भू–स्वर्ग मानुङकोटः व्यवसायी लगानी गर्दै, बसाइँ सरेका गाउँले फर्किदै

रासस

रासस

Mar 21, 2021 | 09:48:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइँ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ। तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको हो।  

दैनिक सयौं पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीले ठूलो रकम लगानी गर्न उत्सुक भएका छन्। केबलकार, जिपलाइन, स्विमिङ पुलसहित रिसोर्ट बनाउन निजीस्तरबाट ठूलो लगानी गर्ने चासो देखाउन थालेका छन्। चार अर्बको एक प्रस्ताव स्वीकृत भएको र विस्तृत परियोजना प्रतिवेदन आउने तयारीमा रहेको व्यास नगरपालिकाका प्रमुख बैकुष्ठ न्यौपानेले जानकारी दिए। व्यास हिल्स प्राइभेट लिमिटेडको नाममा उद्योगी आनन्द बतास समूहले मानुङकोटमा चार अर्ब लगानी गर्न तयार रहेको प्रस्ताव पेस गरेकोमा स्वीकृत गरिएको उनले जानकारी दिए। 

लगानीकर्तालाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारी ऐन पारित गरी सहज वातावरण बनाइएको नगरपालिकाले जनाएको छ। यस ऐनको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह गरी मुलुकको बृहत् सामाजिक तथा आर्थिक विकास गर्न सहज भएको छ। 

नगरप्रमुख न्यौपानेले भने, ‘सर्वसाधारणलाई भरपर्दो र सर्वसुलभ रूपमा सेवा सुविधा उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न ऐन निर्माण गरिएको हो।’

कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डिपिआर) का लागि स्वीकृत प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ। उक्त कम्पनीले पाटनबाट मानुङकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव गरेको छ। कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र ४० रोपनी जमिन भाडामा दिनको लागि पनि नगरपालिकामा प्रस्ताव पेस गरेको बताइएको छ। प्रस्ताव निश्चित अवधिको लागि सम्झौता गर्ने र वार्षिक रूपमा सार्वजानिक जग्गाको भाडा र कर लिने व्यवस्था मिलाइएको नगरप्रमुख न्यौपानेले बताए।

कोरोना भाइरसको संक्रमणले देशका अन्य ठाउँमा चहलपहल कम भए पनि यहाँ भने विगतभन्दा बढी आन्तरिक पर्यटक भित्रिएका छन्। यहाँको मुख्य दृश्य सूर्योदय र सूर्यास्त छ। त्यसैगरी, मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायत अधिकांश हिमशृङ्खला देखिन्छ। दमौली बजारलाई कुहिरोले ढाक्नुलाई धार्मिक प्रसंगसँग पनि जोडिएको छ।

परापूर्वकालमा महर्षी व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको प्रसंग उल्लेख छ। उक्त स्थानबाट कास्की, गोरखा, सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को बाँध र निर्माणस्थल लगायतको मनोरम ठाउँ देखिन्छ। 

मानुङकोटको चर्चा जताततै हुन थालेपछि पर्यटन व्यवसायीको ध्यान तानिएकाले ठूला लगानीकर्ता भित्रिन लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए। सामाजिक सञ्जालमा मानुङकोटका सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ति देखिन थालेका छन्। भिडियो बनाउनेको जमात पनि बाक्लिएकोले पर्यटन व्यवसायी ठूलो लगानी गर्न आतुर देखिएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved