भरतपुरमा यसरी धर्मरायो गठबन्धनको आत्मविश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2022 | 01:47:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारूढ गठबन्धनले बिहीवार भरतपुरमा आयोजना गरेको आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभिव्यक्तिले सत्तारूढ गठबन्धनको भविष्य धेरै नभएको लख राजनीतिक वृत्तमा काटिएको छ ।

प्रचण्डले गत स्थानीय निर्वाचनलाई स्मरण गर्दै भनेका थिए, 'मैले साँच्ची नै तपाईको अगाडि उभिएर भन्दै गर्दा, रुखवालाले हसियाँ हथौडामा भोट हाल्न धेरै गाह्रो जस्तो देखियो त्यतिबेला । व्यवहारमा आउँदा मैले सहज देखिन । सहज नदेखिएको चितवन नै हो । मधेश पनि हो । त्यसले हामीलाई चिन्तित तुल्याएर एमालेसँग हिंड्न बाध्य भएका हौँ ।'

उनले यसपालि पनि त्यस्तै असहज स्थिति देखिए नयाँ फैसला लिने चेतावनीसमेत दिएका थिए । 'रुखवालालाई हँसिया हथौडामा भोट हाल्न गाह्रो भयो भने फैसला लिने त फेरि प्रचण्ड नै हो,' प्रचण्डको भनाइ थियो ।

गत स्थानीय निर्वाचनमा निकै झिनो अन्तरले प्रचण्डपुत्री रेणु दाहालले देवी ज्ञवालीलाई हराएकी थिइन् । त्यतिबेला भएको गठबन्धनमा कतिपय कांग्रेस मतदाताले हँसिया हथौडामा भोट हालेनन् । प्रचण्डले अहिले पनि त्यस्तै परिस्थिति आयो भने देश दुर्घटनामा पर्ने बताए ।

प्रचण्डले आफ्नो भाषणमार्फत स्पष्ट पारेका छन् भरतपुरमा कांग्रेसी मतदाताले माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाललाई मत नहाले सत्तारूढ गठबन्धनको भविष्य छैन । उनको यो चेतावनीलाई स्थानीय कांग्रेस नेता कार्यकर्ताले मन पराएका छैनन् ।

भरतपुरमा कांग्रेसकै पुराना नेता जगन्नाथ पौडेलले गठबन्धनको विरुद्धमा उम्मेदवार दिएका छन् । उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसले कारवाही गर्यो । आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा उनलाई भुइँकटहर निर्वाचन चिह्न दिएको छ । प्रचण्ड त्रसित हुनुको प्रमुख कारणमध्ये एक पौडेल पनि हुन् ।

भरतपुरका कांग्रेस मतदाताले पौडेललाई मत दिने सम्भावनासँग प्रचण्ड त्रसित बनेको उनकै भाषणबाट बुझ्न कठीन छैन । उनले एमालेका केही नेताहरू मिलौं भन्दै आफूसँग आएको पनि खुलासा गरे । 'एमालेका केही नेताहरू मिलौँ भन्न आएका छन्,' प्रचण्डले भने, 'तर गल्ती दोहोर्‍याउँदिन भनेको छु । म जनताको फैसला हेर्न चाहन्छु '

जगन्नाथ पौडेललाई चितवन कांग्रेसका केही पुराना नेताहरूले साथ दिएका छन् । कांग्रेसकै झण्डा प्रयोग गरेर चुनावी प्रचार प्रसारमा होमिएका पौडेललाई पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने र महासमिति सदस्य मीना खरेललगायतको बलियो साथ छ ।

पौडेलले कट्टर कांग्रेसी मतदाताको मत काटे भने एमालेसँग लड्न गठबन्धनलाई हम्मेहम्मे पर्नेछ । २०७४ र २०७९ दुवै स्थानीय तहको निर्वाचनमा हँसिया हथौडामाथि भोट हाल्नुपरेको आक्रोश कांग्रेस मतदाताभित्र देखिएको हो । केन्द्रबाट लादिएको शासन नमान्ने कांग्रेसीहरूको संख्या चितवनमा राम्रै रहेको जानकारहरू बताउँछन् ।

गत २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयर लडेकी रेणु दाहालले ४३ हजार १ सय २७ मत पाएकी थिइन् भने कांग्रेसको तर्फबाट उपमेयर बनेकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएकी थिइन् । रेणुले भन्दा पार्वतीले बढी मत ल्याउनुको अर्थ ४ हजार कांग्रेसी मतदाताले आफ्नो उम्मेदवारलाई मत दिए तर माओवादीको उम्मेदवारलाई दिएनन् ।

त्यतिबेला रुख चिह्नबाट मेयरमा कसैले उम्मेदवारी नदिएको भएपनि ७ हजार मत रुखलाई परेर बदर भएको थियो । २०७४ सालकै आंकडालाई हेर्ने हो भने र यसपाली सबै कांग्रेसी मतदाताले गठबन्धनलाई मत दिने हो भने रेणुको बिजय अहिले पनि सुनिश्चित छ । तर पौडेलले धेरै भोट काट्ने सम्भावना छ ।

उसो त गठबन्धनले निर्णय गरेर उम्मेदवार उठाएको कतिपय ठाउँमा कांग्रेसको स्थानीय कमिटीले विद्रोह गरेको थियो । पोखरा, बिरगंज, नेपालगंज लगायत कतिपय ठाउँहरूमा स्थानीय कांग्रेस नेता कार्यकर्ताहरूको चर्को असन्तुष्टि देखिएको थियो । प्रचण्ड धर्मराउनुका पछाडि यही असन्तुष्टिले पनि काम गरेको छ ।

भरतपुरमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता राजेन्द्र श्रेष्ठ सबैले रेणु दाहालले राम्रो काम गरेको बताएका थिए ।

देउवाले गठबन्धन नभएसम्म कुनै पनि दलले बहुमत ल्याउन नसक्ने राजनीतिक प्रणाली भएकाले नेपालमा गठबन्धनको आवश्यकता रहेको बताउँदै रेणु दाहालले जितिसकेको टिप्पणी गरे

देउवाले भरतपुरमा गठबन्धन टुटाउन षड्यन्त्र भएको पनि बताए । त्यो षड्यन्त्रमा आफ्ना पार्टीका नेता कार्यकर्ता फँस्न नहुने भन्दै देउवाले भने, 'उहाँले जितिसक्नुभएको छ, हाम्रो पार्टीले सहयोग नगर्नुको विकल्प छैन ।'

कांग्रेस शीर्ष नेताहरूमध्ये गठबन्धनको विपक्षमा शेखर कोइराला र गगन थापा देखिएका छन् । दुवैले सार्वजनिक मंचबाट नै गठबन्धनबिना नै कांग्रेसले बहुमत ल्याउन सक्ने दाबी गरिरहेका छन् अहिलेपनि ।

एकातिर कांग्रेसकै प्रभावशाली नेताहरूको रुझान गठबन्धनतर्फ नहुनु, अर्कोतर्फ भरतपुरमा कट्टर कांग्रेस मतदाताहरूले हँसिया हथौडामा भोट हाल्न नसक्ने बताइरहेको अवस्थालाई लिएर प्रचण्ड त्रसित र चिन्तित छन् । त्यही त्रास र चिन्ता भरतपुरमा उनले सार्वजनिक मंचबाट नै पोखे ।

प्रचण्डको यो भनाइले गठबन्धन लामो समय टिक्न सक्दैन भन्ने पुष्टि भएको छ । स्थानीय निर्वाचनमा आफूले सोचेअनुरुप मत नआए २०७४ सालमा जस्तै उनी एमालेसँग मिल्ने या अन्य शक्तिहरूलाई जोडेर छुट्टै अघि बढ्ने निर्णय गर्न सक्नेछन् ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved