
नेपालका धेरैजसो नेता,पूर्व मन्त्री, राजनीतिज्ञका छोराछोरी विदेशमा छन् । नेपाल मै भएकाहरु पनि आफ्नै बाबुआमाको सचिवालयमा बसेका भेटिन्छन् । व्यवसाय गर्नेहरु विरलै छन्। व्यवसाय गर्नेहरु पनि राजनीतिक पहुँचलाई आधार बनाएर ट्रेडिङ व्यवसायमा संलग्न छन् ।
यस्तो भिडमा एक अपवाद हुन् हिमांशु त्रिपाठी । जो आफ्नो पहिचान पूर्व मन्त्री रहेका आफ्नो बुबा मार्फत होइन, आफै मार्फत बनाउन प्रत्यत्न गरिरहेका छन् । अहिले हिमांशु त्रिपाठीको परिचय हो ‘तत्व’ फार्म्सको संस्थापक । उनी उत्पादनमुलक कृषि व्यवसायमार्फत देशको अर्थतन्त्रमा योगदान गरिरहेका छन् ।
उनका बुबा हृदयेश त्रिपाठी ५ पटक मन्त्री भईसकेका नेता हुन्। जो २०४८ देखि हालसम्म दुई वटा बाहेक सबै संसद् वा संविधान सभामा पुगेका छन्। तर हिमांशुलाई राजनीतितर्फ अहिले इच्छा छैन । उनी भन्छन् ‘नेपालमा लोकतन्त्र आईसक्यो, लोकतन्त्रमा राजतन्त्रको जस्तो बाबु पछि छोरा हुनु पर्छ भन्ने हुँदैन।‘
आफ्नो लागि राजनीतिमा लाग्ने समय यो नभएको उनी बताउछन् । “राजनीति भनेको बाहिरबाट हेर्दा सजिलो हुन्छ भित्रबाट हेर्दा धेरै गाह्रो हुन्छ” उनी भन्छन् , “ समय छ, सीप छ राजनीतिमा लागिहाल्ने समय आको छैन । आँफुले आफ्नो लागि बनाएपछि भोलिको दिनमा के हुन्छ थाहा छैन् ।”
अहिले उनी नेपाललाई चिनीमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लागिपरेका छन्। बाहिर देशहरुबाट धेरै चिनी आयात भए पछि आफ्नो देशमा नै किन उत्पादन नगर्ने भनेर उनले “तत्व” सुरु गरेका हुन् ।
उनले आफ्नो स्नातक तहको पढाइ स्पेनमा गरेका हुन् । स्नातक तहमा उनले मनोविज्ञान लिएर पढेका थिए । अहिले उनी मास्टर्स डिग्री गरिरहेका छन् । स्पेनमा उनले मार्केटिङ क्षेत्रमा काम पनि गर्ने गर्थे ।
स्पेनबाट नेपाल आएपछि केहि व्यवसाय गर्न मन लाग्यो तर के गर्ने भन्ने विषयमा जानकारी नभएको उनले बताए । बजारमा चिनीको माग बढिरहेको तर, नेपालमा धेरै चिनी उद्योग नभएकाले चिनी उद्योग खोलेको उनले बताए । “सुरुमा के गर्ने भनेर सोच्न सकेका थिईन। अध्ययन गर्दै जादा बजारमा चिनीको धेरै माग बढेको थियो,” उनी भन्छन् , “मेरो गाँउमा पनि उँखु धेरै हुँने, हामी आफै पनि उँखु व्यवसायी भएकाले चिनी उत्पादनमा राम्रो हुने भएकाले यो चिनी उद्योग खोलौ भनेर खोलेको हो” । मार्केटिङ क्षेत्रमा काम गरेकोे हुनाले अहिले सजिलो भएको उनको भनाई छ।
सुरुमा चिनी उद्योग सञ्चालन गर्दा ३ करोड लगानी लागेको थियो । अहिले पनि लगानी थपिरहेको उनले बताए । “उद्योग लगाउनलाई ठुलो कुरा हुँदैन रहेछ, उद्योेग चलाउनलाई पुँजी चाँहि त्यो भन्दा बढीहुनुपर्ने रहेछ,” आफ्नो भोगाई सुनाउदै उनी भन्छन् ।
हिमांशुका अनुसार तत्वमा चिनी, सक्खर, भेली र खासार उत्पादन हुन्छन् । चिनी बाह्रै महिना उत्पादन नहुँने भएकाले सक्खर, भेली र खासार उत्पादन सँग सँगै खाली समयमा वरिपरि पाइने वस्तुलाइ स्नाक्सको रुपमा उत्पादन गरिरहेको हिमान्सुले बताए ।“ उखु बाह्रै महिना उत्पादन हुँदैन । ६ महिनासम्म चिनी उत्पादन गर्छौ । सक्खर, भेली र खासार उत्पादन सँग सँगै खाली समयमा वरिपरि पाइने बस्तुलाई स्नाक्सको रुपमा उत्पादन गर्छौ,” उनले भने ।
तत्वमा ब्राउन सुगर र केमिकल रहित सुुगर गरेर २ प्रकारको चिनी उत्पादन हुन्छ । त्यस्तै, गुण पनि पाउडर र ढिक्का गरी २ किसिमको पाइन्छ । उत्पादन भएका वस्तुहरु विगमार्ट, अनलाइन दराजबाट उपलब्ध भइरहेको हिमांशुले जानकारी दिए। उनी भन्छन् “ललितपुर र भक्तपुरका केहि पसलहरुमा उपलब्ध भैसकेका छन् । केहि समयपछि काठमाडौँका सम्पूर्ण पसलहरुमा पनि उपलब्ध गराउने गरी काम गरिरका छौँ । "
उनका अनुसार कारखानामा ११३ जना कर्मचारीले काम गरिरहेका छन् । १६ जना कर्मचारी केन्द्रीय कार्यालय ललितपुर (पुल्चोक) मा छन् ।केन्द्रीय कार्यालय सगैँ उनकी श्रीमतीको रेस्टुरेन्ट पनि छ । यो व्यवसाय गर्न परिवारले पनि साथ दिएको उनी बताउछन् ।
तत्व सञ्चालन भएको ३ बर्ष भइसकेको छ । नयाँ नयाँ भएका कारण मिहिनेत गरे अनुसारको कारोबार भने हुन नसकेको उनले बताए । “सुरु भएको धेरै भएको छैन । अहिले त्यति राम्रो कारोबार भएको छैन । यो वर्ष देखि मिहिनेत गरे अनुसारको कारोबार हुन सक्छ,” उनले भने ।
नेपाली बजार गुणस्तरले भन्दा पनि मूल्यले चल्ने गरेको उनले बताए । नेपाली बजारमा अरु सामग्रीहरु जस्तो मुल्यमा बिक्रि भइरहेका छन् तत्वका सामाग्री पनि कुनै कुनै सामग्री बाहेक अरु सबै सोहि मुल्यमा बिक्रि भइरहेको हिमांशुले बताए। त्यस्तै, नेपाली उपभोक्तालाई गुणस्तर र मुल्य कसरी छान्ने भन्ने बारे सम्पुर्ण ज्ञान भइसकेको उनले बताए ।
हाल तत्वले काठमाडौँमा मात्र बिक्रि गरिरहेको हिमान्सुले जनाए । “अहिले हामी उत्पादन गरेका वस्तुहरु काठमाडौँमा मात्र विक्रि गरिरहेका छौँ” उनले भने, “बजार धेरै ठुलो छ । हामीले धेरै बजार लिन सकेका छैनौ, तर, यहि गतिमा अगाडी बढ्यौ भने चाँहि हामी अगाडी बढ्छौँ,” उनले भने । अब चाडै नेपालभर नै बिक्रि गर्ने उनले बताए ।
कुनै पनि व्यवसाय सञ्चालन गर्दा पहिला त्यसबाट नाफा कति आउछ भनेर हेर्नुपर्ने हिमांशुले बताए । हिमांशुका अनुसार अरु व्यवसाय भन्दा उद्योगमा बढि नाफा पाउँने अवसर हुने, र बेरोजगार मानिसले रोजगार पाउने र देश आत्मनिर्भरतर्फ जान सहयोग पुग्ने भएकोले यो यो व्यवसाय सञ्चालन गरीएक हो ।
हिमांशुका अनुसार एउटा उखु चिनीको गेडाका रूपमा परिणत हुन २४ घण्टा लाग्ने गर्छ । चिनी बनाउदा सुरुमा उखुलाई मिलमा राखेर उखुको रस र खोयालाई अलग अलग बनाईन्छ । रसलाई पाँचवटा मेसिनमा हालिन्छ। अन्तिम दुईवटा मेसिनको रस चिनी बनाउनका लागि बोइल हाउसमा हालिन्छ। अन्य तीन मेसिनको जुस र आधा पानी प्रयोग गरी चिनी मिल चलाउनका लागि आवश्यक पर्छ । बोइल हाउसमा जाने जुसलाई पहिले चुना र केमिकलमा घोलेर सफा गर्ने काम गरिन्छ । यसले माटो र फोहोर निकाल्ने काम गर्छ । बोइल हाउसमा विभिन्न चरणमा पकाएर दाना बनाइन्छ ।
हाल एक दिनमा २ सय टन उखु पेल्ने क्षमता रहेको हिमांशुले बताए । “अहिले सम्म एक दिनको २ सय टन उखु पेल्ने क्षमता थियो,” उनले भने, “यो वर्ष देखी चाँहि साढे २ सय टन उखु पेल्ने क्षमता भएको छ ।” तत्वमा उत्पादन भइरहेका बस्तुहरु सँग सँगै अरु नयाँ वस्तुहरुपनि थप्ने योजनामा रहेको हिमांशुले बताए ।
नेपाली उपभोक्ताले नेपाली उत्पादनलाई भन्दा पनि विदेशी उत्पादनलाई बढी प्राथमीकता दिई रहेको हिमांशुको बुझाई छ । कस्तो सामान हो, विदेशको सामान भनेपछि राम्रो नराम्रो जस्तोलाइ पनि उपयोग गर्ने उनले बताए । “विदेशी सामान सबै राम्रो हुँन्छ भन्ने हुँदैन । बाहिरबाट आएको सामान सबै राम्रो हुन्छ भन्ने विश्वास चाँहि नेपाली उपभोक्ताले तोड्नु पर्दछ” उनले भने, “नेपाली ब्राण्ड भन्ने वित्तिकै सबै राम्रा पनि हुँदैनन्, उपभोक्ताले बढि तिर्नु पर्छ भन्ने पनि हुँदैन ।”तर एकपटक चाँहि नेपाली उत्पादनलाई उपयोग गर्न हिमांशुले उपभोक्तालाई अनुरोध गरेका छन्।
हिमांशुले सरकारलाई व्यावसाय गर्ने व्यक्तिले के व्यावसाय गर्न लागेको हो त्यहि अनुसारको ब्याजमा सहुलियत दिन पनि अनुरोध गरेका छन्। व्याजमा अलि छुट गराइदिए अझ राम्रो हुने हिमांशुको भनाइ छ ।
तत्वले बढी प्राथमिकता रसायन रहित चिनी र गुणलाई दिइरहेकोे उनले बताए । आगामी दिनमा लगानी थपेर, अध्ययन गरेर राम्रौ खालको बस्तु उत्पादन गरेर अगाडी बढ्ने उनको योजना छ। आफ्नो योजना सफल भए नेपाल चिनीमा आत्मनिर्भर हुन सक्ने उनको विश्वास छ ।
यस अघि :
उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना
उद्यमशीला एपिसोड २ : आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’
उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना