
प्रदेश नम्बर ५ सरकारले लुम्बिनी भ्रमण वर्षको कार्यक्रम सार्वजनिक गरेको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रको विकासका लागी लुम्बिनी भ्रमण वर्ष २०७६/७७ का कार्यक्रम प्रदेश सरकारले सार्वजनिक गरेको हो ।
भ्रमण वर्षको कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी छन् । भ्रमण वर्षको मूल समितिमा पर्यटन उद्योगका विज्ञ, समाजका प्रतिष्ठित र साहित्यिक क्षेत्रका २१ व्यक्तिलाई थप गरिएको छ । मूल समितिको अध्यक्ष भने प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल रहेका छन् ।
लुम्बिनी विकास कोषको तीन वर्षको तथ्याङ्क अनुसार लुम्बिनीमा वार्षिक १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटकले भ्रमण गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले ऐतिहासिक सम्पदाको संरक्षण हुन नसक्दा नष्ट हुँदै गइरहेकाले भ्रमण वर्षले महत्वपूर्ण सम्पदालाई आफ्नो सम्पत्तिका रूपमा संरक्षण गर्ने विषय स्थापित गर्न सक्नुपर्ने बताए ।
यो भ्रमण वर्ष २०७६ को वैशाख बुद्ध पूर्णिमाका दिन सुरु भई २०७७ सालको वैशाख बुद्ध पूर्णिमाका दिन समापन हुनेछ । यसका लागी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।