महामारीकै बीचमा किन होटलमा होमिँदैछन् ठूला लगानीकर्ता ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 06, 2021 | 01:51:36 PM मा प्रकाशित

laxmi  sunrise bank

२०६३ सालपछि पाँचतारे होटल लामो समय खुलेनन् । २०६३ साल असोज २३ मा पाँचतारे होटलको वर्गीकरणमा परेको लैनचौरको ‘द मल्ल होटल’ पछि मुलुकमा पाँचतारे होटल खुल्न झण्डै १० वर्ष नै लाग्यो । 

२०७२ असार ८ मा होटल सांग्रिला पाँचतारेमा वर्गीकरण भएपछि २०७३ साल भरी कुनै पनि पाँचतारे होटल आएनन् । २०७४ साल मंसिर १२ मा टाइगरवान प्रा.ली. (तिलोत्तमा १२ रुपन्देही) पाँचतारे होटलमा वर्गीकृत भयो ।

२०७५ र ०७६ सालमा मुलुकमा २/२ वटा पाँचतारे होटल जन्मिए । २०७५ मा आएका दुई वटै पाँचतारे होटल बाँकेका हुन् । २०७५ माघ २३ गते सोल्टी शिवक्रिम होटेल्स तथा रिसोर्टस (सोल्टी वेष्टेण्ड प्रिमियम) नेपालगञ्ज बाँके र सोही वर्षको फागुन १४ गते होटल सेन्ट्रल प्लाजा कोहलपूर बाँके पाँचतारे होटलमा वर्गीकृत भए ।

२०७६ असार २ मा मेरियट काठमाडौँ र असार १६ मा छाँयादेवी कम्प्लेक्स (होटल अलफ्ट) पाँचतारेमा वर्गीकरण भएपछि हालसम्म पाँचतारे होटल अरु आएका छैनन् ।

पाइपलाइनमा कुन कुन ?

व्यवसायी दीपक मल्होत्राले ३ वर्ष अघि खरिद गरेको होटल शहेन्सा इन्टरनेशनल निकट भविष्यमै पाँचतारे बन्दैछ । मल्होत्राको आईएमएस ग्रुपले ३ वर्ष अघि ५५ करोडमा किनेको यो होटललाई अपग्रेड गरेर पाँचतारे बनाउन लागिएको हो ।

विश्व चर्चित मेरियट ब्राण्ड भित्र्याएका शशिकान्त अग्रवालले कमलादीमा २ अर्ब लगानी गरेर ‘मोक्सी होटल’ बनाउँदैछन् । मोक्सी ब्राण्ड भित्र्याउन मेरियट र हिमालयबीच सम्झौता भइसकेको छ ।

शङ्कर समूहको जगदम्बा हस्पिटालिटी ग्रुपले नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ बनाउँदैछ ।

शेष घलेको शेराटन होटल निर्माण करिब करिब सकिएको छ ।

सुरज वैद्य, लक्ष्मी समूह, अजयराज सुमार्गी, अरुण चौधरीलगायत ठूला घरानाले लक्जरीयस् होटलमा लगानी गर्दैछन् । यी समूहले घोषणा गरेका होटलहरु सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ ।

महामारीमा पनि किन थपिँदैछ लगानी ?

२०७२ सालको भूकम्पपछि होटल क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरु केही हच्किएका थिए । अहिले कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटकहरु आउने कुनै सम्भावना नै नरहेको र नेपालकै पूरानो होटल अन्नपूर्ण बन्दको अवस्थामा रहेको देख्दादेख्दै लगानीकर्ताहरु किन आकर्षित भईरहेका छन् भन्ने चासो उब्जिएको छ ।

पाँचतारे मात्रै नभई चारतारे र तीनतारे होटल पनि उत्तिकै लाइनमा छन् । केही दिनअघि मात्रै दोलखाको चरिकोटमा दुईतारे होटल एम्व्रोसिया सञ्चालनमा आएको छ ।

अहिले राष्ट्र बैंकले कृषि, जलविद्युत लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नैपर्ने नियम बनाएको छ । कोभिडका कारण थलिएको अर्थतन्त्र उकास्न कोभिड पश्चात पर्यटन क्षेत्र अझ प्राथमिकतामा पर्ने देखेर होटलमा लगानी बढेको व्यवसायीहरुको दाबी छ ।

होटल संघ नेपाल (हान) का एक जना पदाधिकारी कोभिडबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र भएकाले अहिले नभएपनि कुनै न कुनै समय सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा नराखी सुख नपाउने देखेरै अहिले महामारीका समयमा पनि ठूला ग्रुपहरु होटलमा आकर्षित भएको होटल बनाउँदै गरेका एक लगानीकर्ताको भनाई छ ।

अब अुल्ने होटलहरु विदेश र नेपालकै पनि धनी वर्गलाई तार्गेट गरेर सुविधा सम्पन्न तारे स्तरका खुल्ने भएकाले लगानी पनि धेरै लाग्ने कतिपय व्यवसायीहरु बताउँछन् । 

कतिपय लगानीकर्ता भने कोभिडकै बीचमा होटल बनाएको देखाएर पछि सरकारले दिने छुट तथा सहुलियत हात पार्न पनि होटल क्षेत्रमा लगानी गर्न तम्सिएको भन्दै आलोचना पनि खेपिरहेका छन् ।

पछिल्लो २ वर्षमा सञ्चालमा आएका होटलमा मात्रै ३० अर्ब लगानी रहेको अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved