषि उपज, जतिसुकै मात्रामा ल्याएपनि त्यहाँ खरिद गरिन्छ । यसरी उत्पादनदेखि बजारसम्म साना ठूला सबै खालका किसानलाई जोड्ने काम पैँचोले गरिरहेको छ ।

सँगै, तत्कालै खपत नहुने खालका कृषि उपजहरुको प्रशोधन पनि गरिन्छ । तत्काल खपत नभएका तरकारी तथा फलफूलको प्रशोधन गर्ने उद्योग पनि राखिएको छ । फलफूल र तरकारी मात्रै नभई अन्य अन्न र दाल पनि प्रशोधन हुने उद्योग बनाइएको छ । यो अर्को प्रोडक्ट हो ।

त्यस्तै, किसानहरुलाई चाहिने दैनिक आवश्यक सामान पनि बिक्रि गर्ने ‘चेन’ बनाइएको छ । गुणस्तरीय र सस्तो मूल्य पर्ने खाद्यान्नदेखि लत्ताकपडासम्म यो चेनबाट उपलब्ध हुन्छ ।

‘२५÷२६ वटा चेनमार्फत उनीहरुका आवश्यकता अनुसारका सामान पुर्याउँछौँ, भन्नुको अर्थ जे फल्छ त्यो बिक्रि गर्ने र त्यो बिक्रि गरेको पैसाले जे आवश्यक छ त्यो खरिद गर्ने सम्मको चेन हामीले तयार पारेका छौँ’ न्यौपानले भने ।

सँगै, प्रशोधन केन्द्रमार्फत उत्पादन भएका २७ ब्राण्डका ६० वटा ‘प्रोडक्ट’हरु बजारमा उपलब्ध छन् । यसमा अचारका मात्रै १४ वटा ब्राण्ड छन् ।

८० डिलरमार्फत ‘सप्लाई’

पैँचोले पूर्वदेखि पश्चिमसम्म अर्गानिक उत्पादन पुर्याउँदै आएको छ । सबै शहरी क्षेत्रमा करिब करिब डिलर बनाइसकेको छ । अहिले देशभरीमा पैँचो पसलका डिलरहरु ८० वटा पुगेका छन् । अझै ४० वटा डिलर थप्ने तयारीमा कम्पनी छ । 

‘हामीले घरघरमा मात्रै होइन, धेरै पाँचतारे होटलमा पनि तरकारी तथा फलफूल सप्लाई गरिरहेका छौँ’ ध्रुब भन्छन्, ‘उद्योगहरुमा पनि कच्चा पदार्थका रुपमा अर्गानिक तरकारीहरु पठाइरहेका छौँ, चाउचाउ र स्न्याक्स उद्योगहरुले हामीबाटै सामान लैजान्छन् ।’



डेढ लाख किसान आत्मनिर्भर

अहिले पैँचोले गुल्मी, अर्घाखाँची र पाल्पामा काम गरिरहेको छ । त्यसो त, पहाडी जिल्ला रुकुम, रोल्पा र जुम्लाबाट पनि सामान ल्याउने गरिन्छ । मुख्यगरी गुल्मी, अर्घाखाँची र पाल्पाका ७ स्थानीय तहका १ लाख हेक्टरभन्दा बढी जमिनमा भएको उब्जनी पैँचोले खरिद गर्दै आएको छ । 

गुल्मीका रुरुक्षेत्र, छत्रकोट, दरबार, सत्यवती र तम्घाससहित अर्घाखाँचीको छत्रदेव र पाल्पाको तानसेनका १ लाख ५० हजार किसानलाई अहिले पैँचोले आत्मनिर्भर बनाएको छ ।

‘कागती मात्रै ३० हजार हेक्टरभन्दा बढी जमिनमा खेती भएको छ, झरेर खेर जाने काँचो आप मात्रै हामीले यसपाली २ सय मेट्रिक टन किनिदियौँ, अहिले दिनको २ ट्रक निबुवा ल्याइरहेका छौँ’ ध्रुबले थपे, ‘४ सय परिवारले रुख कटहर मात्रै बेचेर आम्दानी गरेका छन्, २ सयभन्दा बढी परिवार तामा मात्रै बेच्ने परिवार छन्, तामा बेचेरै उनीहरुको हातमा दैनिक पैसा पुगेको छ ।’

ध्रुबका अनुसार अहिले सिङ्गो गाउँ नै आत्मनिर्भर भएको छ । गुल्मी, अर्घाखाँची र पाल्पामा सिजनमा एउटा किसानले ३० देखि ४० जनालाई रोजगारीसम्म दिन सक्ने भएका छन् ।

‘सबै उत्पादनमा सबै ठाउँ आत्मनिर्भर हुँदैन, पहाडी भेगलाई धानमा आत्मनिर्भर बनाउँछु भनेर हुँदैन, जहाँ जे फल्छ त्यो बेचेर जे चाहिन्छ त्यो किन्ने हो’ ध्रुब थप्छन्, ‘कटहर बेचेको पैसाले अन्य खाद्यान्न किन्न पुगेको छ भने त्यो आत्मनिर्भर हो, तामा बेचेको पैसाले दाल चामल चिनी किन्न पुगेको छ भने त्यो पनि आत्मनिर्भर हो ।’

किसान कसरी जोडिन सक्छन् ?

कृषिमार्फत उद्यमशीलता र व्यवसायिकताको नमूना उदाहरण बनिरहेको ‘पैँचो’मा किसानहरु जोडिन सफ्टवेयरमार्फत एकाउण्ट (खाता) खोल्नुपर्छ । खाता खोलेर पैँचोसँग जोडिएपछि पैँचोले गाउँ गाउँमा राखेका ‘कलेक्सन सेन्टर’ (संकलन केन्द्र)मा आफूसँग भएको जुनसुकै र जतिसुकै फलफूल तथा तरकारी बिक्रि गर्न सकिन्छ । पैँचोले हरेक ५० घरको बीचमा पर्ने गरी संकलन केन्द्र राखेको छ ।


‘हामीले हरेक ५० घरको बीचमा पर्ने गरी कलेक्सन सेन्टर राखेका छौँ, त्यहाँ ल्याएर जुनसुकै फलफूल र तरकारी किसानहरुले बिक्रि गर्न सक्नुहुन्छ’ ध्रुब भन्छन्, ‘कतिपय किसानसँग फिक्स्ड मूल्यमा पनि समझदारी गरिएको हुन्छ, यसरी समझदारी नगरी दैनिक चलेको मूल्य अनुसार मेरो उत्पादन बेच्छु भन्नेहरुका लागि कमोडिटी एक्सचेन्जको प्रणाली अपनाएर मूल्य तोक्ने विधि छ ।’

४ सयलाई रोजगारी, चाँडै पब्लिक कम्पनी बन्ने

पैँचो २०७१ सालमा सुरु हुँदा जम्मा ३ करोड रुपैयाँबाट सुरु भएको थियो । तर, अहिले लगानी बढेर ४० करोड पुगिसकेको छ । हालसम्म पैँचोमा ४५ जना लगानीकर्ता छन् । पैँचोमा प्रत्यक्ष रुपमा ४ सय जनाले रोजगारी पाएका छन् ।

अमेरिका, अष्ट्रेलिया, जापान र खाँडीका केही देशमा समेत पैँचोले अर्गानिक नेपाली उत्पादन निर्यात गर्दै आएको छ । यी देशमा अचार, जाम, सिन्की जस्ता उत्पादन गइरहेको छ ।

‘अहिले नै निर्यातको भोलुम कति छ भन्दा धेरै देखिँदैन, तर बढ्दो क्रममा छ’ न्यौपाने भन्छन्, ‘अहिले वार्षिक २ करोड जतिको गइरहेको छ, अमेरिका, अष्ट्रेलिया, जापान र गल्फ कन्ट्रीबाट अर्डर आउने क्रम पनि बढिरहेको छ, आगामी दिनमा निर्यातको भोलुम पक्कै पनि बढ्ने छ ।’

पैँचोले भविष्यमा सबै नेपालीलाई जोडेर विभिन्न देशमा नेपाली कृषि उपजको निकासी बढाउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीलाई प्रा.ली.बाट ‘पब्लिक कम्पनी’ बनाएर सर्वसाधारणमार्फत समेत पूँजी संकलन गरी देशलाई नै कृषिमा आत्मनिर्भर बनाउने धोको ध्रुबको छ ।


‘हरेक किसानले आफ्नो उत्पादन बिक्रि भएन भन्नु नपरोस्, उद्योग भन्ने वितिक्किै उद्योगी झन झन धनी हुँदै जाने र किसान गरिब हुँदै जाने खालको पूरानो प्रणाली चेन्ज गरेर अब किसान पनि धनी हुने बाटोमा जानुपर्छ’ ध्रुब भन्छन्, ‘हामीले यो अवधारणा अनुसार काम गरिरहेका छौँ, संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यका लागि तोकेका १२ क्षेत्रमध्ये पैँचो ९ वटा क्षेत्रसँग जोडिएको छ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्, ‘उदेश्य के लिनु, उडी छुनु चन्द्र एक’ । हो, अहिले सिङ्गै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने महान उदेश्य बोकेर कर्म पथमा लम्किरहेका ध्रुब र उनको टिमका लागि चन्द्र छुनु भनेकै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनु हो । यो आजको राष्ट्रिय लक्ष्य पनि हो । 

यसकारण, दिन कस्तो हुन्छ भन्ने संकेत बिहानीले गर्छ भने झैँ ध्रुब न्यौपानेहरुको लक्ष्य सफल हुनेछ भन्ने संकेत गुल्मी, पाल्पा र अर्घाखाँचीका लाखौँ किसानको मुहारमा छाएको खुशीले नै देखाइरहेको छ ।

यस अघि :

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना 

उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved